• १० मंसिर २०८१, सोमबार

मछुवाराहरू वैकल्पिक पेसातर्फ उन्मुख

blog

जल, जङ्गल परियोजना अन्तर्गत मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले खरी र बाबियोका स्थानीय उत्पादनलाई बजारीकरण गर्न आयोजित कार्यक्रममा सहभागी ।तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, कात्तिक १५ गते  । नदी तथा खोलामा प्रशस्त माछा पाइने समयमा माछा मारेर जीविकोपार्जन गर्ने समुदायले अहिले माछा पाइन छाडेपछि पेसा नै परिवर्तन गर्न थालेका छन् । 

दाङको गढवा गाउँपालिका–७, सेम्री निवासी सिउकुमारी चौधरीको दिनचर्या कुनै समय माछा मारेर बित्थ्यो । अहिले सिउकुमारीले आयआर्जनका लागि हस्तकलाका सामग्री बनाउने काममा व्यावसायिक रूपमा लाग्नुभएको छ । नदी तथा खोलामा माछाको सङ्ख्या घट्दै गएको छ । माछा मार्ने कार्य रोकेर माछा मार्ने समुदायलाई संरक्षण गर्न मछुवारा समूह नाम दिएर वैकल्पिक पेसातर्फ उन्मुख गराउने काममा स्थानीय सङ्घ संस्थाले पनि पहल थालेका छन् । 

माछा मारेर जीविकोपार्जन गर्न गाह्रो परेपछि त्यही नदी किनार तथा बगरमा उम्रिने खर र बाबियो सामग्री बनाएर आयआर्जन गर्ने उहाँको योजना छ । शिव कुमारीले भन्नुभयो, “बगरमा, नदी किनारमा खर पाइन्छ, त्यही खरबाट सामान बनाउन जानेको छु अब यही सामान बनाएर बिक्री गर्ने र आम्दानी गर्ने हो ।” सिउकुमारी जस्तै माछा मारेर जीविकोपार्जन गर्ने महिलाहरू अहिले खोला किनार तथा बगरमा उम्रिने खर र बाबियो प्रयोग गरेर हस्तकलाका सामग्री बनाउन थालेका छन् ।

जल, जङ्गल परियोजना अन्तर्गत मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले जलीय जैविक विविधताको संरक्षण गर्ने र समुदायका नागरिकको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले हस्तकलाका सामग्री उत्पादनमा मछुवारा समूहका सदस्यलाई जोडेको छ । उद्यमी महिलाले ढकिया, पेन होल्डर, हटकेस, फूलदानी बनाउँदै आएका छन् ।

उद्यमी श्रीकुमारी चौधरीले भन्नुभयो, “गृहिणी महिलाले हातमा सिप भएपछि खाली समयमा उद्यममा जोडिन सहज भयो ।” थारू समुदायका महिला बढी नदी, खोलामा आश्रित हुनुपर्ने, माछा मार्ने काममा बढी संलग्न गरेकोमा अब त्यो समय हस्तकलाका सामग्री बनाउनमा लगाउँदा राम्रो आम्दानी गर्न सक्ने श्रीकुमारीको विश्वास छ । 

स्थानीय उत्पादनका सामग्रीको बिक्रीवितरण र बजारीकरणका लागि पनि पहल सुरु भएको छ । उद्योगी व्यवसायीसँग बजारीकरणका बारेमा छलफल गरिएको छ । गढवा उद्योग वाणिज्य सङ्घमा आबद्ध उद्योगी, व्यवसायीसँग बजारीकरणको योजना निर्माण गरिएको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका कार्यकारी निर्देशक प्रदीप मजगैयाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समुदायले उत्पादन गरेका स्थानीय उत्पादनका सामग्रीको बिक्रीवितरणका लागि स्थानीय व्यापारीसँग छलफल गरिएको छ, यो छलफलले बजारीकरणको राम्रा अभ्यास पहिल्याउन सहयोग गर्ने विश्वास छ ।” 

बजारीकरणका लागि सबै निकाय तथा तहको पहल आवश्यक देखिएको छ । गढवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश बस्यालले स्थानीय उत्पादनका सामग्रीको प्रवर्धन, बजारीकरण गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक उत्पादन बढाउन जरुरी छ । त्यो उत्पादनको प्रचारप्रसार, महìवका बारेमा जानकारी दिने र दैनिक उपयोगका लागि प्रेरित गर्न जरुरी छ, बजारसँग जोड्न हाम्रो तर्फबाट पहल लिन्छौँ ।”