• २३ मंसिर २०८१, आइतबार

पेट्रोलियम पदार्थ अन्वेषणको ८० प्रतिशत काम सम्पन्न

blog

पेट्रोलियम पदार्थ अन्वेषण स्थल भैरवी गाउँपालिका १ जलजले, दैलेख । तस्बिर : बिशाल सुनार

बिशाल सुनार

दुल्लु, कात्तिक २९ गते । नेपाल सरकारको निकै महत्वकांक्षी योजनाको रुपमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम ८० प्रतिशत सम्पन्न भएको छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेबाट सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम ८० प्रतिशत सम्पन्न हो । 

खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन जिओलोजिस्ट सुरेश श्रेष्ठले अन्वेषणको काम ८० प्रतिशत काम भएको र पछिल्लो समयमा उपकरण समयमै आउन नसक्दा काममा केहि कठिनाई भएको बताउनुभयो । अहिले सम्मको सङ्केत आशातित र सकारात्मक भएको समेत उहाँले जिकिर गर्नुभयो । 

"अन्वेषण कार्यका लागि अन्तिम तथा महत्वपूर्ण कार्यको रुपमा भएको ड्रिलिङको काम तिव्र चलिरहेको छ । अहिलेसम्म ३ हजार १ सय मिटर गहिराई सम्म पुगेको छ । अन्वेषणका लागि ३५ सय देखि ४ हजार मिटर सम्म वा त्यो भन्दा पनि बढी मिटरसम्म जमिनमुनि ड्रिलिङ पाइप पुराउनु पर्ने हुन्छ । आवश्यक उपकरण समयमा आई नपुग्दा लक्ष्य पहिल्याउन केहि कठिन भएको छ", श्रेष्ठले भन्नुभयो । 

पंचकोशी तिर्थ क्षेत्रको रुपमा ज्वाला देविको रुपमा पुज्दै आएको शक्तिपिठहरुमा नित्य अग्नीज्वाला बल्दै आएको क्षेत्रमा पेट्रोलियम पदार्थ भएको अनुसन्धानबाट देखिएपछि अन्वेषणको थप काम थालिएको हो ।

तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९ फेब्रवरी २८ मा सम्झौता भएको थियो । जि टु जि सम्झौता अन्तरतग चीन सरकारको २ अर्ब ५० करोड रूपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । यद्यपी कोरोना महामारीको कारण प्रभावित भएको अनुसन्धानको काममा थपिएको समय अवधी सकिनै थालेको छ । 

परिणाम छिटो निकाल्न सकियोस भन्ने हेतुले दुई सिप्mटमा गरि चौबिसै घण्टा काम चलिरहेको छ भने काममा चिनियाँ र नेपाली गरी ८० जना जनशक्ति परिचालित रहेका छन् । 

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले साईस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटोटेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चारवटा सर्भे पश्चात अन्वेषणको अन्तिम चरणको ड्रिलिङको काम चलिरहेको छ ।