• २८ पुस २०८१, आइतबार

उपनिर्वाचनको सरगर्मी : अझै उम्मेदवार तोक्न बाँकी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १ गते । स्थानीय तह उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलले अधिकांश उम्मेदवारको टुङ्गो लगाएका छन् । नेकपा (एमाले) ले उपनिर्वाचन हुने सम्पूर्ण पदमा उम्मेदवारको टुङ्गो लगाए पनि उम्मेदवारी दर्ताको दुई दिन मात्रै बाँकी छँदा कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले अझै सबै पदमा उम्मेदवार चयन गर्न सकेका छैनन् । 

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रिक्त रहेका ४४ मध्ये ४२ पदमा उम्मेदवारको टुङ्गो लागेको र बाँकी दुई पदको उम्मेदवार शुक्रबारसम्म निर्णय हुने जानकारी दिनुभयो । स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत मङ्सिर १६ गते ४४ पदका लागि निर्वाचन हुने छ । निर्वाचनका लागि मङ्सिर २ गते आइतबार उम्मेदवारी दर्ता हुँदै छ ।  

उहाँका अनुसार कीर्तिपुर नगरपालिकाका प्रमुख र एक वडाध्यक्ष उम्मेदवारबारे निर्णय हुन बाँकी छ । कीर्तिपुर नगरपालिकामा प्रमुखसहित दुई वडा रिक्त छन् । पौडेलले भन्नुभयो, “विधान अनुसारको सिफारिसबमोजिम ४२ स्थानको उम्मेदवारको टिकट सम्बन्धित स्थानमा गइसक्यो । बाँकी दुई पदको टुङ्गो शुक्रबारसम्म लाग्ने छ ।” 

नेकपा (एमाले) ले भने उपनिर्वाचन हुने ४४ पदमै उम्मेदवार चयन गरिसकेको छ । सो दलको केन्द्रीय निर्वाचन विभागका प्रमुख नीरज आचार्यले शनिबार बसेको सचिवालयको बैठकले तल्लो कमिटीबाट आएको सिफारिसबमोजिम उम्मेदवार चयन गरेको जानकारी दिनुभयो । 

सत्तामा सहकार्य भए पनि उपनिर्वाचनमा तालमेल वा सहकार्य नभएको एमालेका आचार्यले बताउनुभयो । नेकपा (एमाले) नेतृत्वको सरकारमा नेपाली कांग्रेस प्रमुख घटक तथा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दल सहभागी छन् । 

सरकारबाहिर रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले छुट्टाछुट्टै उम्मेदवारी दिने गरी तयारी गरेका छन् । माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले अधिकांश स्थानमा उम्मेदवारको टुङ्गो लागेको बताउनुभयो ।

निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिकाको अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष ३५, नगरपालिकाको प्रमुख र उपप्रमुख एक/एक गरी ४४ पदमा उपनिर्वाचन हुने छ । 

एमालेका निर्वाचन विभाग प्रमुख आचार्यले कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा. सुरेन्द्र मानन्धरले एमालेबाट उम्मेदवारी दिनुहुने बताउनुभयो । माओवादी केन्द्रले प्राध्यापक शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुव महर्जनले उम्मेदवारी दिनुहुने छ । माओवादी केन्द्रले बुधबार कीर्तिपुर नगरपालिकाको प्रमुखसहितका पदको उम्मेदवार घोषणा गर्दै चुनावी प्रचारप्रसार र तयारीमा जुटिसकेको छ । 

स्थानीय निर्वाचन २०७९ मा कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले नौ हजार ४३ मत ल्याएर निर्वाचित हुनुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी केशरत्न बज्राचार्यको पाँच हजार ५०७ मत थियो । नकर्मीको निधनपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । कीर्तिपुर नगरपालिकामा करिब ३१ हजार मतदाता छन् । 

काठमाडौँ जिल्ला अन्तर्गत काठमाडौँ–१६, कीर्तिपुर–१ र ४ नम्बर वडा रिक्त छन् । कीर्तिपुर–४ बाट स्वतन्त्र उम्मेदवार निर्वाचित भए पनि नगरप्रमुखसहित बाँकीको दुई वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । 

निर्वाचन आयोगका अनुसार रिक्त ४४ पदमध्ये २७ पदमा कांग्रेस, आठ वटामा एमाले, सात वटामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल र स्वतन्त्र एक/एक स्थानमा निर्वाचित भएका थिए । 

मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पद र दोलखाको गौरीशङ्कर, रुकुमपूर्वको पुथा, बाजुराको स्वामीकार्तिक खापर र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छन् । दुवै पालिकाको अध्यक्षमा यसअघि कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । एमालेका उम्मेदवार दुवै पालिकामा निकटतम प्रतिद्वन्द्वी थिए । 

कीर्तिपुर नगरपालिकाको प्रमुख र नलगाड नगरपालिकाको उपप्रमुखबाहेक ३४ पालिकाको वडाध्यक्ष र दुई जिल्ला समन्वय समितिको प्रमुख पद रिक्त छन् ।