काठमाडौँ, कात्तिक ९ गते । चिसो सुरु भए पनि डेंगु लगायत किटजन्य रोगको जोखिम बढ्दो छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार मनसुनपछि लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण सिर्जना हुन्छ । अहिले चिसो सुरु भए पनि डेंगु सङ्क्रमणको जोखिम बढ्ने डा. चालिसेको भनाइ छ ।
देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
डेंगु के हो ?
डा. चालिसेका अनुसार डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ । उहाँका अनुसार एडिज जातको लामखुट्टे विशेषगरी, सूर्योदयको समय दिउँसो र घाम अस्ताउने (बेलुका) को समयमा सक्रिय हुने गर्छ ।
उहाँका अनुसार एडिज जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्दछ । उच्च ज्वरो आउनु, जोर्नी तथा मांसपेशी दुख्नु डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन् ।
यसबाहेक आँखाको पछाडिको भाग दुख्ने, ज्यान दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेटमा गाह्रो हुने जस्ता लक्षण देखिने डा.चालिसे बताउनुहुन्छ ।
डेंगुको सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुन सक्छ । साना बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती डेंगु भएमा जटिल स्वास्थ्य समस्या निम्तिने डा.चालिसेको भनाइ छ ।
एक पटक डेंगु सङ्क्रमण भएका मानिसमा अर्को पटक डेंगु सङ्क्रमण हुँदा झन् जटिल स्वास्थ्य समस्या निम्तिने उहाँ बताउनुहुन्छ । डेंगु अहिलेसम्म कुनै पनि उपचार विधिको विकास नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो । डेंगु भएको बेलामा जथाभाबी औषधीको नखान उहाँको सुझाव छ ।
उहाँ भन्नुहुन्छ, “डेंगु भएको बेलामा औषधी आवश्यक पर्दैन । धेरै जस्ता सङ्क्रमित ज्वरो कम गर्न प्यारासिटामोल र घरमै झेलिलो पोसिलो खानेकुरा खाएर आराम गर्दा निको हुन्छ ।”
यदि जथाभाबी औषधी खाएर हेलचेक्राइँ गरेको जटिल स्वास्थ्य समस्या निम्तने उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार गिजालगायतका शरीरका विभिन्न भागबाट रक्तस्राव हुने, अत्यधिक मात्रमा वान्ता हुने, पेट फुल्ने, दुख्ने, सास फेर्न गाह्रो हुने, बेचैनी हुने डेंगु सङ्क्रमणका जटिल स्वास्थ्य समस्या हुन् । हेलचेक्राइँ गरेमा बिरामीको मृत्युसमेत हुने भएकाले गम्भीर समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिन उहाँको सुझाव छ ।
उहाँका अनुसार लामखुट्टेको टोकाइबाट जोगिन पूरा शरीर ढाकिने गरी कपडा लगाउने राति सुत्ने बेलामा झुलको प्रयोग गर्न, लामखुट्टेको धूप बाल्ने, मलम लगाउनुपर्छ ।
घर वा कार्यालय वरपर पानी जम्न नदिने, खाल्डाखुल्डीहरु पुर्ने र घरआगन सफा राख्ने । लामखुट्टेलाई फुल पार्न नदिनका लागि एउटै ठाउँ भाँडोमा पानी जम्मा गरेर नराख्ने ।
डेंगु विषयमा केन्द्रित भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिलेसँगको कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीले तयार पार्नुभएको पुनः प्रसारित भिडियो सामग्री: