• ११ पुस २०८१, बिहिबार

देउसीभैलोको आम्दानी सामाजिक काममा

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, कात्तिक ३० गते । यहाँका महिलाले तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकम सामाजिक काममा खर्च गरेका छन् । 

भेरी नगरपालिका–१२, साली बिसाउ गाउँका महिलाले देउसीभैलोबाट सङ्कलन भएको रकम सामाजिक काममा लगाएका छन् । देउसीभैलोबाट ६० हजार रुपियाँ सङ्कलन भएको थियो । त्यसबाट ५० हजार रुपियाँको सङ्गीत सामग्री खरिद गरेका छन् । छरछिमेकमा सुखदुःखका बेला कुर्सी, साउन्ड सिस्टम, मादल, पोसाक नहुँदा भाडामा ल्याउनुपर्ने भएपछि यहाँका महिलाले देउसीभैलो खेलेको रकमबाट ती सामग्री किनेका हुन् । भेरी नगरपालिका–१२ की पुतला विकका अनुसार तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको ६० हजारमा ५० हजार रुपियाँ खर्च गरेर विभिन्न सामग्री किनिएका छन् ।

रमाइलोका लागि खेलेको देउसीभैलोले संस्कृति मनाउनुका साथै सङ्कलन भएको रकमबाट सामाजिक काममा प्रयोग हुने सामग्री खरिद गरिएको उहाँले बताउनुभयो । भेरी नगरपालिकाका सर्मलाल नेपालीले विवाहको पार्टी, पूजाआजाका कार्यक्रममा भाँडाकुँडा नहुँदा बाहिरबाट ल्याउनु परेको भन्दै आउँदा दिनमा भने सहज हुने बताउनुभयो ।