• २० मङ्सिर २०८२, शनिबार

हेटौँडामा अध्याँरोमा नै चल्न थाल्यो बुल्डोजर

बजार क्षेत्रका घर टहरा भत्काएर सडक चौडा गर्न सुरु

blog

हेटौँडा बजार क्षेत्रका घर डोजर लगाएर भत्काउँदै सडक डिभिजन हेटौँडा । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, मङ्सिर २० गते ।
हेटौँडाको मुख्य बजार क्षेत्रमा शनिबार बिहान अध्याँरोबाटै घर भत्काउन थालेको छ । सडक डिभिजन हेटौँडाले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर हेटौँडाको मुख्य बजार क्षेत्रका सडक दायाँबायाँका घर टहरालगायतका संरचना भत्काउन थालेको हो ।

सडक डिभिजनले बजार क्षेत्रका एक दर्जन बढी स्थानमा बुल्डोजर चलाएको छ ।

सडक डिभिजनले यही मङ्सिर ५ गते त्रिभुवन राजपथको रातोमाटेदेखि सामरी पुल र महेन्द्र राजमार्गको बुद्धचोक हुँदै राप्ती पुलसम्म सडक सीमा २५÷२५ गज विस्तारका लागि सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने सूचना जारी गरेको थियो ।

उक्त सूचना जारी भएपछि पनि स्थानीयले मुआब्जा र क्षतिपूर्ति दिने पर्ने माग गर्दै घरटहरा भत्काउन अस्वीकार गरेपछि सडक डिभिजनले डोजर चलाएको छ । शुक्रबार साँझसमेत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बजार क्षेत्रमा परिचालन गरिएको थियो ।

यसअघि सर्वोच्च अदालतले हेटौँडाको सडक विस्तारको सूचना कार्यान्वयन नगर्न शुक्रबार आदेश दिएको छ ।

हेटौँडा बजार क्षेत्रको सडक विस्तार योजनालाई लिएर उत्प्रेषणको रिट दायर भएपछि सर्वोच्च अदालतले सडक विस्तार कार्यमा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेशमार्फत संरचना नहटाउन आदेश दिए पनि केही घरमा डोजर लगाएर भत्काइएको छ ।

हेटौँडा बजार क्षेत्रका बासिन्दासमेत यसअघि व्यवसाय बन्द गराएर दैनिक आन्दोलनमा उत्रिएका थिए ।