• २८ पुस २०८१, आइतबार

पूर्णिमा मेला : कमला नदीमा भक्तजनको घुइँचो

blog

धनुषा र सिरहा जोड्ने कमला नदि तटमा श्रद्धालु भक्तजनहरु । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, कात्तिक ३० गते । पूर्णिमा अवसरमा कमला नदीको तटमा प्रत्येक वर्ष लाग्ने पूर्णिमा (भूत) मेलामा सहभागी हुन यस वर्ष पनि भक्तजनहरूको घुइँचो लागेको छ।

कात्तिक पूर्णिमाका अवसरमा धनुषा र सिराहा जिल्ला जोड्ने कमला नदीमा प्रत्येक वर्ष लाग्ने भूत मेलामा सहभागी हुने भक्तजनहरूको घुइँचोले मेलाको आकर्षण बढाउँदै गएको हो । 

धार्मिक आस्थासँग जोडिएको उक्त मेलामा नेपालको धनुषा, महोत्तरी, सिराहा विभिन्न स्थान तथा भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालुभक्तजन सहभागी हुन पूर्णिमाको अघिल्लो दिन नै आउने गर्दछन् । विशेष गरी कार्तिक पूर्णिमाका दिन स्नान, पूजा–पाठ र दान गर्ने परम्परालाई धार्मिक र सांस्कृतिक महत्वको रूपमा लिइने हुँदा मेला स्थलमा सहभागी हुन महिला, पुरुष र बालबालिका मेलामा आएका छन् ।

पूर्णिमाको अवसरमा लाग्ने उक्त मेलामा नयाँ सिकारु धामी झाँक्रीहरु आ–आफ्ना गुरुबाट दीक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा राधना गरी देउता अर्थात् भूत (धामी) खेल्ने धार्मिक परम्परा छ । सो दिन कमला नदीमा लाग्ने मेलामा हजारौँको सङ्ख्यामा धामी झाँक्रीहरुसमेतको उपस्थिति हुने गर्छ । भूत मेलालाई स्थानीय परम्परा र धार्मिक आस्थासँग जोडिएको एक अद्वितीय सांस्कृतिक पर्व  मानिन्छ । 

धार्मिक मान्यता अनुसार, अकालमा मृत्यु भएका मानिसहरूको आत्माले शान्ति नपाएमा उनीहरूले समस्यामा पारेको अनुभव हुने गर्छ । यस्तो आत्मालाई शान्ति दिनको लागि र आफ्नो जीवनमा शान्ति र सुख प्राप्त गर्न, मानिसहरू यस मेलामा उपस्थित हुने गर्छन् ।

यस्तै, मेला अवधिभर नदी किनारमा धूप, दीप र पक्वान्न राखेर पूजा गरिन्छ । मेलामा सहभागी पण्डितहरूले विशेष मन्त्र उच्चारण गर्दै पूजाविधि सञ्चालन गर्छन् । मृत आफन्तहरूको सम्झनामा दियो बाल्ने र नदीमा बगाउने परम्परा छ । यसलाई मृतकप्रतिको श्रद्धा व्यक्त गर्ने एक माध्यम पनि मानिन्छ ।

पूर्णिमाका दिन कमलामा आउजाउ गर्ने भक्तजनको घुइँचो लाग्ने हुँदा कमला क्षेत्र वरपरका स्थानीय तहले बिहीबार र शुक्रबार बिदा दिएका छन् भने स्थानीय तहबाटै विभिन्न स्थानमा स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको छ ।