• १३ वैशाख २०८१, बिहिबार

गोरखामा माओवादी केन्द्रले जित्यो ४ वटा पालिका

blog

नरेन्द्र ढकाल

गोरखा, जेठ ३ गते । नेकपा माओवादी केन्द्रले जिल्लाका ४ स्थानीय तहमा विजय हासिल गरेको छ । सोमबार सार्वजनिक भएको नजिताअनुसार बारपाक सुलिकोट, शहीद लखन र भीमसेनमा माओवादी विजयी भएको हो । यसअघि अजिरकोटमा आइतबार नै जितिसकेको छ । 

नेपाली काँग्रेस अहिलेसम्म आरुघाटमा मात्र विजयी भएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राजु गुरुङले नेकपा एमालेका उम्मेदवार कृष्ण नेपालीलाई भारी मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको छ । अध्यक्ष गुरुङ्गले ५ हजार ५५६ मत ल्याएका छन् । पराजित नेपालीको जम्मा ४ हजार ८३३ मत आएको छ । 

उपाध्यक्षमा समेत काँग्रेसकै कल्पना नेपाली विजयी बन्नुभएको छ । उहाँले एमालेकै सीता दाहाललाई पराजित गर्नु भएको हो । नेपालीले ५ हजार ६३१ मत ल्याउँदा दाहालको ३ हजार ६१ मत आएको छ । १० वटा वडा रहेको आरुघाटमा वडा नम्बर १, २, ३, ७ र ८ नेपाली काँग्रेसले जितेको छ । वडा नम्बर ४, ५, ६ र १० मा एमाले र ९ मा माओवादी केन्द्र वडाध्यक्षमा विजयी भएको छ ।

बारपाक सुलिकोट गाउँपालिकामा पुनः नेकपा माओवादी केन्द्र विजयी बनेको छ । माओवादी केन्द्रबाट उम्मेदवार बनेका विष्णुप्रसाद भट्ट दोश्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार जीतबहादुर घलेलाई हराउँदै विजयी बन्नु भएको हो । भट्टले ५ हजार ७१९ मत ल्याउनु भएको छ । घलेको ४ हजार ८६४ मत आएको छ । उपाध्यक्षमा नेकपा माओवादी तर्फबाट सनमाया गुरुङ निर्वाचित हुनभएको छ । उहाँले ५ हजार ७६५ मत ल्याउदा प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार लेखमाया रानाले ४ हजार ५७५ मत प्राप्त गर्नुभएको छ ।

भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी विजयी भएको छ । यस अघि नेपाली काँग्रेस जितेको उक्त गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार लोकप्रसाद बञ्जरा विजयी हुनुभएको छ । उहाँले ५ हजार ६५१ मत ल्याएर नेपाली काँग्रेसका उम्मेदवार रोशन गुरुङलाई हराउनु भएको हो । गुरुङले ५ हजार १७६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा पदमा भने नेपाली कांग्रेसकी अमृता वस्तीले विजयी बन्नु भएको छ । वस्तीले ५ हजार १४७ मत ल्याएर उपाध्यक्षमा पदमा विजयी हासिल गर्नुभएको छ । माओवादी केन्द्रकी उम्मेदवार जुनुमाया श्रेष्ठ भने पराजित भएकी छिन् । उहाँको ४ हजार ९२७ मत आएको छ । 

शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रले बिरासत जोगाएको छ । अध्यक्षमा रमेशबाबु थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारी पुनः विजयी हुनुभएको छ । मगरको ५ हजार ४७४ मत आएको छ । तिवारीले भने ४ हजार ९९६ मत ल्याएकी छिन् । निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार नारायण लामिछानेको ४ हजार ४३२ मत आएको छ । यसैगरी उपाध्यक्षकी प्रत्यासी शर्मिला श्रेष्ठले ४ हजार ४३२ मत ल्याउनु भएको छ ।  

जिल्लाको अजिरकोट गाउँपालिकामा भने यस अघि नै माओवादी केन्द्रका उम्मेदवार दिपक देवकोटा र अनिता भुलेज विजयी भइसक्नुभएको छ । ११ वटा स्थानीय तह मध्ये अब गोरखा र पालुङटार नगरपालिका, सिरानचोक, गण्डकी, धार्चे र चुमनुब्री गाउँपालिकाको नतिजा आउन बाँकी छ । ती मध्ये गोरखा नगरपालिका, गण्डकी र धार्चेमा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पालुङटारमा झिनो मतले जनता समाजवादी पार्टी अगाडी देखिएको छ । सिरानचोक भने भारी मतले काँग्रेसको अग्रता छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा विवादका कारण अझै मतगणना सुरु हुन सकेको छैन । 

२०७४ को स्थानीय तह निर्वाचनमा दुई नगरपालिका सहित ९ स्थानीय तह जितेको काँग्रेसले अहिले एउटा मात्र जितेको छ । अहिले सिरानचोकमा मात्र अग्रता कायम छ ।