• १० मंसिर २०८१, सोमबार

पृथ्वी जोगाउने वैश्विक चुनौती

blog

यो वर्षको मनसुन बाहिरिनै लाग्दा विशेष गरी देशको पूर्वी र मध्य क्षेत्रमा गत असोज ११ र १२ गते आएको भीषण वर्षाले कीर्तिमानी रूप धारण गर्‍यो । मौसम पूर्वानुमान हुँदाहुँदै पनि पूर्वतयारी पर्याप्त नहुँदा जनधनको व्यापक क्षति हुन पुग्यो । जलविद्युत्, सडक पुर्वाधार र कृषिमा ठुलो नोक्सानी भयो । देशभरिका सबै जसो सडक सञ्जाल बढीपहिरोका कारण क्षतविक्षत भए । यातायात व्यवस्था खल्बलिँदा दसैँमा कर्मथलोबाट आआफ्नो गाउँठाउँ बेलैमा पुग्न सकस भोग्नु पर्‍यो । विपत्तिले सबैको दसैँ खल्लो बनायो । प्छिल्ला केही वर्षयता प्राकृतिक विपत्तिका घटना थपिँदै छन् । जसका कारण धनजनको क्षतिको मात्रा निरन्तर उकालो लाग्दो छ । यसले जीवनयापनलाई थप कष्टकर बनाउँदै छ । 

राष्ट्रिय विपत् जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज २३ गते गृह मन्त्रालयमा पेस गरेको क्षतिको प्रारम्भिक प्रतिवेदन अनुसार गत असोजमा गएको बाढीपहिरोबाट २४६ व्यक्तिले ज्यान गुमाउनु प¥यो भने १८ जना अझै बेपत्ता हुनुका साथै झन्डै ११ हजार परिवार विस्थापित भएका छन् । यो विपत्बाट ४६ अर्बभन्दा धैरैको आर्थिक क्षति भएको आकलन गरिएको छ । उक्त प्रतिवेदन अनुसार बाढीपहिरोबाट ४४ पुल, २६ जलविद्युत् आयोजना, ४१ सडक, एक हजार ६१६ खानेपानी आयोजना, ३०२ दूरसञ्चारसम्बन्धी संरचना र ८४ यातायातका साधनमा क्षति भएको छ । यो विपत्बाट कृषिमा मात्रै पाँच अर्ब ८३ करोड बराबरको क्षति पुगेको छ । जस अन्तर्गत धानलगायत विभिन्न बालीनाली, सिँचाइ एवं विभिन्न कृषिसम्बद्ध संरचनामा व्यापक क्षति पुग्न गएको छ ।

प्छिल्लो कीर्तिमानी वर्षाका अतिरिक्त यो वर्षको मनसुनमा मात्रै केही अस्वाभाविक घटना भए । गत असार २३ र २४ मा कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा इतिहासकै अत्यधिक वर्षा भयो । असार २० गते गौरीशङ्कर हिमाल नजिकै भएको हिमनदी पहिरो तथा हिमताल विस्फोट, साउन ३२ मा सोलुखुम्बुको थामेमाथिको थ्याङ्बो हिमताल विस्फोट र भदौ ७ मा मुस्ताङको थसाङ क्षेत्रमा धौलागिरी हिमालबाट आएको हिमपहिरोले ठुलै त्रास उत्पन्न गरायो ।  

एक्काइसौँ शताब्दीमा प्रवेशसँगै विश्वकै जलवायु तीव्र रूपमा परिवर्तन हुँदै छ । बढ्दो तापमान नै जलवायु परिवर्तनको कारक मानिएको छ । पृथ्वी बर्र्सेनि तात्दै छ । पृथ्वी तातिँदै जानुमा वायुमण्डलमा हरितगृह ग्यासको व्यापक उत्सर्जनलाई लिइएको छ । हरेक वर्ष विश्वका विभिन्न भूभागमा गर्मीले नयाँ कीर्तिमान कायम गरेको तथ्य सार्वजनिक भइरहेका छन् । विश्वव्यापी तापमान वृद्धिले गर्दा नै जलवायु र मौसम अस्वाभाविक र अनपेक्षित परिवर्तन देखापर्दै सर्वत्र प्राकृतिक प्रकोपका घटना बढाएको छ । प्राकृतिक विपत्को समिश्रण बढ्ने क्रम जारी छ । 

 संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्ठन (डब्ल्युएमओ) को एक प्रतिवेदनले सन् २०२३ लाई हालसम्मकै तातो वर्ष रहेको पुष्टि गरेको थियो । गत वर्षको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.४५ डिग्री सेल्सियस बढी भएको डब्ल्युएमओले जनाएको छ । यसै गरी युरोपेली जलवायु अनुगमनकारी संस्था कोपर्निकसको पछिल्लो प्रकाशन अनुसार सन् २०२४ को सेप्टेम्बर महिनामा विश्वभरि अत्यधिक वर्षा र विनाशकारी आँधीको अनुभव भयो, जुन जलवायु परिर्वतनका कारण बढी तीव्रता र आवृत्तिमा भइरहेका छन् । सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरमा विश्वव्यापी औसत तापमान सन् १९९१–२०२० को औसतको तुलनामा ०.७१ र २०२३ को सोही अवधिको तुलनामा ०.१९ डिग्री सेल्सियस बढी न्यानो थियो । यसले गर्दा सन् २०२४ मा झन् गर्मी हुने सम्भावना उच्च रहेको कोपर्निकसले जनाएको छ । 

यसै गरी जलवायु तथा मौसम विभागको प्रारम्भिक प्रतिवेदन अनुसार नेपालले पनि सेप्टेम्बर महिनामा चार दशक यताकै ऐतिहासिक वर्षा र उच्च तापक्रमको सामना गर्नु परेको औँल्याएको छ । सेप्टेम्बरमा सरदर २४२.९ मिलिमिटर वर्षा हुने गरेकोमा यो वर्ष भने ४१३.१ मिलिमिटर रहेको थियो । यो सन् १९८१ यता सेप्टेम्बर महिनामा सबैभन्दा धेरै मापन गरिएको वर्षा हो । यसका साथै सेप्टेम्बरमा देशका धेरै भागमा तापक्रमले पनि नयाँ उचाइ कायम गरेको उक्त प्रतिवेदनले उल्लेख गरेको छ । २३ सेप्टेम्बरमा लहानमा ३९.५ डिग्री सेल्सियसको सर्वाधिक तापक्रम मापन भयो । विभागले अक्टोबरदेखि डिसेम्बर महिनासम्मको मौसमको समेत प्रक्षेपण गरेको छ, जस अनुसार देशको अधिकांश भूभागमा अधिकतम र न्यूनतम दुवै सरदरभन्दा बढी हुने अनुमान गरिएको छ ।  

अहिलेकै गतिमा तापमान वृद्धि भइरहने हो भने अबको केही वर्षमै स्थिति भयावह हुने चेतावनी वैज्ञानिकले दिइरहेका छन् । सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घको वार्षिक जलवायु सम्मेलन (कोप २१) ले पृथ्वीको तापक्रम वृद्धिलाई औद्योगिक क्रान्तिपूर्वको अवस्थाको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धताको कार्यान्वयन स्तर सुस्त छ । समय घर्किंदै छ । विश्व मौसम विज्ञान सङ्ठनले यसै वर्ष प्रकाशन गरेको प्रतिवेदनले २०३० सम्म १.५ डिग्री सेल्सियको लक्ष्य हासिल गर्न हरितगृह ग्यास उत्सर्जनलाई ४२ प्रतिशतले कटौती गरिनु पर्ने उल्लेख गरेको छ । यस मामलामा विश्व अझै पनि गम्भीर बन्न सकेको छैन । 

जलवायुमा प्रकृतिक रूपमा परिवर्तन हुनु सामान्य हो तर तीव्रताका साथ भइरहेको परिवर्तन भने मानव सिर्जित नै हो भन्ने स्पष्ट भइसक्यो । हामी मानव जातिले छोटै समयमा तीव्र विकास त गयौँ तर  प्रकृतिको चरम दोहन गरेर । आज यही तीव्र विकासले भयङ्कर विनाश निम्त्याउँदै छ । मानव जातिले जतिजति पृथ्वीमाथि अत्याचार गर्दै छ, त्योभन्दा बढी पृथ्वीले वितण्डा मचाउन थालेको देख्न पाइन्छ । आफूलाई मात्र हैन सम्पूर्ण प्राणी र वनस्पति जगतकै अस्तित्वलाई सङ्कटतर्फ डो¥याउँदै छ । यहाँनिर विकास केका लागि ? भन्ने प्रश्नसमेत तेर्सिन्छ । हुन त विकासकै प्रतिफलका कारण मानवले आफ्नो जीवन सहज, सुखी र सम्पन्न बनाउँदै लगेको छ । सम्पूर्ण परिस्थितिकीय प्रणाली नै खल्बलिने गरी प्राप्त गरिने सम्पन्नता कहिलेसम्म टिक्ला र ? प्रकृतिको दोहनको भरमा गरिने भोगबिलासले आउँदा वर्ष थप कष्टकर र पीडादायी हुने निश्चित छ । 

विकास निर्माणका कार्यमा कतिसम्म हेलचेक््रयाइ गरिन्छ भन्ने उदाहरणका रूपमा हाम्रै देशलाई हेरे पुग्छ । नेपालको अधिकांश भूभाग हिमाली तथा पहाडी भूबनोटको हुँदाहुँदै यसलाई हेक्का राखेर विकास निर्माणका गतिविधि सञ्चालन गर्न हामी चुकिरहेका छौँ । व्यवस्थित र वैज्ञानिक बसोबासतर्फ सोचिएन । बस्ती र सहरबिना दीर्घकालीन योजना फैलिँदै गए । डाँडाकाडा खोस्रेर जग्गा पल्टिङ थालियो । पहाडी क्षेत्रमा भएको गतिविधिका कारण खोलाको सतह बढ्दो छ । नदीनालाको जथाभाबी दोहन गरेर उसको साविकको बहने बाटो मिचिँदै छ । यसका कारण सामान्य वर्षामा पनि घरखेत डुबानमा पर्ने गर्छ । चुरे दोहनले भूजल सतह घट्दै छ । गाउँघरमा घरैपिच्छे बाटो पुर्‍याउने होड चलेको छ । ‘डोजरे विकास’ का कारण पहाड क्षतविक्षत भएको छ । बाटो बनाउँदा प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गरिन्छ । घरघरमा बाटो पुग्दा दङ्ग त पर्छौं तर हरेक मनसुनमा यी बाटा र सडक नै काल बन्ने गर्छन् । 

‘डोजरे विकास’ का नाममा बनाइएका सहायक सडकका कारण मूल सडक पनि काम नलाग्ने बन्दै छन् । सडक संरचना समयमै सम्पन्न गरिँदैन । मनसुका समयमा पनि डाँडाकाँडा खोस्रने कार्यले निरन्तरता पाउँछ । सडकको दुरावस्थाले गर्दा दुर्घटना बढ्दो छ । गन्तव्यमा नपुगुन्जेल त्रसित भएर यात्रा गर्नु पर्छ । यो वर्षको मनुसुनमा सीमलताल र झ्याप्ले खोला पहिरोमा भएका सवारी दुर्घटाना अत्यन्तै दुःखद रहन पुग्यो । सडक विस्तार गर्दा भूक्षय तथा पहिरो नियन्त्रणलाई बेवास्ता गर्ने गरिएको तथ्य विज्ञहरूबाट आइरहेको छ । काठमाडाैँको लाइफ लाइन मानिने नौबिसे–नारायणगढ खण्डमा नै वातावरणीय तथा प्रविधिक पक्षमा कमजोरी रहेको कुरा सिमताल बस दुर्घटना अध्ययन प्रतिवेदनले समेत औँल्याएको छ । यो सडकमा बर्सेनि भइरहेको जनधनको क्षतिले आज आएर यो सडकको औचित्यमाथि नै प्रश्न चिह्न खडा भएको छ । पहिरो तथा भूक्षय नियन्त्रणलाई ख्याल गरिएर बनाइएको बिपी राजमार्ग ठाउँठाउँमा खोसिँरदा यो राजमार्गमा पनि धेरै क्षति पुग्यो । जथाभाबी डाँडाकाडा र नदीनाला खोस्रिँदा बिपी राजमार्गको अवस्था पनि दयनीय हुन पुगेको अनुमान विज्ञहरूले गरेका छन् । हामीले विकास निर्माणमा हेलचेक्रयाइँ गर्दा मानवीय क्षति त छँदै छ ठुलै भौतिक एवं आर्थिक नोक्सानी बेहोर्नु परिरहेको छ । 

नेपालले कतिपय आन्तरिक कमीकमजोरीका कारण प्राकृतिक विपत्ति झेल्नु परे पनि खाँदै नखाएको विष पनि लाग्ने गरेको छ । हरित ग्यास उत्सर्जनमा नेपालको हिस्सा ०.०२५ प्रतिशत मात्र रहेको छ तर जलवायु परिवर्तका दृष्टिकोणबाट उच्च जोखिम मुलुकमध्ये १० औँ स्थानमा पर्छ । वल्र्ड रिसोर्सेस इन्सटिच्युटको सन् २०२३ को तथ्याङ्क अनुसार हरित गृह ग्यास उत्र्सजन गर्ने शीर्ष तीन देश (चीन, अमेरिका, भारत) ले मात्र ४२.६ प्रतिशत हिस्सा ओगट्छन् भने पछिल्ला स्थानमा रहेका सय देशका हिस्सा केवल २.९ प्रतिशत रहेको छ । यसबाट विकसित देशकै कारण नेपाल जस्तो देशले बर्सेनि ठुलो विनाशको सामना गर्नु परिरहेको प्रस्ट हुछ । नेपालको परिपे्रक्ष्यमा हिमगलन, हिमताल विस्फोट, हिमपहिरो, मनसुनको प्रवृत्तिमा फेरबदल, बढ्दो गर्मी जस्ता कारणले प्रकोपको मात्रा बढ्दो छ । यसले गर्दा उत्पादन र उत्पादकत्वमा ह्रास आई रोजगारी, आय र जीविकोपार्जनमा गहिरो प्रभाव पार्दै छ । तसर्थ आगामी नभेम्बर महिनाको ११ देखि २२ सम्म अजरबैजनाको बाँकुमा हुने कोप–२९ सम्मेलनमा विकसित देशले पृथ्वीको तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न कठोर निर्णय गर्नैपर्ने हुन्छ ।   

Author

विजयराज पोखरेल