• १० मंसिर २०८१, सोमबार

घोडा चढेर रारामा पुग्दै पर्यटक

blog

आन्तरिक पर्यटक घोडा चढेर रारा ताल जाँदै । तस्बिरः हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, कात्तिक २४ गते । 
नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल रारा तालमा आउने पर्यटकहरू विशेष रूपमा घोडचढीमा आकर्षित हुने गरेका छन् ।

सबैले घोडा चढ्ने व्यक्तिलाई हेर्छन् । प्रसिद्ध पर्यटकीयस्थल रारा तालमा आउने पर्यटक घोडामा चढेर रमाउन थालेका छन् । रारा तालमा पुग्न उकालो चढ्न नसक्ने र रमाइलोका लागि घोडा चढ्नेको आकर्षण बढेको हो ।

घुच्चीलेक हुँदै गाडीमै सल्लेरी पुगेका पर्यटक रारासम्म पुग्न घोडामा चढ्ने गरेका हुन् । पर्यटकबाट घोडाले व्यवसायीको आम्दानी र पर्यटकको मनोरञ्जन दुवै बढाएको छायाँनाथ रारा नगरपालिका वडा नं ७ का स्थानीय घोडा व्यावसायिक पञ्चबहादुर रावलले बताउनुभयो ।

सल्लेरीसम्म गाडीमै आएका युवायुवतीलाई रारामा पुग्न सजिलोका लागि र घोडामा बसेर फोटो खिचाउनेको सङ्ख्या बढेको छ । उहाँले भन्नुभयो, ‘‘घोडा समितिको निर्णय अनुसार सल्लेरीदेखि रारा तालसम्म घोडामा सवार गराए बापत प्रति व्यक्ति एक हजार रुपियाँ लिने गरिएको छ ।’’

‘‘घोडामा पर्यटक घुमाउँदा आम्दानी राम्रो हुन्छ ।’’ उहाँले भन्नुभयो, ‘‘अहिले यहाँ घरमै बसेर घरकै खाएर मासिक ३० हजार बढी कमाई हुन्छ । नयाँ मान्छेसँग चिनजान र   भेट्घाट हुन्छ । बिहान ६ बजे उठेर यहाँ आयो अनि बेलुका उज्यालो रहँदासम्म पर्यटकलाई घुमाउँदैमा बित्छ दिन ।’

कैलाली जिल्ला भीमदत्त नगरपालिका वडा नं ७  का आन्तरिक पर्यटक रारा घुम्न आएका डम्बर धामीले घोडामा चढ्दाको मज्जा बेग्लै हुने अनुभव सुनाउनुभयो ।

रारा ताल आएका धेरैजसो पर्यटक घोडामा चढ्न खोज्ने भएकाले आम्दानी राम्रो भएको अर्का घोडा व्यवसायी रामबहादुर रोकायाले बताउनुभयो ।

यता रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी अमर सावतका अनुसार आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म आन्तरिक पर्यटक एक हजार तीन सय ९८ जना, सार्क नागरिक नौ जना त्यसैगरी विदेशी ४९ नागरिक गरी एक हजार चार सय ६५ जना पर्यटक रारा तालमा घुम्न आएको कार्यालयमा तथ्याङ्क रहेको छ । रारा घुम्न आएका पर्यटकबाट प्रवेश शुल्क बापत तीन लाख ८ सय ५० रुपियाँ राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।