गङ्गाकुमारी मिजार
रसुवा, माघ २९ गते । आधुनिक सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी समाचार सङ्कलन र सम्प्रेषण प्रक्रियालाई थप छरितो, व्यवस्थित तथा विश्वसनीय बनाउने विषयमा जिल्लास्थित नेपाल प्रहरी र सञ्चारकर्मीबिच छलफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाको समन्वयमा सदरमुकाम धुन्चेमा सम्पन्र भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा सुरक्षा निकाय र सञ्चार क्षेत्रबिच सूचना आदान प्रदानलाई प्रविधिमैत्री बनाउँदै आपसी सहकार्यलाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।
वक्ताहरूले सन्तुलित, तथ्यमा आधारित सूचनाको प्रवाहले सार्वजनिक हित र सुशासन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक अशोक थापाले जिम्मेवारी सम्हालेसँगै सञ्चारकर्मीसँग नियमित समन्वय र संवादलाई प्राथमिकता दिइएको बताउनुभयो ।
उहाँले जिल्लामा शान्ति सुरक्षा तथा सार्वजनिक सरोकारका विषयमा महत्त्वपूर्ण सूचना प्राप्त हुनासाथ सञ्चार माध्यममार्फत नागरिकलाई अवगत गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुर्गम हिमाली जिल्ला रसुवामा सूचनाको पहुँच सहज बनाउन सञ्चारकर्मीलाई डिजिटल सञ्जाल, विशेषतः ह्वाट्सएप समूहमार्फत एकै पटक सूचना प्रवाह गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।
साथै, सञ्चारकर्मीले आफूहरूसँग उपलब्ध समाचार उपयोगी तथा सार्वजनिक सरोकारका सूचना सुरक्षा निकायसँग समयमै साझेदारी गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रहरी सञ्चारकर्मीबिचको पारस्परिक विश्वास र सहकार्यले तथ्यपरक, आधिकारिक र जिम्मेवार पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
यसैबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी जिल्लाभर व्यापक सुरक्षा तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो । शाहका अनुसार निर्वाचन सुरक्षाका लागि ७५ महिनासहित ३६९ जना निर्वाचन प्रहरीलाई आवश्यक अभिमुखीकरण तथा तालिम प्रदान गरिएको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै उनीहरूलाई मतदान केन्द्रमा परिचालन गर्ने प्रक्रिया अघि बढाइएको छ ।
प्रहरी निरीक्षक शाहका अनुसार सदरमुकाम धुन्चेमा रहेको जिल्ला प्रहरी कार्यलयको नेतृत्वमा दुई इलाका प्रहरी कार्यालय, १० प्रहरीचौकी र तीन अस्थायी प्रहरी पोस्टमार्फत जिल्लाभर शान्ति सुरक्षा कायम राख्ने व्यवस्था मिलाइएको छ ।