जयकृष्ण यादव
इनरुवा, जेठ १ गते । सुनसरीको पाँच पालिकामा पाँच वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । दुहवी नगरपालिका १ मा र सीमावर्ती बर्जु गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ७ मा नेकपा एकीकृत समाजवादी र भोक्राहा नरसिंह गाउँपालिका १ नम्बर वडामा राप्रपाको प्यानल विजयी भएको छ ।
जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–१ नम्बर वडामा राष्टिय प्रजातन्त्र पार्टीको प्यानल विजयी भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मण मेहता र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित भएका छन् । मेहताले एक हजार ९० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो ।
यस वडामा ३ हजार २ सय २८ मतदाता रहेकोमा त्यसमध्ये २ हजार ४ सय ७८ मत खसेकोमा मेहताका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याएर पराजित हुनुभएको छ । सदस्यहरूमा राप्रपाकै अकुल महतो ७२९, अमजाद मिँया ६१५, सरिता उराँव ८२५ र दलित महिला सदस्यमा आरतिदेवी शर्माले ८४६ मत ल्याइ निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सीमावर्ती हरिनगर गाउँपालिका–७ नम्बर वडामा नेकपा एकीकृत समाजवादी पार्टीको प्यानल विजयी भएको छ । वडा नं ७ को वडा अध्यक्षमा नेकपा ऐसका मोज्जमिल खान र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहन घिमिरेले जानकारी दिनुभयो । यस वडाका सदस्यहरूमा नेकपा एसकै सैमुल खातुन, बबितादेवी सरदार, तफेजुल अन्सारी र सईदुरहमान अन्सारी निर्वाचित हुनुभएको छ ।
दुहबी नगरपालिका–१ मा वडा अध्यक्षमा नेकपा एमालेका मो.अजुल हुसेनले ९२९ मत ल्याएर विजयी हुनुभएको छ । वहाँका निटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जाकिर हुसेन मियाँले ८१३ मत ल्याउनुभएको छ ।
त्यसैगरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । इनरुवा नगरपालिका वडा नं १ को वडा अध्यक्षमा काँग्रेसका प्रमोद पोखरेल र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित भएका छन् ।
बर्जु गाउँपालिका–१ मा वडाध्यक्षमा नेकपा एमालेका दिलबहादुर गुरुङले ९१६ मत ल्याएर विजयी हुनुभएको छ । वहाँका निटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोज गच्छदारले ६८९ मत ल्याउनुभएको छ ।
जिल्लाको कोशी गाउँपालिका–१ नम्बर वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी भएको छ । कोशी गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपाका सोभितनारायण यादव र उहाँका प्यानलबाटै चार जना सदस्य निर्वाचित भएका छन् ।
यादवले ८७५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिनुभयो । यस वडामा निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका निर्मलकुमार मण्डलले ७०९ मत ल्याएर पराजित हुनुभएको छ । सदस्यहरूमा जसपाकै खुला सदस्य निधिर मण्डल र भूपेन्द्र उराँव, महिला सदस्यमा निर्मलाकुमारी मण्डल र दलित महिला सदस्यमा सतनीदेवी सदा निर्वाचित हुनुभएको छ ।