• १ माघ २०८१, मङ्गलबार

सूर्यदर्शन सहकारी प्रकरण : प्रविधि, पहुँच र पात्रमार्फत ठगी

blog

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक १४ गते । सहकारी ठगीको उदाहरण बनेको कास्कीको पोखरा–४, बगाले टोलमा रहेको सूर्यदर्शन सहकारीमाथि अनुसन्धान जारी छ । सूर्यदर्शनमा प्रविधि, पहुँच र विभिन्न दृश्य/अदृश्य पात्र खडा गरी साढे १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रकम अपचलन भएको छ । 

देशका मुख्य सहरमा सहकारी खोल्ने, त्यहाँ रकम जम्मा गरी आफ्ना तीन दर्जन कम्पनी र आफन्तका खातामा पठाएर योजनाबद्ध रूपमा ठगी गर्ने गीतेन्द्रबाबु (जिबी) राईको समूहको सिकार सूर्यदर्शनका बचतकर्ता परेका छन् । सूर्यदर्शनसहित जिबी समूहले चलाएका सहकारीले एउटै सफ्टवेयर प्रयोग गर्ने गरेको खुलेको छ । 

जिबीकै कम्पनी गोर्खा वेब लिङ्क प्रालिले बनाएको जिसिएच बैङ्किङ सफ्टवेयरमार्फत यी सहकारीको रकम परिचालन हुने गरेको थियो । जहाँसुकै बसेर, जुनसुकै सहकारीको रकम, जता पनि पठाउन मिल्ने यो सफ्टवेयरको दुरुपयोग गरी माग फाराम नै नभरी, आवश्यक कागजपत्रबिनै ऋण लगानी भएको देखिएको छ । 

त्यति मात्र होइन, राईका आफन्त, यो समूहले चलाएको गोर्खा मिडिया, त्यहाँका व्यावसायिक साझेदारका नाममा पनि सहकारीको रकम गएको देखिएको छ । यही मुद्दामा अहिले पूर्वगृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।

कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले सहकारी ठगीमा अनुसन्धान भइरहेकोमा अब पूरक अभियोग लैजाने तयारी भएको बताउनुहुन्छ । अब सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणमा पनि अभियोग दर्ता गर्ने तयारी छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन प्रकरणमा अहिले पुर्पक्षका लागि जेलमा रहेकासँग पनि फेरि बयान लिएको छ । 

पछिल्लो अनुसन्धानमा ठगीका नयाँ नयाँ स्वरूप उजागर भएका छन् भने बिगो पनि बढ्ने देखिएको छ । सेयर सदस्य र बचतकर्ताको रकम कहाँ गयो भन्ने तथ्यलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको काफ्लेको भनाइ छ । “बचत कहाँ गयो भन्ने कुरालाई केन्द्रमा राखेका छौँ । बयानमुखीभन्दा पनि प्रमाण देखाउँदै ‘भेरिफाइ’ गर्दै बयान लिएका छौँ । आवश्यक ठाउँमा बयानसँगै प्रमाण पनि संलग्न गरेका छौँ ।” 

अनुसन्धानका क्रममा सहकारीको रकम अपचलनका लागि दृश्य/अदृश्य पात्र खडा गरिएको भेटिएको छ । ऋण दिएका व्यक्ति र कम्पनीको पूरा अभिलेखै राखिएको देखिँदैन । संसदीय छानबिन समितिको प्रतिवेदन, स्थानीय तहका प्रतिवेदनलाई सामग्रीका रूपमा लिएर सम्बन्धित निकायसँग आवश्यक कागज, प्रमाण झिकाएर अनुसन्धान जारी छ । 

लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक भएकै बेला १२ करोड चुक्ता पुँजी रहेको कम्पनीको नोक्सानी १६ करोड पुगेको थियो । नेपालकै नम्बर १ र विश्वस्तरीय टिभी बनाउने भन्दै सुरु भएको ग्यालेक्सी टिभीमा काम गर्न लामिछानेले सुरुमा एड्भान्स ७५ लाख र मासिक पाँच लाख तलब लिएको देखिएको छ । उहाँ भएकै बेला गोर्खा मिडियाले १७ करोड ३१ लाख विभिन्न सहकारीबाट ऋण लिएको देखिएको छ । 

सूर्यदर्शनबाट गोर्खा मिडियाले एक करोड ३० लाख ऋण लिएको छ । विभिन्न सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख आएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । सूर्यदर्शनपीडितका कानुन व्यवसायी युवराज पहारी  गैरसदस्यलाई पेस्की दिने, फस्र्योट गर्ने जस्ता गतिविधि भएको बताउनुहुन्छ । कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछाने र असोज ६ गते पक्राउ पर्नुभएका जोशी आबद्ध गोर्खा मिडियामा सूर्यदर्शनबाट पाँच करोड ५८ लाख रकम गएको देखिएको छ । 

 रकम जोहो र परिचालन जिबीले गर्थे : लामिछाने 

गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेले आफूलाई गोर्खा मिडियामा रकम कसरी, कहाँबाट आयो र कहाँ खर्च भयो भन्ने थाहा नभएको बयान दिनुभएको छ । त्यहाँ हुँदा आफ्नो मूल जिम्मेवारी समाचार र कार्यक्रम प्रसारण भएको जनाउँदै उहाँले अरू जिम्मेवारी कार्यकारी अध्यक्षको भएको उल्लेख गर्नुभएको छ ।

जिल्ला सहकारी वकिलको कार्यालय कास्कीमा भएको बयानमा उहाँले संसदीय समितिलाई दिएकै तर्क र तथ्य दोहोर्‍याउनुभएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले लामिछानेको बयान अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो । “यसअघि संसदीय समितिलाई दिएको बयानभन्दा खासै फरक छैन । उहाँसँगको बयान लिने क्रम अन्तिम चरणमा पुगेको छ,” काफ्लेले भन्नुभयो । 

सरकार ठगीका मुख्य योजनाकार जिबी राईसँग छविलाल जोशीमार्फत चिनजान भएको खुलाउँदै उहाँले आफू कुनै सहकारीको सदस्य नरहेको र कुनै सहकारीबाट पनि ऋण नलिएको दोहोर्‍याउनुभएको छ । सहकारीहरूबाट आएको रकमबारे थाहा नभएको र त्यसको उत्तरदायी पनि आफू नहुने उहाँको भनाइ छ । लामिछानेको भनाइको सार छ : गोरखा मिडियामा आएको रकम जिबी राईले ल्याएका हुन् । रकमको जोहो र परिचालन पनि उनैले गर्ने गरेका थिए ।

सोही अभियोगमा कास्की प्रहरीको हिरासतमा रहनुभएका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीले जिबी राई, रवि लामिछाने, कुमार रम्तेललगायतका व्यक्ति रकम परिचालनमा मुख्य जिम्मेवार रहेको बयान दिनुभएको छ ।