• ११ पुस २०८१, बिहिबार

दस वर्षपछि बन्यो पुल पहुँचमार्गको भने छैन टुङ्गो

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक २६ गते । मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ । कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा फिचर एन्ड सराउद्दिन जेबीले २०७१ मा निर्माण थालेको यो पुल कात्तिक २३ गतेदेखि सञ्चालनमा आएको हो ।  

प्रारम्भिक चरणमा १५ प्रतिशत काम पनि नगरी सम्पर्कविहीन भएको निर्माण कम्पनीले पुनः दोस्रो पटक सम्झौता गरी काम थालेको थियो । दोस्रो पटक सम्झौता गरेर एक सातासम्म काम गरेर हिँडेको कम्पनी पछिल्लो पटक सरकारका सबै अङ्ग परिचालन भएपछि काम गर्न तयार भएको थियो । 

एक करोड १८ लाख रुपियाँमा १५ मिटर लम्बाइको पुल निर्माण गरी २०७७ को चैत मसान्तसम्ममा सडक डिभिजन कार्यालय मोरङलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो तर त्यो अवधिमा कम्पनीले एक दिन पनि काम गरेन । 

कानेपोखरी–रङ्गेली सडक कालोपत्रे गर्ने ठेक्का पाएको कन्चनजङ्घा कन्स्ट्रक्सनले २०७७ को चैत १८ गते सरकारलाई सडक हस्तान्तरण गरिसकेको छ तर पुल निर्माण गर्ने फिचर एन्ड सराउद्दिन जेभी कन्स्ट्रक्सनले सडक हस्तान्तरण भएको चार वर्ष सात महिनापछि पुल बनाइसकेको छ । समयमा पुल नबन्दा गेउरिया खोलाले पाँच जनालाई बगाएको थियो ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले तीन पटक म्याद थप्दा पनि निर्माण नभएपछि कानेपोखरी गाउँपालिका र रङ्गेली नगरपालिकाले ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाएका थिए । दुवै पालिकाले निर्माण कम्पनीलाई कालो सूचीमा राख्न पत्राचार गरी सम्झौता रद्द गर्ने निर्णय गरेपछि निर्माण कम्पनी काममा फर्किएको थियो । पछिल्लो पटक २०८० को असार मसान्तमा पुल हस्तान्तरण गर्ने सम्झौता थियो । त्यसपछि पुनः म्याद थपेर पुल निर्माण सम्पन्न भएको हो ।