रामकृष्ण बोहरा
बागलुङ, माघ २९ गते । धार्मिक पर्यटकको गन्तव्य बन्दैगएको पञ्चकोटमा आन्तरिक पर्यटकहरूको आगमन बढेको छ । बागलुङ नगरपालिका-६, भान्सामा पर्यटकीय संरचना थपिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
भान्सामा जन्मेर भारतको विभिन्न स्थानमा ख्याती कमाउनुभएका कमलनयनाचार्यको अगुवाइमा पञ्चकोटमा करोडौंका योजनामार्फत पर्यटन र धार्मिक संरचना निर्माण गरिएको छ । २०७१ फागुन ७ गतेदेखि पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेगरी अभियान सुरु भएको थियो ।
पञ्चकोटको झण्डै दुई सय रोपनी बढी जमिनमा ६० करोडका धार्मिक तथा पर्यटकीय संरचनाहरू बनिसकेको छ । बागलुङ नगरक्षेत्रको पाँच वटा कोट मिलाएर पञ्चकोट नामकरण भएको छ । हाल मुख्य पूर्वाधार निर्माण भइरहेको ताराजालकोट हो ।
ताराजालदेखि माथिल्लो कारीकोट, त्यसमाथि माझकोट र रायरायकोट छन् । सबैभन्दा अग्लो पहाडमा संसारकोट छ । पाँचवटा कोटलाई नै पर्यटन र धार्मिक गन्तव्य बनाउन लागिएको छ ।
यहाँ गण्डकी माताको मन्दिर, गरुण शिला, हनुमानको विशाल मूर्ति, सिस महल, सभाहल, भोजनालय तथा हवनकुण्ड लगायतका संरचना बनेको छ । ५ हजार ५ सय ५५ केजीको घण्टी राखिएको छ । ती सबै संरचना बनाउन हरेक वर्ष महायज्ञ लगाएर रकम सङ्कलनको काम हुँदैआएको छ । केही संरचना निर्माणमा बागलुङ नगरपालिका, गण्डकी प्रदेश र पर्यटन मन्त्रालयले साथ दिएको स्थानीयको भनाइ छ ।
पञ्चकोटमा संसारकै अग्लो कलश निर्माण गर्ने लक्ष राखिएको छ । १ सय ८ फिट अग्लो कलश बनाएर यहाँका ५ वटा कोटलाई पर्यटकीय र धार्मिक गन्तव्य बनाउने योजना छ । कलशका लागि फाउन्डेसन तयार भइसकेको छ ।
संसारकै अग्लो कलश बनेपछि नेपाल र भारतका लाखौं पर्यटकलाई पञ्चकोटमा आकर्षित गर्न सकिने सम्भावना रहेको अभियानका अगुवा स्वामी कमलनयनाचार्यको भनाइ छ ।
कलश बनाउने अभियानलाई सघाउने गरी पञ्चकोटमा ‘ब्रम्हाण्डीय महायज्ञ’ सम्पन्न भइसकेको छ । कलश झण्डै १३ तलाको घर बराबरको हुनेगरी डिपिआर बनिसकेको छ । बाहिरीस्वरूप कलशजस्तै भए पनि भित्रीखण्डमा बन्ने १६ वटा कोठामा धार्मिक गतिविधि हुने छन् ।
झण्डै दुईअर्ब खर्च अनुमान गरिएको पञ्चकोटको बृहत् पूर्वाधार निर्माणमा महायज्ञ, स्थानीयको दानमुठी र चन्दाबाट ती संरचना बनेका हुन् ।