काठमाडौँ, कात्तिक १८ गते । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो तिहार । तिहारमा सेलरोटी विभिन्न प्रकारका रोटी र मिठाइका लागि प्रचलित छ ।
यो पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै टीका लगाउनुका साथै विभिन्न परिकार खुवाउने प्रचलन छ ।
तिहारमा दाजुभाइलाई बजारमा पाइने रङ्गीबिरङ्गी मिठाइ खुवाउनुका साटो घरमा पकाएर रोटी र भाइ मसला दिन चिकित्सकको सुझाव छ ।
भाइ मसलामा दिइने काजु, किसमिस, बदाम, ओखर जस्ता ड्राई फ्रूट लामो समयसम्म राखेर थोरै थोरै गरेर पनि खान सकिन्छ ।
आयुर्वेदविज्ञ वरिष्ठ कल्सटेन्ट डा.सवरी साह भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइ मसलाका रूपमा ओखर, काजु, किसमिस, बदाम, चकलेट, सुपारी, नरिवल, मखन, काजु लगायतका ड्राई फ्रूट पोषणले भरिपूर्ण हुने बताउनुहुन्छ ।
सुख्खा बदाम, नरिवल, किसमिस, पेस्ता, सुख्खा नरिवल, ओखरमा शरीरमा आवश्यक पर्ने पोषण तत्त्व पाइने डा.साहको भनाइ छ । ड्राई फ्रूटले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरका साथै मस्तिष्कलाई फाइदा पुग्छ ।
उहाँ बताउनुहुन्छ, “खाँदा पनि निकै स्वादिष्ट हुने यस्ता मसलाहरूको प्रयोगले शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुग्नुका साथै रोग निरोधक क्षमता बढाउन मद्दत गर्छ । भाइ मसला थोरै मात्रा खाँदा पनि शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्व र मिनिरल प्रशस्त मात्रमा प्राप्त हुने । ”
ड्राई फ्रूटमा शरीरलाई आवश्यक पर्ने बोसो, प्रोटिन, विभिन्न किसिमका भिटामिन पाइन्छ । ड्राई फ्रूट खाँदा पानीमा भिजाएर खाँदा उपयुक्त हुने डा.साहले जानकारी दिनुभयो ।
पाचन प्रणाली कमजोर भएका, रगतमा बोसो जमेका, कोलेस्टोल, मुटुका बिरामीले ड्राई फ्रूट खाँदा चिकित्सकको सल्लाह अनुसार खाना डा.साहको सुझाव छ । ड्राई फ्रूट मुख्य खानाको एक दुई घण्टा अगाडि वा एक दुई घण्टा पछाडि खानु उपयुक्त मानिन्छ ।
यस्ता छन् ड्राइफुड्सका फाइदा
ओखर
डा.साहका अनुसार ओखरमा ओमेगा ३, फ्याटी एसिड र एन्टी अक्सिडेन्ट जस्ता पोषण तत्त्व पाइन्छ । ओखरले मस्तिष्कका लागि फाइदाजनक मानिन्छ । स्वस्थकर बोसो, भिटामिन तथा मिनिरल्स प्रशस्त मात्रामा पाइन्छ । उहाँका अनुसार ओखरले शरीरमा खराब बोसो घटाउन मद्दत गर्छ । उचित मात्रामा नियमित सेवन गर्नाले मोटोपन, प्रेसर, मधुमेह जस्ता रोगको जोखिम घटाउने गर्छ ।
बदाम
बदाममा प्रोटिन, भिटामिन ई, फाइबर, एन्टी अक्सिडेन्ट अत्यधिक मात्रा पाइने डा.साह बताउनुहुन्छ । बदाम उच्च रक्तचाप र मुटुका लागि राम्रो मानिन्छ । यसले हाड बलियो बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।
काजु
डा.साहका अनुसार काजु पोषणको हिसाबले उपयुक्त मानिन्छ । काजुमा प्रोटिन, क्यालोरी, बोसो र कार्बोहाइड्रेट जस्ता तीन वटा स्रोत हुन्छन् । यसमा फस्फोरस, म्याग्निसियम, जिङ्क, भिटामिन ई, भिटामिन बि, भिटामिन के, कपर आदि तत्त्वहरू पाइने हुँदा हड्डी, इम्युन सिस्टम, छाला स्वास्थ्यलाई राम्रो गर्छ ।
किसमिस
किसमिसमा हाई क्यालोरी, फाइबर, कार्बोहाइड्रेट प्रशस्त मात्रमा पाइने डा. साहको भनाइ छ । किसमिसमा प्रोटिन र फ्याट कम मात्रा हुन्छ । यसका अतिरिक्त किसमिसमा आइरन, म्याग्निसियम, पोटासियम भिटामिन सी र क्यालसियम पाइन्छ । किसमिसले पाचन शक्ति, आँखाका लागि राम्रो गर्छ । किसमिसले यसले इम्यूनिटीलाई बढाउनुको साथै मोटोपन घटाउनमा पनि मद्दत गर्छ ।
पेस्ता
पेस्ता शरीरका लागि निकै फाइदाजनक मानिने उहाँ बताउनुहुन्छ । डा.साहका अनुसार पेस्तामा भिटामिन ई पाइने हुँदा छाला स्वास्थ्यलाई उपयुक्त मानिन्छ । उक्त रक्तचापलाई सन्तुलनमा राख्न पेस्ता उपयोगी मानिन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन बी ६, फाइबर, एन्टिअक्सिड पाइन्छ । यसले हेमोग्लोबिन बढाउनुका साथै मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्छ ।
नरिवल
सुख्खा नरिवल स्वास्थ्यका दृष्टिले अति उपयोगी फल मानिने उहाँ बताउनुहुन्छ । नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ । यी सबै तत्त्व शरीरका लागि निकै उपयोगी हुन्छन् ।
दालचिनी
दालचिनीमा भिटामिन ए, भिटामिन बि, क्याल्सियम, आइरन, म्याग्नेशियम र फाइबर जस्ता तत्त्व प्राप्त गर्न सकिन्छ । साथै दालचिनीमा एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट तत्त्वसमेत पाइन्छ । यो मस्तिष्कको क्षमता बढाउन वा स्मरण शक्ति बलियो बनाउका साथै मधुमेह नियन्त्रण गर्न उपयोगी उहाँ बताउनुहुन्छ ।