• २८ पुस २०८१, आइतबार

सुनसरीमा समाचकेवाको रौनक

blog

फाइल तस्बिर । गाेरखापत्र

 जयकृष्ण यादव 

इनरुवा, कात्तिक ३० गते । सुनसरी सदरमुकाम इनरुवासहित मधेसी समुदायको बसोबास रहेको स्थानीय तह तथा क्षेत्रमा मौलिक पर्व समाचकेवाको रौनक बढेको छ । तराई मधेशका स्थानीयबासी, मधेसी तथा थारु समुदायको बसोबास रहेको जिल्लाको गाउँघरमा समाचकेवा पर्व सुरु भएको छ । 

दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईमधेशको मौलिक पर्व समाचकेवाको रौनक देखिन्छ । अहिले भाइटीका अर्थात् गोवर्धनपूजाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने यो पर्वमा दिदीबहिनीले माटोका विभिन्नखाले मूर्तिहरू समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृति बनाएर खेलंने गर्छन् । 

मधेसी समुदायमा विवाहीत महिलाहरुले आफ्नो दाजुभाइको दीर्घायुको कामनासहित समाचकेवा पर्व मनाउने गरिन्छ भने थारु समुदायकी अविवाहिता किशोरीले समूह समूह बनाएर समाचकेवा खेल्न थालेका छन् । शुक्रबार राती कात्तिक पूर्णिमासम्म खेलिने यस मौलिक पर्वले अहिले गाउँको रौनक बढाएको छ । 

सुनसरी जिल्लाको ग्रामीण क्षेत्रको इनरुवा, बबिया, डुम्राहा, मधेशा, चाँदबेला, जल्पापुर, हरिनगर, गौतमपुर, देवानगञ्ज लगायतका गाउँघरमा दाजुभाइ तथा दिदीबहिनीको प्रेम तथा मायालाई झल्काउने समाचकेवा पर्व वर्षमा एक पटक खेल्नाले दाइभाइको प्रेम, माया, मामता र दीर्घायु बढ्ने धार्मिक विश्वास छ । गाउँका बुढापाकाका अनुसार द्वापरयुगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जङ्गलमा घुमघाम गर्न जाँदा ऋषिसँग रमन गरेको झुटाे कुरा सेविका डिहुलीले भगवान् कृष्णसमक्ष लगाएकाले आवेशमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएपछि सामाका भाइ साम्बले सो सुन्नासाथ दिदी सामालाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको पुराणमा उल्लेख छ । 

भाइले दिदीलाई श्रापबाट मुक्त गराएका सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउन सुरु भएको बताउने गरेका छन् । एकअर्काे प्रसङ्गमा द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि राधिका र भगवान् कृष्णका १६ हजार गोपिनीले भगवान् कृष्णको सम्झनामा मनाउने सामाचकेवा कालान्तरमा दाजु बहिनीको प्रेम र सद्भावको मौलिक पर्वमा रूपान्तरित भएको जानकारहरुको भनाइ छ ।  

पर्वको अन्तिम दिन पूर्णिमाको रातमा सो मूर्तिलाई परम्परागत गीत गाउँदै फुटाइने गरेको छ । यसलाई संरक्षण गर्न र युवा पुस्तालाई समेत संस्कृतिक पर्वको बारेमा जानकारी दिन जरुरी रहेको इनरुवाका शास्त्री कुन्जिलाल मेहताको कथन छ ।