• ३ पुस २०८२, बिहिबार

नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरण : सिआइबीको अनुसन्धान पूरा

blog

काठमाडौँ, पुस ३ गते । काठमाडौँको दरबारमार्गस्थित नेपाल  ट्रस्टको जग्गा भाडामा दिँदा अनियमितता गरेकोबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सिआइबीले बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको अनुसन्धान प्रतिवेदनमा पूर्वसचिव अर्जुनबहादुर कार्की, ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की र व्यापारिक घराना यति समूह अन्तर्गतको थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाई ठगी तथा आपराधिक लाभको कसुरमा छ अर्ब ३४ करोड १२ लाख ९८ हजार रुपियाँ बिगो माग गरी मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सिआइबीका प्रमुख डा. मनोज केसीले नेपाल ट्रस्टको जग्गा प्रकरणमा तीन जना व्यक्ति र एक कम्पनीविरुद्ध बिगो कायम गरी मुद्दा चलाउन सिफारिस गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन सिफारिस गरिएको बताउनुभयो । प्रतिवेदनमा उनीहरूविरुद्ध पाँच वर्ष कैद सजाय माग गरिएको छ ।  

तत्कालीन  ट्रस्टका सचिव कार्कीसहितको समूह, बिचौलिया र राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेका पदाधिकारीको मिलेमतोमा राज्यलाई अर्बौं नोक्सान हुने गरी करार सम्झौता गरेको र त्यसो गर्दा ठुलो आर्थिक लाभ लिएको पाइएको छ  ।

विसं २०७४ जेठ १४ गते गरिएको करार सम्झौतामा  ट्रस्टका सचिव कार्कीसहितको मिलेमतामा ट्रस्टलाई दीर्घकालीन नोक्सानी पु¥याउने गरी थामसेर्कु प्रालिसँग सम्झौता गरिएको पाइएको छ । सिआइबीले लाभग्राही, सहयोग गर्ने अधिकारी, सम्बद्ध रहेको विभिन्न ओहोदा र पदमा रहेका व्यक्तिले गैरकानुनी रूपमा लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको ठहरसहितको प्रतिवेदन तयार पारेको छ । 

ट्रस्टको जग्गा अत्यन्तै कमसल मुल्यमा करार सम्झौता गर्दा ‘विल्ड अपरेट ट्रान्सफर’ अर्थात् निर्माण सम्पन्न गर्न तीन वर्ष र बाँकी ३० वर्ष गरी ३३ वर्षका अवैध रूपमा भाडा सम्झौता खुलेको छ । यस प्रकरणमा सिआइबीले गत कात्तिक २१ गते तत्कालीन सहसचिव लेखबहादुर कार्की र पूर्वसचिव अर्जुनबहादुर कार्कीलाई कात्तिक ३० गते पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।