• ११ पुस २०८१, बिहिबार

शिक्षामन्त्री भट्टराईद्वारा कार्यालयहरूको छड्के निरीक्षण

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बिद्या भटटराई अनुगमनका क्रममा । तस्विरः मन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सानोठिमीस्थित विभिन्न कार्यालयहको बिहीबार आकस्मिक निरीक्षण गर्नुभएको छ। विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषदको सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुग्नुभएकी उहाँले बैठकपछि केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणलगत्तै मन्त्री भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन सुझाव दिनुभयो । सो अबसरमा मन्त्री भट्टराइले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बधनमा सञ्चालित विद्यालय सम्बद्ध  काम गर्ने शाखाको निरीक्षण गरी कार्य प्रवाह, समस्या र चुनौतीबारे जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ । 

शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँगको अन्तरक्रियामा मन्त्री भट्टराइले अनु‌सन्धानलाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई कार्यान्वयन गर्न योजनास‌हित अन्तरनिकाय समन्वय गर्न सुझाव दिनुभयो। निरीक्षणपछि उहाँले पुस्तकालयमा सबै उमेर समूहका पाठकका लागि उप‌योगी पुस्तक थप गरी पुराना महत्त्वपूर्ण पुस्तकको संरक्षणसहित आधुनिक ढङ्‌गले पुस्तकालय व्यवस्थापन गर्नुपर्ने वताउनुभयो । उहाँले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका श्रव्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुँचमा पुगाई विशेषतः कक्षा १० र १२ को उपलब्धि सुधार गर्न सक्रिय हुन सबैलाई सचेत गराउनुभयो । 

प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमतिपत्र र छात्रवृ‌त्तिसम्बन्धी कामप्रति सन्तु‌ष्टि ब्यक्त गर्दै जनसेवामा समर्पित  हुन कर्मचारीलाई आग्रह  गर्नुभयो । कार्यालय निरीक्षणको क्रममा केही कर्मचारी कार्यकक्षमा अनुपस्थित भएको र सो  बारेमा पनि मन्त्री भट्टराइले चासो राख्नुभएको थियो ।