जलवायु परिवर्तन वर्तमान विश्वको सबैभन्दा ठुलो चुनौती भएको छ । पृथ्वीको तापमान निरन्तर बढ्दो क्रमले अनेक प्रभाव देखाउँदै छ । भीषण वर्षाले अघिल्लो महिना मात्र राजधानी काठमाडौँलगायतका जिल्लामा परेको प्रभाव ताजै छ । कहिल्यै नडुब्ने भूभाग डुबानमा परे । काठमाडौँ उपत्यकालाई जोड्ने सबै जसो राजमार्ग बाढीपहिरोको चपेटामा परे । साबिकमा मनसुन सकिने बेलाको ठुलो वर्षा र त्यसको प्रभावले धनजनको व्यापक क्षति भयो । अझ ताजा उदाहरण त तिहारकै बेलाको बर्सात हो । विगतमा तिहारताका बर्सात भएको बिरलै अनुभव थियो तर कतिपय ठाउँमा पाकेको धानबाली क्षति यही बेला भयो । खेतमा पाँजा लगाएको धान त काम लागेन, परालसम्म पनि उठाउन नपाउने गरी खण्डवृष्टिको प्रहारले किसानको सपना चकनाचुर बनायो । अब जलवायु परिवर्तनले ल्याउने असर कुनै एक क्षेत्रमा मात्र सीमित देखिएन
जलवायु असर धेरैतिर फैलँदो छ । यो फैलावटमा मानव जीवनका अवयवसँगै अनेक जीवजन्तु पनि परिरहेका छन् । एउटा अध्ययनले आगामी दिनमा चितवनका गैँडामा जलवायु परिवर्तनको असर व्यापक देखाउनु थपिँदो चुनौती हो । जलवायु परिवर्तनले अतिवृष्टि गराउँछ नै साथसाथै लामो खडेरी प्रभावसमेत पर्ने छ । जङ्गली जीवजन्तु जैविक विविधताको अनुकूलनमा रमाएका हुन्छन् । हरेक जीवजन्तुको आआफ्नै खालको वासस्थान हुन्छ । त्यो वासस्थान युगौँदेखि कायम रहेको जैविक विविधताको निरन्तरताले जोगाएको छ । ऋतुचक्र प्राकृतिक देन हो । त्यही ऋतुचक्र अनुसार जीवजन्तुको आहार व्यवस्थापन हुन्छ । गर्भधारणदेखि पुस्तान्तरण भई जीवको निरन्तरता भइरहेको हुन्छ । नेपालको जैविक विविधताभित्रको अनुकूलताले साइबेरियालगायतका जाडो भूभागबाट बच्चा कोरल्न कतिपय चरा आइरहेको सुन्दर यथार्थ अब जोखिममा छ ।
चितवनको जङ्गल त अनेक जीवजन्तुका निम्ति अनुकूल भूस्वर्ग नै मानिन्छ । त्यसैले पनि नेपालले यसलाई चितवन राष्ट्रिय निकुञ्जका रूपमा संस्थागत गरेको छ । विश्व सम्पदाकै तवरले संरक्षित गरेको छ । यहाँ पाइने गैँडा त विश्वमै दुर्लभ प्रजातिमा पर्छ । अब अनावृष्टि र अतिवृष्टिका कारण आगामी दिनमा गैँडा जोगाउन चुनौती थपिएको छ । जलवायु परिवर्तनले हुने अतिवृष्टि र अनावृष्टिका कारण जैविक विविधतामा प्रभाव पर्दा प्रत्यक्ष असर गैँडामा पर्ने अध्ययनले देखाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार जलवायु परिवर्तनको असरले आगामी ५० वर्षभित्र गैँडाको वासस्थान खुम्चिन सक्ने छ । जलवायु परिवर्तनको प्रभावले गैँडामा पर्ने असरबारे विद्यावारिधि गर्नुभएका पन्तको अध्ययन निष्कर्ष गम्भीर देखिन्छ ।
अध्ययन अनुसार देशको कुल भूभागको दुई प्रतिशत मात्रै अहिले नेपालमा गैँडाका निम्ति योग्य वासस्थान छ । बढी बर्सातले आउने बाढीले गैँडाको चरणसँगै वासस्थान खुम्च्याउने छ । त्यसै गरी अनावृष्टिले पनि चरण तथा वासस्थानलाई नै प्रतिकूल असर पार्ने छ । त्यसैले गैँडाको मौजुदा वासस्थानलाई आगामी ५० वर्षपछि ३० प्रतिशतभन्दा बढी खुम्चिन सक्ने निष्कर्ष हो । ठुलो वर्षासँगैको बाढीको प्रतिकूल प्रभाव त यताका वर्षमा गैँडाले भोग्दै छन् । पछिल्लो उदाहरण केही वर्षअघिको हो । विसं २०७४ साउन २८ गते नारायणी नदीमा आएको बाढीले १३ वटा गैँडा बगाएर भारतीय क्षेत्रमा पु¥याएको थियो । गैँडा नै बगाउनु सानो परिघटना थिएन । बगाएका गैँडामध्ये नौ वटाको उद्धार गरी नेपाललै ल्याइयो । चार वटा नेपालतर्फ त्रिवेणीमा फर्केका बेला उद्धार गरेर ल्याइएको थियो । उद्धारै गर्न नसकिने गरी गैँडा बगाउने बाढी आउने जोखिम आगामी दिन जलवायु असरले ल्याउन सक्ने छ ।
पहाडी भूगाग अनेक तवरले कमजोर हुँदै छ । खास गरी डोजरले सडक निर्माण गरेपछि माटो कमजोर हुन्छ । वर्षा हुनासाथ त्यो लेदो बन्दै नदीमा पुगेर बाढीको चपेटालाई बढाइदिन्छ । त्यसले गैँडाको वासस्थानका घाँसे मैदानलाई बगरमा परिणत गर्छ । गैँडाको चरण क्षेत्र खुम्चिन्छ । निकुञ्जभित्र अनेक ससाना पोखरी छन् । लामो खडेरीले त्यस्ता पोखरी सुक्दा गैँडाले समयमा तिर्खा लाग्दा पानी पिउन पाउँदैनन् । अतिवृष्टि तथा अनावृष्टि जलवायु परिवर्तनकै असरले विश्वभर देखिँदै छ । नेपालको संरक्षण क्षेत्रले पनि यो असर भोग्ने जोखिम बढ्दो छ । गैँडामा मात्र होइन, निकुञ्जका अनेक जीवजन्तुले जलवायु परिवर्तनका असर भोग्दै जाने जोखिम छ । जलवायु परिवर्तनको असरको आयतन बढ्दो छ । त्यसलाई न्यूनीकरण गर्न त्यसै अनुसार नीति, योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनु पर्छ । त्यसमा आवश्यक बाह्य सहयोगसमेत जुटाउनु वाञ्छनीय छ ।