• ९ चैत २०८२, सोमबार

न्यू डायमन्डले जित्यो महिला भलिबल उपाधि

blog

उपाधि विजेता न्यू डायमन्ड क्लबका खेलाडीहरू । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत ९ गते । राष्ट्रिय महिला भलिबलको उपाधि काठमाडौँको चन्द्रागिरी नगरपालिकाको न्यू डायमन्ड क्लबले जितेको छ । हेटौँडा –१० टिसिएनचौरमा जारी राष्ट्रिय बृहत् खेल, कृषि तथा पर्यटन महोत्सवमा आइतबार भएको फाइनल खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटले हराउँदै न्यू डायमन्डले उपाधि जित हासिल गरेको हो । 

फाइनल खेलमा केशवलाल स्मृति प्रतिष्ठानलाई २५–१३, २५–१५ र २५–२३ को सेटले पराजित गरेको हो । उपाधिसँगै न्यू डायमन्डले ३ लाख रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ । उपविजेता केशवलाल स्मति प्रतिष्ठानको टिमले २ लाख रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

सेमीफाइनलमा पराजित भएका लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लाको स्टेप भलिबल क्लब र मधेश प्रदेशको जनशक्ति युवा क्लबको टिमले ५० हजार रुपियाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै न्यु डायमन्ड क्लबकी सुनिता क्षेत्रीले १० हजार रुपियाँका नगद पुरस्कार र मेडल प्राप्त गर्नुभएको छ । 

प्रतियोगितामा उत्कृष्ट स्पाइकर न्यू डायमन्डकी जेनिशा विश्वकर्मा, उत्कृष्ट डिफेन्डर एञ्जीला प्रधान, उत्कृष्ट सेटर न्यू डायमन्डकी भावना तामाङ, उत्कृष्ट सर्भर केशवलाल प्रतिष्ठानकी रेबिका लामा, उत्कृष्ट ब्लकर केशवलालकी सलिना गुरुङ र उत्कृष्ट प्रशिक्षक न्यू डायमन्डकाे कुमार राई घोषित हुनुभएको छ । उहाँहरूले जनही ५–५ हजार रुपियाँको नगद पुरस्कार र मेडल प्राप्त गरेका गर्नुभएको छ । 

मकवानपुर जिल्ला भलिबल सङ्घ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमको सहभागिता रहेको थियो ।