• १४ वैशाख २०८३, सोमबार

जलविद्युत आयोजनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

blog

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको कार्यालय । तस्बिर :साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, वैशाख १४ गते ।सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निःशुल्क दुई दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

हाइड्रोपावरले आयोजनाका प्रभावित क्षेत्रका स्थानीयलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागेको हो । शिविर आगामी वैशाख १८ र १९ गते सञ्चालन गर्न लागिएको प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार वैशाख १८ गते आठराई त्रिवेणी गाउँपालिका-५, चाँगेको तिरतिरेस्थित श्री जालपा देवी आधारभुत विद्यालयमा र वैशाख १९ गते मिक्वाखोला गाउँपालिका-२, खोक्लिङस्थित चितुब्याङमा रहेको आयोजनाको विद्युत् गृह कार्यालयमा शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर कल्पना कुमारी श्रेष्ठको संयोजकत्वमा सञ्चालन हुने शिविरमा विभिन्न सेवा प्रदान गर्ने हाइड्रोपावरले जनाएको छ । 

साथै शिविरमा नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचारको केन्द्रको समेत प्राविधिक सहयोग रहने बताइएको छ ।

प्रशासन प्रमुख तथा वातावरण अधिकृत गौतमका अनुसार शिविरमार्फत इसिजी, इको, भिडियो एक्सरे, पिसाब जाँच र ब्लड प्रेसर तथा सुगरको जाँच जस्ता सेवा प्रदान गरिने छ ।

त्यस्तै सामान्य स्वास्थ्य जाँच, नाक, कान, घाँटी, आँखाको जाँच गर्नूका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धीको समेत जाँच गरिने बताइएको छ ।

शिविरमा सेवा लिन आएका सेवाग्राहीलाई आवश्यकता अनुसारको निःशुल्क औषधी समेत प्रदान गरिने छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई शिविर उपस्थित भई सेवा लिन समेत हाइड्रोपावरले अनुरोध गरेको छ । 

फुङलिङ नगरपालिका १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका-१, मिक्वाखोला गाउँपालिका १ र २, आठराई त्रिवेणी गाउँपालिका ५, मेरिङदेन गाउँपालिका २ र ३ र मैवाखोला गाउँपालिका १ का स्थानीयलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागिएको हो ।