• १२ पुस २०८१, शुक्रबार

बाँझो जमिनमा किवी खेती

blog

कालीगण्डकी गाउँपालिका १ सिरकोटमा फलेको किवी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर २ गते । वर्षौंदेखि बनमाराले ढाकेको बाँझो जग्गामा २३ जनाले अहिले किवी फलाएका छन् । कालीगण्डकी गाउँपालिका १ सिरकोटमा २३ जना युवा मिलेर पाँच सय ४० रोपनी बाँझो जग्गालाई सदुपयोग गरी किवी फलाएका हुन् ।  

वर्षौंदेखि बाँझो जग्गालाई सदुपयोग गरी पाँच सय ४० रोपनी क्षेत्रफलमा छ हजार सात सय बिरुवा रोपी व्यावसायिक रुपमा किवी खेती गरिएको उन्नतिशील कृषि फलफूल तथा पशुपंक्षी कृषक समूहका अध्यक्ष पदमपानी पाण्डेले बताउनुभयो । 

१५ लाखको बिक्री गर्ने लक्ष्य

अहिले फलेका तीन सय बिरुवाबाट करिब ५० क्विन्टल उत्पादन हुने कृषक लक्ष्मीपति न्यौपानेले बताउनुभयो । प्रति किलो गाउँमा तीन सय ५० रुपियाँका दरले बिक्री हुँदै आएको उहाँको भनाइ छ । उत्पादन भएको सबै किवी गाउँमा खपत नहुने भएकाले बुटवलका व्यवसायीसँग कुरा भइरहेकाले प्रतिकिलो २७० सम्म दिन व्यवसायी तयार भएको न्यौपानेले बताउनुभयो । अहिले पहिलो वर्ष पनि भएकाले करिब १५ लाख रुपियाँको बिक्री गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । 

वर्षौंदेखि बाँझो रहेको जग्गामा अहिले किवी खेतीले हराभरा हराभरा हुनुका साथै जग्गाको पनि सदुपयोग भएको र आम्दामीको स्रोत पनि बन्न थालेको समूहकी सदस्य तथा कृषक मनकुमारी रानाले बताउनुभयो । आफूहरुले गरेको किवी खेती हेर्नका लागि विभिन्न स्थानबाट कृषक समूह, सहकारीहरु आउने गरेको र आफूहरुले गर्दै आएको किवी खेतीका बारेमा अनुभव आदान प्रदान गर्दै आएको न्यौपानेले बताउनुभयो ।

युवाहरुलाई विदेश जानुभन्दा पनि स्वदेशको माटोबाटै मनग्य उत्पादन र आम्दामी गर्न सकिने भएकाले अर्काको देशमा जानका लागि रहर नगर्न र स्वदेशमा नै रहेको सम्भावनाको खोजीमा लाग्न उहाँले सुझाव दिनुभयो । 

पैसा र आम्दामी खाडीमा भन्दा पनि स्वदेशकै झाडीमा रहेको उहाँकाे अनुभव छ । किवी खेतीका लागि पहाडी भूभाग भएकाले सिँचाइको समस्या रहेको सो समूहका सदस्या तथा कृषक तिलक राना बताउनुहुन्छ । अहिले पहिलो पटक तीन सय बिरुवाले उत्पादन दिन थालेको बताउँदै भविष्यमा आफूहरुको पेन्सन नै किवी हुने उहाँको विश्वास छ ।

गत वर्ष उक्त स्थानमा किवी खेतीका लागि पोल निर्माणका साथै ताजा तरकारी र साना सिँचाइका लागि २८ लाख रुपियाँको काम भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो। पछिल्लो समयमा किवी खेतीबाट राम्रो अम्दामी हुने भएपछि किसानहरु यसतर्फ आकर्षित भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

जिल्लामा ६५ हेक्टर क्षेत्रफलमा किवीका बिरुवा लगाइको छ भने २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएका बिरुवाले उत्पादन दिएको ज्ञानकेन्द्रले जनाएको छ । २०६४ सालमा भार्सेका कृषकले सङ्खुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरवात भएको मानिन्छ । 

समुद्री सतहदेखि एक हजार दुई सय मिटरभन्दा माथिको भूभागमा किवी खेती हुने गर्दछ । जिल्लामा एक हजार दुई  सय मिटर माथिका भूभाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । 

जिल्लाको कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिका लगायत जिल्लाका १२ वटै स्थानीय तहमा खेती गर्न योग्य स्थान छन् ।