सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), माघ २९ गते । धनकुटा नगरपालिका –५, स्थित कर्मिटारमा रहेको सुनौलो जीवन सुधार तथा उपचार केन्द्रबाट बाह्र जना फरार भएका छन् । बिहीबार बिहान केन्द्रको भवनबाट सुरक्षा घेराको तारबार तोडेर फरार भएका हुन् ।
फरार भएकाहरु लागुऔषध तथा मादकपदार्थ सेवनको लतबाट छुटकारा दिलाउन सुधार केन्द्रमा राखिएका व्यक्ति रहेका छन् । सुधार केन्द्रमा ३० जना रहेकामा बाह्र जना फरार रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार फरार रहेका उनीहरुको खोजीकार्य जारी राखिएको जनाइएको उहाँले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनीहरु केन्द्रको भवनको माथिल्लो तलाको भान्सा कोठाबाट फरार भएको सुधार केन्द्रका सञ्चालक उज्ज्वल खनालले बताउनुभयो । उहाँका अनुसार विजय मल्लिकको अगुवाइमा हेरचाह गर्ने व्यक्तिलाई कुटपिट गरेर उनीहरु फरार भएको बताउनुभयो ।
केन्द्र मुख्यतया नशा मुक्ति, मनोवैज्ञानिक परामर्श, र डिटोक्सिफिकेसन (शरीरलाई नशा मुक्त बनाउनका लागि) जस्ता सेवामा केन्द्रित रहेर काम गर्दैआएको छ ।