• २० मङ्सिर २०८२, शनिबार

स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट मोबाइल

blog

सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई एन्ड्रोइड स्मार्ट फोन हस्तान्तरण । तस्बिर : पुरुषोत्तम सुबेदी

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, मङ्सिर २० गते ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरको स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन र सूचना प्रवाहलाई सहज तुल्याउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई एन्ड्रोइड स्मार्ट फोन हस्तान्तरण गरेको छ ।

बिरामी, स्वास्थ्य स्वयंसेविका र नगरपालिकाबिचको सम्पर्कलाई छिटो र प्रभावकारी बनाउनका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई यो मोबाइल हस्तान्तरण गरेको हो । नगरको स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण ४४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्टफोन हस्तान्तरण गरिएको हो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरको स्वास्थ्य क्षेत्रमा खटिने स्वयंसेविकाहरूको कार्यसम्पादनमा सहजता होस्, भन्ने उद्देश्यले नगरपालिकाले सबैलाई स्मार्ट फोन हस्तान्तरण गरेको बताउनुभयो ।

“महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले नगरका हरेक टोल र बस्तीमा पुगेर स्वास्थ्य सेवाको जग बसाल्नुभएको छ,’’ प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले, “उहाँहरूको कामलाई अझै प्रभावकारी बनाउन र सूचना तथा सञ्चारलाई द्रुत गतिमा प्रवाह गर्न यो प्रविधिको सहयोग अपरिहार्य छ ।’’

नगर प्रमुख श्रेष्ठले स्वयंसेविकाहरूको महत्त्वपूर्ण योगदानको कदर गर्दै उनीहरूको सेवानिवृत्ति सम्बन्धमा ६० वर्ष पुगेपछि सेवानिवृत्त हुँदा प्रदेश सरकारले प्रदान गर्ने ५० हजुर रुपियाँमा बर्दघाट नगरपालिकाले थप दुई लाख ५० हजुर रुपियाँ (दुई लाख पचास हजार) थपेर जम्मा तीन लाख दिने नीति अघि सारेको जानकारी दिनुभयो ।

स्वयंसेविकाहरूले बालबालिकाहरूको खोप, भिटामिन ‘ए’, परिवार नियोजन, सरुवा रोग रोकथाम, सरसफाई, पोषण लगायतका स्वास्थ्यका क्षेत्रमा केन्द्रित रहेर काम गरिरहेको स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत ईश्वरी प्रसाद न्यौपानेले बताउनुभयो ।

बर्दघाट नगरभित्र चिसापानीमा रहेको बर्दघाट नगर अस्पताल र चौपत्तामा रहेको शहिद स्मृती सामुदायिक अस्पताल सहित ४ वटा वर्थीङ्ग सेन्टर, ४ वटा स्वास्थ्य चौकी, १२ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरू, १३ वटा गाउँघर क्लिनीक र २६ वटा खोप केन्द्रहरू रहेका छन् ।