• १४ वैशाख २०८३, सोमबार

प्रहरी–समुदाय साझेदारीमा पर्यटकीय क्षेत्र सरसफाइ

blog

सरसफाइपछि सामूहिक तस्बिर लिँदै प्रबुद्वका सदस्य र प्रहरीहरू । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख १४ गते । सामाजिक क्षेत्रमा स्वयंसेवी रूपमा काम गर्ने हुटहुटीले स्वतःस्फूर्त रूपमा सङ्गठित भएका युवाहरूको समूह प्रबुद्वले प्रहरीसँगको साझेदारीमा पर्यटकीय क्षेत्रको सरसफाइ अभियान थालेको छ ।

सरकारी काममा हुने ढिलासुस्ती र विकास निर्माणको काममा भइरहेको ढिलासुस्तीप्रति सामाजिक सञ्जालमार्फत खबरदारी गर्दैआएको प्रबुद्व युवा समूहले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत हरेक आइतबार वातावरण संरक्षणका लागि ‘नगर सरसफाइ’ अभियानको सुरु गरेको हो ।

समूहका सदस्य र प्रहरीले पर्यटकको चाप हुने प्रसिद्व धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिर परिसरदेखि ‘कालीगण्डकी गोल्डेन ब्रिज’ सम्म सरसफाई गरेका हुन् । पर्यटकको चाप हुने कालिका मन्दिर र कालीगण्डकी गोल्डेन ब्रिज परिसरमा फोहोर सङ्कलन गर्ने डस्टबिनको व्यवस्था नहुँदा प्रदुषण बढ्दै गएको छ । 

पर्यटकीय मौसममा एसियाकै लामो सिङ्गल स्पानको कालीगण्डकी गोल्डेन ब्रिज अवलोकन र कालिका मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्या बढ्दै गएपछि मन्दिर र पुल परिसरमा सरसफाइ गरिएको प्रबुद्व युवा समूहका अध्यक्ष रोहित सुनार ‘मार्टिन’ ले जानकारी दिनुभयो ।

‘‘मन्दिरमा दर्शन गर्न पाउँदा मन प्रफुल्ल हुने भक्तजन फोहोरको डङ्गुरले नाक खुम्च्याउनु पर्ने अवस्था आउन नदिन सरसफाइ अभियान चलाएको हौं’ अध्यक्ष सुनारले भन्नुभयो, ‘‘पर्यटकीय क्षेत्रमा डस्टबिनको व्यवस्था गर्नसके वातावरण स्वच्छ हुनुका साथै पर्यटकको आगमन बढाउन सकिन्छ ।’’

हरेक साताको एक दिन सरसफाइसँगै युवा पुस्ता लागु औषधको लतमा फस्दै गएकोले प्रबुद्वले लागु औषधविरुद्व अभियान चलाउने भएको छ । जिल्ला प्रशासन, प्रहरी र स्थानीय तह र समुदायसँगको सहकार्यमा लागु औषधविरुद्व ‘सेभ द युथ’ कार्यक्रम चलाउने तयारी भई रहेको अध्यक्ष सुनारले जानकारी दिनुभयो ।

विद्युतीय चुरोट ‘भेप’ र सुर्तिजन्य पदार्थ ‘गुटखा’ को सेवनबाट युवाहरू लागु औषधसम्मको यात्रामा पुगेको पाइएकाले लागु औषध र सूर्तिजन्य पदार्थको सेवनबाट हुने क्षति बारेमा पनि युवा पुस्तासँगै उनीहरूका घरपरिवारलाई सचेतना जगाउन ‘सेच द युथ’ कार्यक्रम केन्द्रित हुने सुनारको भनाइ छ ।