• १२ कात्तिक २०८१, सोमबार

जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छ : प्रधानमन्त्री ओली

blog

प्रधानमन्त्री केपी शर्मा ओली वन तथा वातावरण मन्त्रालयले काठमाडौँमा आयोजना गरेको जलवायु राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताउनुभएको छ ।शनिबार वन तथा वातावरण मन्त्रालयले काठमाडौँमा आयोजना गरेको जलवायु राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

उहाँले जलवायु परिवर्तनसम्बन्धी छुट्टै मन्त्रालय नभएर जलवायुजन्य क्षेत्रमा काम हुन नसकेको भन्ने नभई मन्त्रालय नहुँदा पनि सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको उल्लेख गर्नुभयो ।


प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘आज हामी खास गरी कोप २९ को तयारीका सन्दर्भमा नेपालको त्यहाँ पोजिसन, हाम्रो अडान, दृष्टिकोण के हुने भन्ने विषयमा छलफल गरिरहेका छौँ । मैले विश्वास लिएको छु, यस सम्मेलनले यी विषयहरू उपयुक्त र पर्याप्त जवाफ निकाल्छ ।’’

प्रधानमन्त्री ओलीले कोप २९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने बताउनुभयो । उहाँले नेपालले जलवायुजन्य अन्तर्राष्ट्रिय फोरमहरूमा क्लाइमेट इस्युजहरुमा नेतृत्व गर्ने गरेको जानकारी दिनुभयो ।


उहाँले नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्न सक्ने भूगोल भएको बताउनुभयो । उहाँले जलवायु वित्त, जलवायु न्यायका विषयमा अहिले नेपालले खरो रूपमा आवाज उठाइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरूमा क्लाइमेट इस्युजमा नेतृत्व गर्ने गरेको छ । सबैभन्दा बढी सरोकारवाला, सबैभन्दा बढी प्रभावित र सबैभन्दा बढी असर पार्ने र असरलाई रोक्न सक्ने भूगोल यही हो । यसै भूगोलले रोक्नुपर्छ ।’’

प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा जलवायु परिवर्तनको ठुलो असर परेको महसुस गरेको बताउनुभयो । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षारोपणको अभियान सुरु गरेको र सङ्घ सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । जलवायु परिवर्तनका कारण महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित भएको बताउनुभयो ।