• २० मङ्सिर २०८२, शनिबार

गोरखामा २८ जना कुपोषित बालबालिका भेटिए

blog

गुणबहादुर रोका 
सुलीकोट, मङ्सिर २० गते ।
गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा स्थानीय तहमा नियमित स्वास्थ्य परीक्षण गर्दा २८ जना बालबालिकामा कुपोषणको समस्या भेटिएको हो ।

कुपोषित २८ जनामध्ये ६ जनामा अति कुपोषित र २२ जना मध्यम खालको कुपोषण देखिएको छ, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका पोषण शाखाका फोकल पर्सन नबराज खड्काले बताउनुभयो । उहाँले गोरखामा कुपोषण वर्षेपिच्छे घट्दै गएता पनि निर्मुल हुन नसकेको जानकारी दिनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७३ जनामा कुपोषण भेटिएकोमा २६ जनामा कडा खाले र ४७ जनामा मध्यम खालको कुपोषित देखिएको थियो । आर्थिक बर्ष २०८१/०८२ मा यो सङ्ख्या घटेर ४१ जनामा कुपोषित मध्ये ३ जनामा कडा र ३८ जनामा मध्यम खाले कुपोषण देखिएको थियो  ।

यस वर्षको चार महिनाको तथ्याङका हेर्दा २८ जना पुग्नुमा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले गोरखाका सबै पालिकाका प्रत्योक वडामा अभिभावकलाई घरमै तयार गर्न सकिने सन्तुलित आहार, नियमित तौल मापन तथा आवश्यक खोपका बारेमा सचेतना गराईएपछि  कुपोषणको सङ्ख्या न्यून हुँदै गएको जनस्वास्थ्य अधिकृत खड्काको भनाइ छ ।

‘‘कुपोषित हुनबाट जोगाउन लागि सरकारले लगानी गरेको छ,’’ जनस्वास्थ्य अधिकृत खड्काले भन्नुभयो, ‘‘गर्भवती, सुत्केरी र उनीहरुको स्याहार सुसार गर्नेहरुमा चेतना वृद्धि भई बालबच्चामा तत्काल उपचार गरी पोषणयुक्त खानेकुराले पनि कुपोषणको दर घट्दै गएको छ ।’’

कुपोषणको अवस्था प्रत्योक वर्ष सुधारन्मुख भए पनि सन्तोषजनक मान्न सकिँदैन । जङ्गफुडको उपभोग अत्यधिक मात्रामा बढिरहेकाले अघिल्लो वर्षभन्दा अहिले नबढ्ना भन्न पनि नसकिने उहाँको भनाइ छ ।

कुपोषणको रोकथाममा परिवारको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको भन्दै सन्तुलित आहार, सरसफाई, स्वच्छ पानी र नियमित परीक्षणमा ध्यान दिन आग्रह गर्दै समयमै उपचार र उचित पोषण उपलब्ध गराएमा कुपोषण भएका अधिकांश बालबालिका पूर्ण रुपमा स्वास्थ्य हुने प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।