• २८ पुस २०८१, आइतबार

लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने

blog

ल्वाङ्गि पूजा तथा सांस्कृतिक महोत्सवबारे जानकारी गराउँदै आयोजक समूह । तस्विरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), कात्तिक ३० गते । कैलालीको घोडाघोडीमा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने भएको छ । घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दिरमा यस वर्ष विवाहपञ्चमीका अवसरमा थारु समुदायको विशेष “लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८१” हुने भएको हो।

“हमार संस्कृति हमार पहिचान, संस्कृति जगेर्ना करना हमार अभियान” भन्ने मुख्य नाराका साथ आयोजित महोत्सव मंसिर १९ देखि २१ गतेसम्म आयोजना हुनेछ।

थारु समुदायले वर्षौंदेखि आफ्ना परम्परागत चाडपर्वअनुसार बाली घरमा भित्र्याउने बेलामा पहिले देवतालाई चढाएर मात्र उपभोग गर्ने परम्परा पालन गर्दै आएको छ। नियमित रूपमा घोडाघोडी मन्दिरमा विवाह पञ्चमीको दिन मनाइँदै आएको लवाङ्गी पूजा यस पटक पनि विशेष सांस्कृतिक उत्सवका रूपमा आयोजना गरिन लागेको हो।

महोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक बुधराम चौधरीले यस पर्वले थारु समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानलाई सुदृढ गर्न, युवापुस्तामा हस्तान्तरण गर्न र कला–संस्कृतिको संरक्षणमा योगदान गर्ने उद्देश्य रहेको बताउनुभयो । महोत्सवमा कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङलगायतका जिल्लाबाट थारु समुदायका भक्तजनको उपस्थिति हुने अनुमान गरिएको छ। 

थारु समुदायमा विशेष रूपमा प्रचलित बर्का नाच, सखिया नाच, मुग्रहुवा नाच, कठघोरी नाच लगायतका नृत्य प्रस्तुति तथा थारु कलाकारको विशेष प्रस्तुति रहनेछ। सन्त समागम समाजका अध्यक्ष कप्तान चौधरीका अनुसार १ सय ७३ गाउँका भलमन्सा, गुरुवा र चिराकीहरूको सहभागिताले महोत्सवलाई अझ व्यवस्थित बनाउन सहयोग पुग्ने जनाएको छ । 

घोडाघोडी ताललाई विश्व रामसार सूचीमा सूचीकृत गरिएको हुँदा यस महोत्सवले तालको संरक्षण, सदुपयोग र अन्तर्राष्ट्रिय प्रचार प्रसारका लागि थप सन्देश दिन सहयोग गर्ने उद्देश्य रहेको छ ।