साधन घर्ती
म्याग्दी (दरबाङ), माघ २९ गते । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । धवलागिरि गाउँपालिका–४, केराबारीस्थित बेनी–नाउरा सडक खण्डमा बिहीबार ग. १ ज. ७२२२ नम्बरको जिप दुर्घटना भएको हो ।
दिउँसो २:१० बजे भएको सो दुर्घटनामा परी धवलागिरि–४ बगरका ३७ वर्षीय चालक नन्दबहादुर सुनार (सामान्य), रौतहटको चन्द्रपुर नगरपालिका–१ का ३९ वर्षीय मनिराज लुङ्गेली (मध्यम) र अछामको तुर्माखाँद गाउँपालिका–५ का २७ वर्षीय खगेन्द्र शाही (गम्भीर) घाइते हुनुभएको छ ।
त्यसैगरी पाँचथरको मिक्लाजुङ गाउँपालिका घर भई झापाको दमक बस्ने ३४ वर्षीय पाल्दिङ तामाङ (सामान्य), अछामकै तुर्माखाँद–५ का २० वर्षीय निरक शाही (मध्यम), धवलागिरि–४, खिबाङका २२ वर्षीय छयन्द्र घर्ती (सामान्य) र सोही गाउँपालिका–४, नाउराकी ४० वर्षीया टीका घर्ती (गम्भीर) घाइते हुनुभएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रवीन्द्र कार्कीले जानकारी दिनुभयो ।
घाइतेमध्ये गम्भीर अवस्थाका खगेन्द्र र टीकालाई दरबाङ आधारभूत अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको छ । जिप सडकबाट करिब २५ मिटर तल खोल्सामा खसेको थियो । चालक सुनारलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।