• २७ मंसिर २०८१, बिहिबार

विश्वकप लिग-२ : स्कटल्याण्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

blog

टसमा सहभागी कप्तान । तस्बिर : क्यान

काठमाडौँ, कात्तिक १९ गते। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुमा ब्याटिङ गर्दैछ । 

अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान स्कटल्याण्डले टस जितेर सुरुमा नेपाललाई ब्याटिङको निम्तो दिएको हो । आजको खेलमा नेपाली टिमका तीव्र गतिका बलर करण केसी मैदान बाहिर छन् । स्कटल्याण्डविरुद्धको प्लेइङ-११ मा कप्तान रोहित पौडेल, अनिल शाह, आशिफ र आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी र रिजन ढकाल हुनुहुन्छ । वर्षाले खेल केही समय ढिलागरी सुरु भए लगत्तै पुन रोकिएको छ । 

अमेरिका भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गतका चार खेलमध्ये दुई खेल गुमाइसकेको छ। अमेरिकासँगको पहिलो खेल तीन विकेटले हारेको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको हो। 



सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि पाँच विकेटको जित निकालेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा छ। 

विश्वकप लिग-२ अन्तर्गत अमेरिका १२ खेल खेल्दै १६ अङ्कसहित पहिलो स्थानमा छ। १० खेल खेलेको स्कटल्यान्ड १३ अङ्कसहित तेस्रो स्थानमा छ भने ११ खेल खेलेको नेपाल ५ अङ्कसहित सातौं स्थानमा छ। 

१२ खेल खेलेको क्यानडाको १६ अङ्क भए पनि रनरेटको आधारमा दोस्रो स्थानमा छ। ८ खेल खेलेको नेदरल्याण्ड १२ अङ्कसहित चौथो स्थानमा छ भने १२ खेल खेलेको नामिबिया १० अङ्कसहित पाँचौं स्थानमा छ। ओमान ८ अङ्कसहित छैटौं स्थानमा हुँदा यूएई ४ अङ्कसहित तालिकाको पुछारमा छ। 

नेपालले सात वटा एक दिवसीय खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गरेको छ। जसमध्ये नेपालले चार जित निकाल्दा स्कटल्याण्डले तीन जित आफ्नो पक्षमा पारेको छ।