लहान समाचारदाता
लहान, कात्तिक २८ गते । अस्ट्रेलियाका लागि नवनियुक्त राजदूत चित्रलेखा यादवलाई नेपाली कांग्रेस र लहान नगरपालिकाका तर्फबाट बधाई ज्ञापन र सम्मान गरिएको छ ।
नेपाली कांग्रेस सिराहा क्षेत्र नं. १, लहान नगरसमिति र लहान नगरपालिकाले नेपाली कांग्रेसकी नेतृ यादवलाई सम्मान गरेको हो । यादव पूर्वउपसभामुख एवं पूर्वशिक्षामन्त्रीसमेत रहिसक्नुभएको छ । सो समारोहमा यादवले सरकारले दिएको यो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गरेर नेपालको शिर उच्च राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पदीय मर्यादा कायम राख्न म चुक्ने छैन ।” उहाँले आफू अस्ट्रेलियामा रहे पनि सिराहावासीलाई कुनै समस्या परेमा सहयोग गर्न सधैँ तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
नवनियुक्त राजदूत यादवलाई नेपाली कांग्रेसका महासमिति सदस्य सूर्यनारायण यादव, लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुर, नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादव, सिराहा–१ का क्षेत्रीय सभापति तथा लहान नगरप्रमुख महेशप्रसाद चौधरी र लहान नगर सभापति सञ्जयकुमार यादवले बधाईसँगै सम्मान गरेका थिए ।
नगरप्रमुख चौधरीले आफूलाई नगरप्रमुख बनाउन स्वर्गीय नेता प्रदीप गिरी र चित्रलेखा यादवको महìवपूर्ण योगदान रहेको स्मरण गर्नुभयो । कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले नेपाली कांग्रेसभित्र जमिनदारको बिगबिगीलाई समाप्त पारेर गरिब किसान, मजदुर, दलित मुस्लिम र महिलाको पार्टी बनाउन चित्रलेखा यादवको ठुलो योगदान रहेको चर्चा गर्नुभयो ।