• १२ पुस २०८१, शुक्रबार

व्यावसायिक फूल खेतीमा आकर्षण

blog

लहान समाचारदाता

लहान, कात्तिक २५ गते ।  सिराहा, लहान–१८ का रमानन्द महतो फूल खेती गरेर राम्रो कमाइ गर्ने सुरमा हुनुहुन्छ । छ वर्षअघिदेखि नै फूल खेतीतर्फ रुचि राख्ने रमानन्द अहिले व्यावसायिक खेती गर्न लागिपर्नु भएको छ । 

कृषि विषय पढेर व्यावसायिक खेतीमा लागेका उहाँ यस वर्षको चाडपर्वमा ११ कट्ठा खेत भाडामा लिएर उत्पादन गरेको तीन क्विन्टल फूल बिक्रीबाट भएको आम्दानीबाट हौसिनुभएको छ । एक वर्षदेखि घरमा भएको सुनचाँदी सबै बेचेर फूलको व्यावसायिक खेती गर्नुभएका उहाँ यस वर्ष फूलको खेतीबाट राम्रै आम्दानी भएको बताउँदै यस खेतीलाई विस्तार गर्ने सुरमा हुनुहुन्छ । उहाँका अनुसार कृषिको पढाइ सकेर फूलको खेती गर्दा हिम्मत बढेकोले अब फलफूलको बिरुवा र फूलको बिरुवा उत्पादन गरेर व्यवसाय बढाउने सोचमा हुनुहुन्छ ।

स्थानीय युवा व्यावसायिक तरकारी र फलफूल खेतीतर्फ आकर्षित भइरहेकोले यसलाई विस्तार गर्न लहान नगरपालिका कृषि शाखासँग समन्वय गरेर सहकारीको माध्यमबाट व्यावसायिक कृषितर्फ उन्मुख गराउन आफू प्रयासरत रहेको वडाध्यक्ष मो शमशेरले बताउनुभयो । 

लहान नगरपालिका–२ र ३ सहित १३ देखि २४ वडा नम्बरलाई व्यावसायिक तरकारी र फूल खेतीतर्फ आकर्षित गराउने कार्यमा नगरपालिकाको कृषि शाखाले योजना बनाइरहेको सो शाखाका प्रमुख प्रकाश साह हलुवाईले बताउनुभयो । उहाँले भन्नुभयो, “लहान नगरपालिकाको कृषि शाखामा कर्मचारीको अभावले सम्भावना प्रवल भए पनि व्यावसायिक तरकारी र फलफूल खेतीलाई अगाडि बढाउन नसकिरहेको अवस्था छ । 

कृषि शाखाले वडा कार्यालयसँग समूह बनाएर युवालाई कृषिमा रुचि बढाउने, प्रोत्साहन गर्ने र रोजगारी सिर्जना गर्ने कार्यक्रमबारे शाखा यस वर्ष व्यापक तयारीमा लागेको छ । यस वर्ष धान खेतीलाई प्रोत्साहन गर्न ५० बिघामा धानको बिउ उत्पादन गरेको छ ।”