• १४ वैशाख २०८१, शुक्रबार

मत परिणाम आउने क्रम जारी

blog

मुगुको छायाँनाथ रारा नगरपालिका–११, रोवामा जनता समाजवादीबाट विजयी कुञ्जुमा कुमाई ।तस्बिर :हरिकृष्ण ऐडी

सुर्खेत (वीरेन्द्रनगर), जेठ ३ गते । कर्णाली प्रदेशको स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । यस प्रदेशका अधिकांश स्थानीय तहमा मतगणना जारी छ, केहीमा सम्पन्न भएको छ, केहीमा पुनः मतदान हुँदैछ भने केहीमा विवादका कारण मतगणना स्थगित गरिएको छ । 

ठूूलीभेरी नगरपालिकाको मतगणना सम्पन्न

डोल्पा समाचारदाताका अनुसार ठूलीभेरी नगरपालिकामा निर्वाचनको परिणाम सार्वजनिक भएको छ । नगरप्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुवर्ण बुढा ठूलीभेरी नगरपालिकाको प्रमुखमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।कुल चार हजार १७८ मतमध्ये एक हजार २८६ मत ल्याएर उहाँ निर्वाचित हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का कर्णबहादुर रोकाया ९७८ मत ल्याएर निकटतम प्रतिस्पर्धी हुनुभएको छ । 

यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकी छिरिङडोल्मा गुरुङ (महत) विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत केशवराज चपाईले जानकारी दिनुभयो । ठूलीभेरी नगरपालिका–१ बाट नेपाली काँग्रेसका तेजेन्द्र रोकाया, ३ बाट भक्तबहादुर भण्डारी, ५ बाट भीमबहादुर रोकाया, ९ बाट सुवास कठायत र वडा नम्बर १० बाट हंशरूप महत विजयी हुनुभएको छ । 

त्यसैगरी वडा नम्बर ६ बाट नेकपा (माओवादी केन्द्र)का तेजेन्द्र कार्की, २ बाट नेकपा (माओवादी केन्द्र)कै कमलबहादुर क्षेत्री र ७ मा नेकपा एमालेका ध्रुवकुमार शाही र ४ मा नेकपा एमालेकै जुद्धबहादुर रोकाया विजयी हुनुभएको छ । वडा नम्बर ११ को वडाध्यक्षमा भने नेकपा (एकीकृत समाजवादी)का भद्र कार्की र वडा नम्बर ८ को वडाध्यक्षमा समाजवादीकै मनराम ठकुल्ला विजयी हुनुभएको छ । 

पाँच पालिकाको परिणाम सार्वजनिक

दैलेख समाचारदाताका अनुसार दैलेखका ११ स्थानीय तहमध्ये पाँच पालिकाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । ती  पाँचवटा पालिकामध्ये नेपाली काँग्रेसले दुई, नेकपा एमालेले दुई र माओवादी केन्द्रले एक पालिकामा विजय प्राप्त गरेका छन् । 

नेपाली काँग्रेसले भैरवी गाउँपालिका, महाबु गाउँपालिका, नेकपा एमाले डुगेश्वर गाउँपालिका, गुराँस गाउँपालिका र माओवादी केन्द्रले नौमुले गाउँपालिकामा विजयी भएका हुन् । भैरवी गाउँपालिकामा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएकी रिता शाही तीन हजार ९७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै देवी भण्डारी निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ३७४ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा पराजित महतारा जिल्ला समन्वय समिति सदस्य हुनुहुन्थ्यो । 

विष्ट २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यस गाउँपालिकाका चारवटा वडामा एमाले, दुईवटामा काँग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । 

त्यस्तै महाबु गाउँपालिकामा नेपाली काँग्रेसका लक्ष्मण गुरुङ विजयी हुनुभएको छ । गुरुङले दुई हजार ९७९ मत प्राप्त गर्नुभएको छ  । उपाध्यक्षमा काँग्रेसकै मञ्जु पाण्डे विजयी हुनुभएको छ । छवटा वडा रहेको महाबु गाउँपालिकामा तीनवटा वडामा काँग्रेस, दुईवटा वडामा माओवादी र एउटा वडामा एमाले वडाध्यक्षमा विजयी भएका छन् ।

डुगेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी विजयी हुनुभएको छ । उहाँले तीन हजार ४०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षमा नेकपा एमालेकै कलावती न्यौपाने विजयी हुनुभएको छ । उहाँले तीन हजार ५७७ मत प्राप्त गरी विजय हुनुभएको छ । छवटा वडा रहेको डुगेश्वर गाउँपालिकामा गाउँपालिकाको–१ नम्बर वडामा माओवादी केन्द्र, २ मा नेपाली काँग्रेस तथा ३, ४, ५, ६ मा एमालेका वडाध्यक्ष विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै गुराँस गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टोपबहादुर बीसी चार हजार ६८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षमा नेकपा एमालेकी शिवा खड्का चार हजार ६९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।  २०७४ सालको स्थानीय निर्वाचनमा गुराँस गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका खेमराज ओली र उपाध्यक्षमा दीपा बीसी विजयी हुनुभएको थियो । 

यो पालिकामा रहेका आठवटा वडामध्ये छवटामा एमाले र दुईवटामा नेपाली कांँग्रेसले जितेको छ । कांँग्रेसबाट वडा नम्बर १ मा धर्मबहादुर रावल र वडा नम्बर २ मा शेरबहादुर रावल वडाध्यक्षमा विजयी हुनुभएको छ । नेकपा एमालेबाट वडा नम्बर ३ मा काशिराम शर्मा, ४ मा खड्गबहादुर शाही, ५ मा भूपेन्द्रबहादुर चन्द, ६ मा चन्द्रबहादुर राना, ७ मा नन्दबहादुर बीसी र ८ मा दीपेन्द्र ओली वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

यस्तै, नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले तीन हजार २०० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो । यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका गङ्गबहादुर शाही विजयी हुनुभएको छ । उहाँले दुई हजार ८३४ मत प्राप्त गर्नुभएको छ ।  

वडाध्यक्षमा महिला निर्वाचित

मुगु समाचारदाताका अनुसार मुगु जिल्लामै पहिलो पटक वडाध्यक्षमा महिला निर्वाचित हुनुभएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–११, रोवामा जनता  समाजवादीका उम्मेदवार कुञ्जुमा कुमाई विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत  पुण्यप्रसाद सापकोटाका अनुसार उक्त वडामा नेकपा माओवादीका दुई जना र नेकपा एमालेका दुई जना सदस्य पनि विजयी हुनुभएको छ ।जिल्लाका चारवटा पालिकामध्येबाट अहिलेसम्म छायाँनाथ रारा नगरपालिकाबाट मात्र जनता  समाजवादीले वडाध्यक्षको पदमा विजय प्राप्त गरेको छ ।  

महादेव मावि केन्द्रमा पुनः मतदान हुँदै

हुम्ला समाचारदाताका अनुसार चङ्खेली गाउँपालिका–२ को महादेव मावि केन्द्रको मतदान पुनः हुने भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको उजुरीका आधारमा आयोगले सो मतदान केन्द्रको मतदान पुनः गर्ने निर्णय गरेको छ ।

मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले उक्त मतदान केन्द्रको मतदान कार्य पुनः गरिने बताउनुुभयो । निर्वाचनको मिति कहिले गर्ने भन्ने निर्णय सम्बन्धित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले गर्ने र मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी र मतपत्र पठाउने उहाँले उल्लेख गर्नुभयो । मुख्य निर्वाचन अधिकृत पौडेलले यसका लागि आयोगबाट अनुमतिपत्रसमेत प्राप्त भएको बताउनुभयो । 

स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षले धाँधली गरेर मतदातालाई मत हाल्नबाट वञ्चित गरेको भन्दै मतदान पुनः सञ्चालन गर्न गठबन्धन दलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गोविन्द शाही, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय तथा स्थानीय प्रशासनसँग माग गर्नुभएको थियो । सो मतदान केन्द्रमा ३९० मत खसेपछि मतदानका दिन झडप हुँदा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन आठ राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो । 

सो झडपमा परी मतदान अधिकृतसहित तीन जना घाइते हुनुभएको थियो । जसमा एक जना मतदान कार्यमा खटिएका कार्यालय सहयोगी काला रोकायालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचार गर्न हेलिकप्टरबाट सुर्खेत उद्धार गर्नुपरेको थियो ।