दोलखा समाचारदाता
दोलखा, कात्तिक २८ गते । दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपतिनाथ मन्दिर परिसरमा ७० लाख रुपियाँको लागतमा चतुर्मासा भवन निर्माण सुरु गरिएको छ ।
भीमेश्वर नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित भएको ललितपुर उपमहानगरपालिकाको ७० लाख रुपियाँ आर्थिक सहयोगमा भवन निर्माण सुरु भएको चतुर्मासा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो भवन सञ्चालनमा आएपछि नगरको शोभा बढ्ने र धार्मिक पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा राखिएको छ । हरेक वर्षको असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको अवधिमा निरन्तर चतुर्मासा पुराण लगाइने गरेको छ । चतुर्मासा पुराणबाट श्रोताको आत्मशुद्धि हुनुका साथै आत्मबल वृद्धि भई आदर्श समाज बन्ने विश्वास गरिएको छ ।
भवनको बाहिरी भाग निर्माण सम्पन्न भइसकेको छ । आकर्षक प्रवेशद्वार निर्माण र भुइँमा ढुङ्गा बिछ््याएपछि काम सम्पन्न हुने छ । चतुर्मासा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यो स्थानमा पहिला भएको कच्ची भवन भूकम्पले क्षति भएपछि यो नयाँ पक्की भवन निर्माण सुरु भएको हो । ’’