• ७ वैशाख २०८१, शुक्रबार

दीपाको कविता सङ्ग्रह सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २ गते । दीपा राई पुनको कविता सङ्ग्रह ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’ सार्वजनिक भएको छ । कवि तुलसी दिवस, विमला राई,  खगेन्द्र लुइँटेल, प्रगति राई,  स्वयं दीपा राई पुन र विप्लव प्रतीकले कविताकृतिको लोकार्पण गर्नुभयो । 

‘मलाई दीपाका कविता पढ्दा ईष्र्या महसुस भएको छ, उनका बान्की परेका कविता पढ्दा,’ कवि तुलसी दिवसले सङ्ग्रहबारे बोल्दा भन्नुभयो । उहाँको विनीत वाणी त्यतिखेर पराकाष्टामा पुग्यो जब उहाँले भन्नुभयो, “मलाई यो सङ्ग्रह मन परेको छ, अरूलाई मन नपर्ने त कुरै हुँदैन ।

” सङ्ग्रहको प्रकाशक ‘वी रिड’ का तर्फबाट सुनीति अमात्यले आफ्नो प्रकाशन संस्था कथालयबाट बालबालिकाका लागि पुस्तक प्रकाशन गर्ने मात्र नभई वी रिडमार्फत नेपाली वाङ्मयका अन्य विधामा पनि पुस्तक प्रकाशन गर्ने कुरा बताउनुभयो । उहाँले भन्नुभयो, “दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू त्यसैको उदाहरण हो । सम्भवतः यो काव्य सङ्ग्रह नेपाली वाङ्मयमा रुचिपूर्वक पढिनेछ ।”नेपाली वाङ्मयलाई गम्भीर रूपले अध्ययन गर्नुभएकी समालोचक लीला लुइँटेलका सारगर्वित भनाइपछि कवि दीपा राई पुनले आफ्ना छवटा कविता वाचन गर्नुभएको थियो ।