• २४ मंसिर २०८१, सोमबार

नेपाली भाषाको विशिष्टता आदरार्थी प्रयोग

blog

भाषा सामाजिक वस्तु भएकाले यसको अभिव्यक्तिमा व्यक्तिका आपसी सामाजिक सम्बन्धको पनि प्रतिविम्बन रहेको हुन्छ । विशेष गरेर आदर व्यक्त गर्ने सन्दर्भमा समाजले यसको ख्याल राखेको देखिन्छ । व्यक्तिको वर्णन, पारस्परिक संवाद वा रिपोर्टिङमा नेपाली भाषामा आदरार्थीको प्रयोगलाई यथोचित महत्व दिइन्छ । आदर भन्नाले व्यक्तिले समाजमा पाएको वा व्यक्तिप्रति समाजले ठानेको प्रतिष्ठा वा सम्मानको तहलाई मानिन्छ । प्रत्येक भाषामा यसका लागि खास किसिमको शब्द भण्डार हुन्छ र कतिपय भाषामा यसले वाक्यढाँचालाई नै प्रभाव पारेको हुन्छ । त्यस स्थितिमा आदरार्थी व्याकरणात्मक कोटिका रूपमा समेत देखा पर्छ । नेपाली भाषा पनि आदरार्थी प्रयोगका दृष्टिले सम्पन्न रहेको छ । यस्तै जापानी, कोरियाली, भियतनामी आदि भाषा पनि आदरार्थी प्रयोगका दृष्टिले सम्पन्न मानिन्छन् ।

भाषा विचार एवं सूचनाको वाहक मात्र होइन, व्यक्तिका भावनाको पनि वाहक हो । आदरार्थीको चयन तथा प्रयोग सामान्य कथनका लागि भन्दा व्यक्तिको भावना पक्षसँग सम्बन्धित व्याकरणात्मक कोटिका रूपमा रहेको हुन्छ । प्रत्येक भाषामा यसलाई व्यक्त गर्ने आआफ्नै फाँकी हुन सक्छन् । कुनै भाषामा सीमित र कुनैमा अपेक्षित केही बढी युक्ति प्रयोगमा आएका हुन्छन् । यस व्रmममा नेपाली भाषा आदरार्थी प्रयोगका दृष्टिले केही जटिल भाषाका रूपमा देखा पर्छ ।

नेपाली व्याकरणमा आदरार्थी 

आदरार्थी मुख्यतः सर्वनामसँग सम्बन्धित भएर देखिने हुँदा यसलाई मध्य चन्द्रिकामा सोमनाथ शर्माले मान बोधक अन्तर्गत चर्चा गरेका छन् । मान बोधकमा तपाईं, यहाँ, उहाँलाई लिइएको देखिन्छ । यसमा तँ र तिमीबारे यस्तो उल्लेख गरिएको छ । 

“सामान्य आदर जनाउँदा द्वितीय पुरुष वाचक ‘तँ’ शब्दको आदरार्थी बहुवचन ‘तिमी’ यस्तो प्रयोग हुन्छ । जस्तै; ए श्याम, तिमी के पढ्छौ ?, ए नानी, तिमी यहाँ बस आदि ।” 

उक्त कथनबाट तिमीलाई सामान्य आदर मानिएको देखिन्छ तर तँलाई अनादर वा आदररहित के मानिएको हो, सो भने स्पष्ट हुँदैन । बृहद् नेपाली व्याकरणमा रोहिणीप्रसाद भट्टराईले तँलाई एक वचन, तिमीलाई आदरार्थी बहुवचन र तिमीहरूलाई चाहिँ अनेकार्थी बहुवचन मानेका छन् । साथै तँका सम्बन्धमा उनले यसो भनेका छन् । “आफूभन्दा तल्लो तह जनाउँदा, ज्यादै आत्मीयता देखाउँदा, नराम्रो काम भएबापत ईश्वरलाई निन्दा गर्दा प्रायः तँ शब्दको प्रयोग हुन्छ ।” 

भट्टराईले यिनी, तिनी, उनीका साथै यी, तीलाई आदरार्थी र यिनीहरू, तिनीहरू र यी, तीलाई समेत अनेकार्थी मानेको देखिन्छ ।

अनिवार्य नेपाली शिक्षण निर्देशन/अनेशिनिमा आदरार्थीलाई सामाजिक तथा सांस्कृतिक पक्षसँग गाँसिएको विषय मानिएको छ । साथै यसमा आदरार्थीको केही विस्तारका साथ चर्चा भएको भेटिन्छ । वक्ता, श्रोता र विषयको संवादात्मक ढाँचाले आदरार्थी प्रभावित हुने र यसका लागि उमेर, लिङ्ग, नाता, जातजाति, वर्ग, अधिकार, सामाजिक स्तर, प्रसङ्ग (औपचारिक/ अनौपचारिक), प्रवृत्ति (रिस, अनुराग) जस्ता दस निर्धारक औँल्याइएको छ । अझ आदरार्थीका तहमा शिष्टता/अशिष्टता र निकटता/ दूरता पनि निर्णायक हुने उल्लेख पाइन्छ । यसरी अनेशिनिले आदरार्थीलाई विशेष महत्व दिई वर्णन गरेको बुझिन्छ । आदरार्थीमा कर्ता र क्रियापदको छनोटका साथै शब्द भण्डारमा पनि केही भिन्नता रहने देखाइएको छ । उच्च आदरार्थीमा एक वचनको क्रियापद र मध्यम आदरार्थीमा प्रायः बहुवचन क्रियापदको प्रयोग हुने र विध्यर्थमा कृदन्तीय क्रियाको प्रयोग हुँदा आदरार्थीका दृष्टिले वाक्यको सङ्गति निरपेक्ष (जस्तै; तिमी/तपाईं ले पढ्नू, जानू आदि) र कर्म र भाववाच्य क्रियापदमा सङ्गतिको तटस्थता रहने (जस्तै; भनियोस्, अब के गरिन्छ ?)  जस्ता प्रयोग देखिने कुरा पनि उल्लेख गरिएको पाइन्छ । अनेशिनिले आदरार्थीलाई आदरका दर्जाका  रूपमा पनि उल्लेख गरेको छ । यस क्रममा मौसुफलाई पहिलो, हजुरलाई दोस्रो, यहाँलाई तेस्रो (उच्च), तपाईंलाई चौथो (उत्तम), आफूलाई पाँचौँ (विशिष्ट), तिमीलाई छैटौँ (मध्यम) भनिएको छ र सातौँ दर्जालाई तँ (सामान्य) भनिएको पाइन्छ तर यस वर्गीकरणमा तँलाई सामान्य भनिनुको अभिप्राय स्पष्ट छैन । किनभने तँ कि त अनादरार्थी हुन्छ, कि त आत्मीयता दर्साउने स्थितिमा नाता सम्बन्धले साना ठानिएकाहरूका लागि आदर निरपेक्ष रूपमा यसको प्रयोग भएको भेटिन्छ ।

नेपाली व्याकरणका केही पक्षमा तीर्थराम झाले परम्परागत व्याकरणमा उल्लेख भए जस्तै बहु वचनलाई आदरार्थी र अनेकार्थी मानेका छन् । साथै उनले आदर रहितलाई सामान्यार्थी, मध्यम आदरलाई आदरार्थी र उच्च आदरलाई सम्मानार्थी भनेको पाइन्छ । रमा शर्माले आफ्नो लेखमा हजुरको प्रयोग तपाईंभन्दा माथिल्लो तहका लागि हुन्छ र समाजमा तपाईंभन्दा हजुरलाई शिष्ट मानिएको कुरा उल्लेख गरिएको छ ।

अनेशिनिलाई पछ्याउँदै समसामयिक नेपाली व्याकरणमा अधिकारीले आदरार्थीलाई श्रोता र अन्य सन्दर्भ भनी निम्नानुसार ६ तहमा राखेर यिनको चर्चा गरेका छन् ।

आदर रहित      तँ यो, त्यो, ऊ

मध्यम तिमी यिनी, तिनी, उनी, यिन, तिन, उन

उच्च तपाईं उहाँ

विशेष यहाँ, आफू

उच्चतर   हजुर

उच्चतम मौसुफ

साथै उल्लिखित आदरार्थीको प्रयोगमा लिङ्ग, वचन, प्रत्यक्षता र परोक्षताले पनि प्रभाव पार्ने कुरा उल्लेख गरिएको छ । नेपाली वाक्य व्याकरणमा माधवप्रसाद पोखरेलले आदरार्थीलाई चार तहमा राखेका छन् । उनले यसलाई दरबारी आदरार्थी, उच्च आदरार्थी, मध्यम आदरार्थी र निम्न आदरार्थीको उल्लेख गरेका छन् । दरबारी आदरार्थीमा हजुर र मौसुफ, उच्च आदरार्थीमा तपाईं र उहाँ, मध्यम आदरार्थीमा तिमी/उनी, तिनी र निम्न आदरार्थीमा तँ, ऊ÷त्यो लाई राखिएको छ । पोखरेलले भनेको निम्न आदरार्थीले आदरको निम्नता नजाउने हुँदा यसलाई त्यसमा नराखी आदर निरपेक्ष भन्नु उचित हुन्छ ।

शब्द रचना, वर्ण विन्यास, वाक्यतत्व र अभिव्यक्तिमा मोहनराज शर्माले आदरार्थीलाई उच्च, उच्चतर र उच्चतममा राखेका छन् र उच्च अन्तर्गत तिमी, यिनी, तिनी, उनीलाई उच्चतर अन्तर्गत तपाईं, उहाँ र उच्चतम वा सर्वोच्च भनी मौसुफलाई राखिएको छ भने तँ, यो, त्यो, ऊ लाई सामान्यार्थी भनिएको भेटिन्छ । यहाँ सामान्यार्थीलाई आदर नजनाउने अभिप्रायमा प्रयोग गरिएको देखिन्छ ।

आदरार्थी प्रयोगमा विविधता :  केही विवेचना

उल्लिखित चर्चाले आदरार्थीको वर्गीकरणमा विविधता देखिएको र यसका लागि प्रयोग गरिएका केही पारिभाषिक शब्दले व्याकरणका अध्येताहरूमा समेत अन्योल उब्जाएको छ । साथै व्याकरणमा आदरार्थीका तहमा विभिन्नता हुनुको कारण नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तन र सोको सामाजिक प्रभाव पनि मान्न सकिन्छ । राणाकालमा आदरार्थीका उच्च तहमा मौसुफ र हजुरको विशेष प्रयोग भएको र विसं. २००७ को परिवर्तनपछि तपाईंलाई उच्च आदरार्थीमा पहिलो पटक औपचारिक मानकका  रूपमा स्थापित गराएको हो । मौसुफको प्रयोग राजा र राज परिवारका लागि पञ्चायत कालमा र राजतन्त्र रहुन्जेलसम्म कायम रहेको थियो । यसका लागि विगतमा आदरार्थीका लागि चन्द्रिका, मध्य चन्द्रिकामा केही कृत्रिम व्यवस्था पनि थपिएको बुझिन्छ । जस्तै; 

मौसुफबाट नजर गरिबक्स्यो । (उहाँले हेर्नु भयो ।)

मौसुफ वा हजुरको प्रयोगमा मुख्य क्रियासँग बक्सनु क्रियापदको संयुक्तता र कर्तामा ‘ले’ विभक्तिको साटो ‘बाट’ विभक्ति राख्ने चलन बसेको कुरा उल्लिखित प्रयोगले दर्साएको छ ।

नेपालमा गणतन्त्र आएपछि चाहिँ मौसुफ र हजुर समेत अनौपचारिक सन्दर्भमा सीमित रहेको देखिन्छ । यसरी यसको प्रभाव नेपाली व्याकरणमा स्पष्टतः परेको बुझ्न सकिन्छ तर पछिल्ला कालखण्डमा पनि तपाईंको साटो हजुरलाई अनौपचारिक  रूपमा भए पनि शिष्टताको द्योतक मान्ने प्रवृत्ति व्यापक रहेको अनुभव गर्न सकिन्छ ।

द्वितीय पुरुषमा प्रयोग हुने तँ र तृतीय पुरुषमा प्रयोग हुने यो, त्यो, ऊ आदर निरपेक्ष रूपमा देखिन्छन् । किनभने यी सर्वनाम र यिनले सन्दर्भित नामहरूबाट कुनै किसिमको आदर जनाएको पाइँदैन । ‘तँ’ को आदरार्थी एक वचनमा तिमी, अनेकार्थी तथा प्रकारार्थी बहुवचनमा ‘तिमीहरू’ हुन्छ । त्यसैले ‘तँ’ को पनि बहुवचन ‘तिमीहरू’ नै हुन जान्छ । यस्तै यो, त्यो, ऊ को आदरार्थी एक वचनमा यिनी, तिनी, उनी र अनेकार्थी तथा प्रकारार्थी बहुवचनमा यिनीहरू, तिनीहरू, उनीहरूको प्रयोग हुन्छ । साथै यी, ती, यिन, तिन, उन चाहिँ सन्दर्भ अनुसार आदरार्थी एक वचन र अनेकार्थी तथा प्रकारार्थी बहुवचन दुवैमा प्रयोगमा आउँछन् ।

आदरार्थीलाई सामन्ती समाजको उपज मान्नेहरू पनि देखिन्छन् तर यसलाई सर्वनाममा अन्य भाषाहरू (जस्तै; अङ्ग्रेजी जस्तो व्याकरणात्मक दृष्टिले निरपेक्ष आदरार्थी हुने भाषाका आधारमा नेपालीमा दृष्टिकोण बनाउनु उचित हुँदैन । प्रत्येक भाषाका आआफ्ना अभिव्यक्तिका ढङ्ग हुन्छन् । यिनलाई नेपाली भाषामा शिष्टता, प्रतिष्ठा तथा आत्मीयता व्यक्त गर्ने युक्तिका रूपमा मानिनु आवश्यक छ । यिनलाई यही रूपमा हेरिनु श्रेयस्कर हुन्छ । हो, सर्वनामको उपयोग कतिपय स्थितिमा उचनीच देखाउन पनि गरिएको हुन्छ । यस दृष्टिले हेर्दा यसको केही दुरूपयोग भएको पनि देख्न सकिन्छ । यो कुरा त भाषाका प्रयोगकर्ताले सन्दर्भ अनुसार शिष्टताको ख्याल नगर्दा देखिन आउने विषय हो  । नेपाली भाषामा आदरार्थीलाई सामाजिक विभेद बढाउने दृष्टिले भन्दा सामाजिक शिष्टताको द्योतकका रूपमा हेरिनु उचित हुन्छ । यो हाम्रो भाषाको विशिष्ट पक्ष हो ।

तँ को प्रयोग दुई सन्दर्भमा भएको पाइन्छ : १) अनादर जनाउँदा । कसैलाई होच्याउने उद्देश्यले ‘तँ’ को प्रयोग भएको देखिन्छ । यस्तो प्रयोग कथित उच्च वर्गले निम्न वर्गका व्यक्तिका लागि गरेको हुन्छ । २) आदर निरपेक्ष रूपमा पनि तँ को प्रयोग हुन्छ । यस्तो प्रयोग अनौपचारिक सन्दर्भमा प्रायः आत्मीयता दर्साउन घर, परिवार, आपूmभन्दा कम उमेरका नाता सम्बन्धमा वा साथीहरूका बिचमा पनि हुने गरेको भेटिन्छ । जस्तै;

तँ कहिले आउँछस् ?, श्याम, तँ राम्ररी पढ् । अनि मात्र टिप्पणी गर् ।

तँ को प्रयोग औपचारिक सन्दर्भमा गरिँदैन । अनौपचारिक सन्दर्भमा मात्र यसको प्रयोग भेटिन्छ ।

आदर निरपेक्ष दृष्टिले तँ, यो/त्यो र ऊको समस्तरता देखिन्छ । जस्तै:

तँ कहिले आउँछस् । यो /त्यो /ऊ कहिले आउँछ ?

तँैले कविता राम्ररी पढिस् । त्यसले /यसले/ उसले कविता राम्ररी पढ्यो ।

यसरी तँ, यो/ त्यो र ऊ को समानान्तर प्रयोग भएको पाइन्छ । यसमा तहको उचनीच देखिँदैन । यिनमध्ये तँ मा प्रत्यक्षता र यो/त्यो र ऊ मा अप्रत्यक्षता जनिनु द्वितीय पुरुषगत (श्रोतागत) र तृतीय पुरुषगत (विषयगत) भिन्नताले मात्र हो । आदर निरपेक्ष जनाउने तँ कै समानान्तर रहेका यो/त्यो र ऊ सर्वनामको प्रयोग यही हैसियतमा नियम, कानुनका दफाहरूमा प्रयोग भएको भेटिन्छ । जस्तै; समितिको प्रमुखले बैठकको अध्यक्षता गर्ने छ । उसले समितिको काम कारबाहीको जिम्मेवारी लिने छ ।

भाषा सामाजिक रीतिस्थितिको संवाहक पनि हो । आदरार्थी वक्ता र श्रोताको आपसी सम्बन्ध झल्काउने युक्ति भएकाले यसले भाषालाई सूचनाको वाहक मात्र ठान्दैन । सम्प्रेषणमा संलग्न व्यक्तिको अवस्थितिलाई पनि ख्याल गरेर भाषाको प्रयोग गर्नुपर्ने कुराप्रति पनि यसले सजग गराउँछ । 

यसो भएमा सम्प्रेषण अझ प्रभावकारी हुन जान्छ ।  भाषा केवल सूचनाको वाहक होइन, यो व्यक्तिका भावनाको पनि वाहक हो । भाषामा आदरार्थीको विकास यही भावनागत सूक्ष्मतालाई अभिव्यक्त गर्ने उद्देश्यले भएको देखिन्छ । यद्यपि प्रत्येक भाषामा यस्तो सूक्ष्म भाव व्यक्त गर्ने ढङ्ग धेरथोर फरक हुन्छ । त्यो खास भाषिक समुदायले निर्धारण गरे अनुसार नै हुन्छ । 

आदरार्थीको प्रयोगमा केही थप कुरा

आदरार्थीको प्रयोग विभिन्न कारक तत्वबाट प्रभावित भएको पाइन्छ । व्यक्तिको सामाजिक स्तर, सामाजिक पारिवारिक सम्बन्ध, औपचारिक र अनौपचारिक सन्दर्भ, आत्मीयता, शिष्टता, परिचित र अपरिचित सन्दर्भ, वर्गीयता र सामाजिक मर्यादा, असामाजिक गतिविधिले पनि फरक पार्छ । साहित्यिक संवादमा पात्र र भाव अनुसार पनि आदरार्थीको छनोट हुन सक्छ । यसमा व्यङ्ग्यात्मक सन्दर्भमा वा अन्य स्थितिमा आदरार्थीको प्रयोगमा विचलन हुने सम्भावना रहन्छ । आदरार्थी प्रयोगलाई प्रत्यक्ष र अप्रत्यक्ष सन्दर्भले पनि प्रभाव पारेको देखिन्छ । ऐतिहासिक व्यक्तित्वहरूको वर्णनमा उहाँ स्तरको आदरार्थीको साटो उनी, तिनी स्तरको आदरार्थीको प्रयोग हुनु यसैको उदाहरण हो । यस्तै सामाजिक दृष्टिले प्रतिष्ठित व्यक्तिहरूलाई सम्मुखमा तपाईं, यहाँ, उहाँको प्रयोग गरिए पनि अप्रत्यक्षमा उनी, तिनी स्तरको आदरार्थी प्रयोग गर्ने प्रचलन रहेको पाइन्छ । साहित्यिक समालोचना वा अन्य विषयको व्यक्तिपरक वर्णन, विवेचनमा मध्यम आदरको प्रयोग गर्ने प्रवृत्ति देखिएको छ तर सञ्चार माध्यममा भने आदरार्थी प्रयोगमा अनेकरूपताले प्रयोक्ताहरूको सहजतालाई समेट्न नसकेको देखा पर्छ । विशेष गरेर प्रतिष्ठित व्यक्तिहरूका गतिविधिको वर्णनमा एउटै व्यक्तिलाई सभा समारोहमा तपाईं, उहाँ स्तरको आदरार्थी प्रयोग गरिने र रेडियो, टेलिभिजनमा सोही गतिविधिको वर्णनमा भने मध्यम आदर (तिनी, उनी÷तिन, उन) स्तरको प्रयोग देखिँदा असहजता तथा कृत्रिमता देखिएको छ । 

शैक्षिक क्षेत्रमा बालबालिकाका किताबमा आदरार्थी प्रयोगमा शिक्षण कार्यकलापको सहजता, आत्मीयता र केही हदसम्म अनौपचारिकताको अभ्यास हुँदै आएको देखिन्छ । साना नानीहरूका किताबमा पढ, भन, हेर, लेख, सुन, गर, आऊ, जाऊ, बनाऊ, देखाऊ जस्ता सहज आत्मीयता बढाउने छोटा र सरल निर्देशनको साटो उच्च आदरार्थीको बोझिलो निर्देशन हाम्रो सहज भाषिक प्रयोगका दृष्टिले असहज देखिएको छ । 

एकातिर सञ्चार माध्यमहरू आदरार्थीको तह घटाउन उद्यत देखिनु र अर्कातिर सरकारी पाठ्यपुस्तकहरूमा बालबालिकाका लागि कृत्रिम हुने खालको उच्च आदरको बोझ थप्न खोज्नु तर्क सङ्गत देखिँदैन । यस विषयमा भाषा प्रयोगबारे सम्बन्धित पक्षले संवेदनशील हुनु आवश्यक छ । यसरी आदरार्थी प्रयोगमा असहज हुने गरी बालबालिकाका पुस्तकमा कतै अनावश्यक उदारता र कतै अनावश्यक अनुदारता (प्रतिष्ठित व्यक्तिहरूलाई मध्यम स्तरको आदरार्थी प्रयोग गर्ने केही सञ्चार माध्यममा देखिएको प्रवृत्ति) ले नेपाली भाषाको सहज प्रयोगलाई बिथोलेको देखिएको छ । 

Author

हेमाङ्ग राज अधिकारी