• १२ कात्तिक २०८१, सोमबार

उपनिर्वाचन एक्लै लड्छौँः अध्यक्ष नेपाल

blog

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल समाजवादी प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक १२ गते ।
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह–उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । समाजवादी मोर्चामा आबद्ध एकीकृत समाजवादी यसअघिका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर निर्वाचनमा गएको थियो ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले अर्काे महिना हुने उपचुनावमा एक्लै प्रतिस्पर्धा गर्ने उल्लेख गर्नुभयो । “केही ठाउँमा हामीले उम्मेदवार नै तय गरिसकेका छौँ, अरु ठाउँमा पनि गर्दैछौँ । यो उपनिर्वाचनमा हामी एक्लै लड्छौँ,” अध्यक्ष नेपालले भन्नुभयो ।

नेपालको राजनीतिक समीकरण पूर्वानुमान गर्न नसक्ने गरी बदलिने उहाँको टिप्पणी छ । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “नेपालको राजनीतिक समीकरण यहाँको मौसम जस्तै पूर्वानुमान गर्न कठिन छ । हाम्रो सत्तातिर ध्यान छैन । पार्टी बनाउने हो ।” भ्रष्टाचार उन्मूलन र सुशासनमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा उहाँको जोड छ ।

सहकारीहरुको अनुगमन प्रणालीलाई बलियो बनाउँदै दोषीलाई कारबाही गर्नुपर्ने उहाँको धारणा छ । “पोखरामै सहकारी ठगीमा ठूला मान्छेहरु पक्राउ परेका छन् । सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ,” उहाँले थप्नुभयो, “दोषी कसैले उन्मुक्ति नपाउन्, निर्दाेष कोही नफसून् भन्ने हाम्रो धारणा प्रष्ट छ ।”

अहिले समाजवादी मोर्चा नै अघि बढ्ने उल्लेख गर्दै उहाँले कुनै पार्टीसँग तत्काल एकीकरणको तयारी नरहेको उहाँले प्रष्ट गर्नुभयो । दशौं महाधिवेशनपछि अब जिल्ला र प्रदेशका अधिवेशन गर्दै पार्टीलाई सुदृढ बनाउन लाग्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कास्की सचिव भीम थापाले पनि बोल्नुभएको थियो ।