• २१ मंसिर २०८१, शुक्रबार

दुध बेचेर मासिक एक लाख रुपियाँ

blog

सीताकुमारी खाम्चाको भैँसी फर्म ।

छिन्चु समाचारदाता

सुर्खेत, कात्तिक २६ गते  । सुर्खेतको लेकबेँसी नगरपालिका–९, गँगटेकी सीताकुमारी खाम्चाले दुध बेचेरै अहिले मासिक एक लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने गर्नुभएको छ  । कुनै बेला सहरको होटेल व्यवसाय, फेन्सी पसलमा असफलता झेलेकी उहाँले अहिले भैँसीपालन व्यवसायबाट मनग्गे आम्दानी मात्रै गर्नुभएको छैन; उहाँ अन्य कृषकका लागि प्रेरणास्रोतसमेत बन्नुभएको छ । 

उहाँका अनुसार दुई वर्षअघिसम्म गोठमा जम्मा दुई वटा भैँसी थिए । सीता भन्नुहुन्छ, “हामी आफ्नो खाँचो पूर्तिका लागि मात्रै परम्परागत खेती र भैँसी पाल्ने गथ्र्यौं । व्यावसायिक रूपमा कसरी अघि बढ्ने भन्ने बुद्धि थिएन । त्यही बेला कृषि मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रमले व्यावसायिक कृषि र पशुपालनसम्बन्धी साक्षरता तालिम दियो । त्यहाँबाट मेरो आँखा खुल्यो । अहिले यो पेसाबाट निकै खुसी भएकी छु ।” 

त्यति बेला लिएको सो तालिममा सिकेको कुरालाई उहाँले व्यवहारमा उतार्नुभयो र अहिले उहाँसँग १३ वटा भैँसी, चार पाडा र एक राँगो छन् भने तीन वटा गाई छन् । उहाँका अनुसार पाँच वटा भैँसी दुहुना छन् । खेतबारीमा घाँसपात प्रशस्तै हुने भएकाले भैँसीपालन व्यवसाय रोजेको उहाँले बताउनुभयो । 

प्रतिदिन बिहान र साँझ गरी ३० लिटर दुध उत्पादन हुन्छ । दुधको बजारीकरणको समस्या छैन । दुध प्रतिलिटर ६३ रुपियाँका दरले वीरेन्द्रनगर सहकारी संस्थाले सञ्चालन गरेको वीरेन्द्रनगरको दुग्ध डेरीमा बिक्री हुन्छ । उहाँले भन्नुभयो, “अहिले कुनै महिना एक लाख त कुनैमा एक लाख १० हजार रुपियाँसम्म आम्दानी हुन्छ ।” 

सीताकुमारी खाम्चाको सानैदेखि एउटा सपना थियो, पढेर सरकारी जागिर खाने । उहाँको पढाइ पनि राम्रै थियो तर परिवारको दबाबमा कक्षा १० मा अध्ययन गर्दै गर्दा विवाह गर्नुप¥यो । विवाह उहाँको निर्णयभन्दा पनि परिवारको करकापमा थियो । विवाहपश्चात् उहाँको पढाइ छुट्यो, सपना टुट्यो । उहाँका श्रीमान्ले स्कुल छाडिसक्नुभएको थियो । सानैमा विवाह गरेकी उहाँको परिवार २०५८ सालतिर वीरेन्द्रनगर बजारमा होटेल व्यवसाय गर्ने भनेर सहर पस्यो । वीरेन्द्रनगरको बसपार्कनजिकै सन्तोष नास्ता पसल चलाए । सुरुवाती चरणमा राम्रै चले पनि देशमा माओवादी जनयुद्धका कारण सङ्कटकाल सुरु भएपछि विस्तारै व्यवसाय डुब्दै गयो । मान्छेको आवतजावतमा कमी आयो र व्यवसाय कमजोर बन्दै गयो ।  सीता ती दिन सम्झिनुहुन्छ, “दिनप्रतिदिन व्यवसाय कमजोर हुँदै गयो, घरभाडा तिर्न धौ धौ हुने अवस्था आयो । केही सिप नलागेपछि होटेलमा भएको सामान बेचेर पुनः हामी गाउँ फर्किएका थियौँ ।” एउटा सपना बोकेर सहर पसेपछि सीतालाई लागेको थियो– अब कहाँ गाउँ फर्किनु ? यतै घरजग्गा जोडेर बस्नुपर्ला ।  समयक्रममा त्यसो हुन नसकेको स्मरण उहाँले गर्नुभयो ।

सहरबाट गाउ फर्केको सीताको परिवारले आफ्नै बारीमा परम्परागत खेतीपाती गरेर गुजारा चलाए । यसबिचमा उनीहरूले न व्यावसायिक रूपमा खेतीपाती गर्न सके न त राम्रो आम्दानी । परम्परागत रूपमा गरिने खेतीपातीले वर्षभरि परिवारको हातमुख जोर्न पनि धौधौ हुन्थ्यो । पुर्खाको जमिन टन्नै भए पनि सिँचाइ अभावका कारण उत्पादन नहुने अवस्था थियो । यसरी कति दिन चलाउने भनेर पुनः ऋणसापटी गरी स्थानीय गँगटे बजारमा ‘लेकबेँसी फेन्सी पसल’ चलाएको सीता बताउनुहुन्छ । फेन्सी पसल केही वर्ष ठिकै चलेको थियो । त्यहीबिचमा २०७६ सालपछि कोरोना भाइरसको कहर सुरु भयो । सरकारले लकडाउन घोषणा गरेपछि व्यवसाय चौपट भयो । भाडामा सञ्चालन गरेको पसल बन्द हुँदा पनि घरभाडा तिर्नुपर्ने अवस्थाले सीताको परिवार फेरि ऋणमा डुब्यो । उहाँले भन्नुभयो, “त्यसपछि हामी पसल बन्द गर्नुपर्ने बाध्यतामा पुग्यौँ । आफूले परिवार तथा आफन्तजनसँग ऋणसापटी गरी लगानी गरेको चार लाख रुपियाँ पनि डुब्यो ।”

उहाँको परिवार पुनः उही परम्परागत घरखेत गरेर नै छाक टार्न थाल्यो । पटक पटक नयाँ उमङ्ग र आशा बोकेर सङ्घर्षमा लाग्दा पनि असफलता नै असफलताले लपेटिरह्यो । जसोतसो गरेर सञ्चालन गरेको होटेल व्यवसाय र फेन्सी पसलबाट निराशा मात्रै पाइएपछि घरखर्च टार्न निकै समस्या भयो । त्यही बेला सीता गाउँकै जनअपेक्षा सहकारी संस्थामा आबद्ध हुनुभयो । कृषि क्षेत्र विकास कार्यक्रमसँगको सहलगानीमा जनअपेक्षा सहकारी संस्थामार्फत व्यावसायिक भैँसीपालन व्यवसायबारे त्यहाँ तालिम दिइन्थ्यो । कृषि क्षेत्र विकास कार्यक्रममार्फत भकारो सुधार, घाँस काट्ने मेसिन सहयोग तथा तालिममा सहभागी भएपछि सीताले परम्परागत रूपमा पालेका दुई भैँसीमा अझ बढाउँदै लैजाने सोच बनाउनुभयो । उहाँले उक्त सोच श्रीमान् र सासूससुरालाई पनि सुनाउनुभयो । लगत्तै २०७९ सालमा आफ्नै नाममा सीता कृषि तथा पशुपन्छी फार्म दर्ता पनि गर्नुभयो ।