काठमाडौँ, फागुन १४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्ने क्रममा स्थानीय तहका जनप्रतिनिधिले पनि प्रत्यक्ष रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी निर्वाचन प्रचारप्रसारमा लागेको पाइएको छ ।
निर्वाचन आचारसंहिताले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा संलग्न हुन बन्देज गरेको छ तर कतिपय स्थानीय तहका कार्यपालिका सदस्य, वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख नै उम्मेदवारका लागि मत माग्दै हिँडेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिले प्रत्यक्ष रूपमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन पाइँदैन ।
निर्वाचन आचारसंहितामा स्थानीय कार्यापालिका, सोका सदस्य र सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आचारसंहिता लाग्ने उल्लेख गरिएको छ । आचारसंहिताको परिच्छेद ३ ‘क’ को ४ नं. बुँदामा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारका काममा संलग्न हुन सक्ने छन् भन्ने उल्लेख गरिएको छ । त्यसरी निर्वाचनको प्रचारप्रसार गर्दा सरकारी स्रोतसाधनको प्रयोग गर्न नहुने उल्लेख गरिएको छ तर कतिपय स्थानीय तहका जनप्रतिनिधिले आफू बहाल रहेकै स्थानीय तहभित्र निर्वाचन प्रचारप्रसारमा सक्रिय भएको पाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ ।
इन्सेकका निर्देशक मदन पौडलेले इन्सेकको भूमिका निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्ने विषयको पर्यवेक्षणसमेत गर्नुपर्ने भएकाले ७७ वटै जिल्लामा जिल्ला प्रतिनिधिले गरेको अनुगमनका आधारमा स्थानीय तहका जनप्रतिनिधिले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आचारसंहिता उल्लङ्घन भएको विषय आमनागरिकलाई जानकारी होस् भनेर इन्सेकले प्रेस विज्ञप्तिमार्फत आमनागरिकलाई जानकारी गराउँदै आएको छ । अन्तिममा निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगलाई पनि प्रतिवेदन दिन्छौँ ।”
स्थानीय तहका जनप्रतिनिधि निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टीलगायत पार्टीबाट निर्वाचित जनप्रतिनिधि रहेको इन्सेकले जनाएको छ । आचारसंहिता उल्लङ्घनमा मिथ्या सूचनाको प्रयोग, सरकारी सवारीसाधनको प्रयोग, टिसर्टको वितरण, ठुला झन्डाको प्रयोग, धम्कीपूर्ण व्यवहार, प्रचारमा अवरोध, बालबालिकाको प्रयोग, विश्वविद्यालय र विद्यालयमा कार्यक्रम, निषेधित क्षेत्रमा जुलुस, शिलान्यास, व्यक्तिगत चरित्र हत्या तथा लाञ्छनायुक्त अभिव्यक्तिलगायतका क्रियाकलाप स्थानीय तहका जनप्रतिनिधिले गर्दै आएका छन् । इन्सेकका अनुसार जनप्रतिनिधि निर्वाचन आचारसंहिता उल्लङ्घन गरी चुनावी प्रचारप्रसारमा लाग्नेमा सबैभन्दा बढी मधेश प्रदेशका स्थानीय जनप्रतिनिधि छन् ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका जनप्रतिनिधिबाट आचारसंहिता उल्लङ्घन भयो भनेर आयोगमा उजुरी आउने क्रम बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “कति सङ्ख्यामा उजुरी आएका छन् भन्ने यकिन तथ्याङ्क भने निकाल्न बाँकी छ तर उजुरी भने आएका छन् ।” उहाँका अनुसार आचारसंहिता उल्लङ्घनको अनुगमन गर्न उच्चस्तरीय समिति निर्माण गरिएको छ । समितिले आचारसंहिता उल्लङ्घन गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्छ । आयोगले स्पष्टीकरण सोध्दा पनि पटक पटक निर्वाचन प्रचारप्रसारमा लागि नै रहे पुनः अयोगले स्पष्टीकरण सोध्छ, जरिबाना तोक्छ र त्यसपछि पनि नमाने प्रहरी लगाएर प्रचारप्रसारमा रोक्न सक्ने उहाँले स्पष्ट पार्नुभयो । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै काम नगर्न र आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबैमा आग्रह गर्दै आएको छ ।
आचारसंहिता पालना गरेका छौँ : जनप्रतिनिधि
स्थानीय तहका जनप्रतिनिधिले भने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्थानीय तहका जनप्रतिनिधिले आचारसंहिता पालना गरेको दाबी गरेका छन् । नेपाल नगरपालिका सङ्घका महासचिव एवं दाङको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले स्थानीय तहका जनप्रतिनिधिले पूर्ण रूपमा निर्वाचन आचारसंहिता पालना गरिएको दाबी गर्नुभयो । “स्थानीय तहका जनप्रतिनिधि आफू निर्वाचित भएको स्थानीय तहभन्दा बाहिरका भूगोलमा मात्र गएर निर्वाचनको प्रचारप्रसारमा लागेका छन् । आफ्नै स्थानीय तहमा निर्वाचन प्रचारप्रसारमा लागेका छैनन्,” उहाँले भन्नुभयो । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन आचारसंहिता पालना गरेको दाबी गर्नुभयो । स्थानीय तहका जनप्रतिनिधि निर्वाचन आचारसंहिता पालना गर्न तयार रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।