• १२ पुस २०८१, शुक्रबार

खेवाङ र आङ्खोपलाई फुटबल उपाधि

blog

ट्रफीका साथ आङ्खोप कपको पुरुषतर्फ उपाधि विजेता खेवाङ स्पोर्टिक क्लबका खेलाडी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न आङ्खोप कप फुटबल प्रतियोगिताको उपाधि खेवाङ रिपोर्टिङ क्लब र आयोजक आङ्खोप युवा समाजले जितेको छ । आङ्खोप कपको पुरुषतर्फ सिरिजङ्घा गाउँपालिका–७ खेवाङ र महिलातर्फ सिदिङ्वा गाउँपालिका–३ आङ्खोपले उपाधि जितेको हो ।

फाइनल खेलमा पाँचथर, फाल्गुनन्द गाउँपालिकाको टु स्टार सिर्जनशील क्लबलाई २–१ को गोलअन्तरले हराउँदै खेवाङ रिपोर्टिङ क्लबले उपाधि जितेको हो । उपाधि जितसँगै खेवाङले एक लाख रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । यस्तै उपविजेता बनेको टु स्टार सिर्जनशील क्लबले ५१ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।

त्यस्तै महिलातर्फ आयोजक आङ्खोप युवा समाजले फुङ्लिङ नगरपालिका–११ फावाखोलाको पाथीभरा यूथ क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ को गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितसँगै आङ्खोपले ५१ हजार रुपियाँ राशिको नगद पुरस्कारका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको पाथीभरा युथ क्लबले ३१ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । खेलाडीलाई विभिन्न विधागत पुरस्कार पनि प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेतालाई कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हङ्गामा लगायतले पुरस्कार वितरण गर्नुभयो । 

शुभ दीपावलीको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ आठ टोलीको सहभागिता रहेको थियो । आङ्खोपस्थित सिंहेश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइएको प्रतियोगिता कात्तिक २१ मा सुरु भई २७ गते सम्पन्न भएको आयोजक आङ्खोप युवा समाजका सहसचिव सन्देश बुढाथोकीले जानकारी दिनुभयो ।