• १८ असार २०८१, मङ्गलबार

सप्तरीको आठ वडाको मत परिणाम सार्वजनिक

blog

ललिता साह 

बोदेबर्साईन( सप्तरी ), जेठ १ गते । सप्तरीको फरक फरक पालिका गरी आठ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । सप्तरीको विभिन्न पालिकाको वडा अध्यक्ष निर्वाचित हुँदै गर्दा काँग्रेस दुई , जसपा  तीन वडा अध्यक्ष, एमाले, लोसपा र जनमत पार्टी एक ÷ एक वडामा निर्वाचित हुनुभएकाे छ ।

राजविराज नगरपालिका वडा नम्बर –१६ मा जनता समाजवादी पार्टीका उम्मेदवार रामएकवाल यादवले विजय हासिल गर्नुभएको छ । त्यसैगरी सप्तकोशी नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा रोहिणीप्रसाद पोखरेलको टिम विजयी भएको छ। काँग्रेसकै खुला सदस्यमा दिपक राई र जनकबहादुर राउत, महिला सदस्यमा सीताकुमारी चौधरी र दलित महिला सदस्यमा भीमकुमारी नेपाल विजयी भएका छन्। 

योसँगै सप्तरीमा आइतवार विहान सम्ममा काँग्रेस , एमाले, लोसपा , जसपा र जनमत गरी पाँच पार्टीले फरक फरक स्थानीय तहको वडाहरूमा जीत हात पारेका छन्।

सप्तरीको १६ वटा स्थानीय तहमा भइरहेको निर्वाचनको मतगणनाको पछिल्लो नतिजा अनुसार अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएको  निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जनाउनुभयो ।

एमालेका उम्मेदवार सबजुल खलिफाले छ सय ४१ मत ल्याइ वडा अध्यक्षमा विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अछमितलाल चौधरीले पाँच सय ५० र जसपाका रामनारायण चौधरीले पाँच सय १४ मत ल्याउनुभएको छ । 

   खुला सदस्यमा भने एमालेका देवकान्त चौधरी र रामगेन सिंह, महिला सदस्यमा वैजनाथ देबी थरुनी र दलित महिला सदस्यमा पार्वतीदेवी राम विजयी हुनुभएकाे छ । 

  यता खडक नगरपालिका १ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह आठ सय ११ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सिंहेश्वर मण्डलले छ सय ३८ मत ल्याउनुभएको छ । महिला सदस्यमा लोसपाकै अभाना खातुन, लित महिला सदस्यमा ललितादेबी राम तथा सदस्यहरूमा दिलीपकुमार मण्डल र त्रिभुवन मण्डल विजयी हुनुभएकाे छ । 

  खडक नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा जसपाका हरेराम मण्डल नौ मत बढी ल्याइ विजयी हुनुभएको हो । निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धर्मदेव साहले तीन सय ५९ मत प्राप्त गरेका हुन् ।

कुल एक हजार चार  सय ७५ मतको गणनापश्चात् नेपाली काँग्रेसले महिला वडा सदस्य र दलित महिला सदस्य जितेको छ। खुला सदस्यमा भने एमाले र जसपाले जित हात पारेका छन् ।

    शम्भुनाथ नगरपालिकामा काँग्रेसका जिवछ साहले चार सय ७४ मत ल्याई वडा अध्यक्ष पदमा प्यानलसहित निर्वाचित हुनुभएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले तीन सय ७१ मत ल्याएका छन्। खुला सदस्यमा राधादेवी चौधरी र बिमलाकुमारी चौधरी, महिला सदस्यमा फूलकुमारी चौधरी र दलित महिला सदस्यमा इनरवती देबी राम विजयी हुनुभएकी छिन्। 

   कञ्चनरूप नगरपालिका वडा नम्बर १ मा प्यानलसहित जसपा नेपालका रव्बान खान विजयी हुनुभएको छ । यता हनुमाननगर कङ्कालिनी नगरपालिका–१ को वडा अध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल प्यानलसहित निर्वाचित भई पार्टीका खाता खोल्नुभएको छ ।

     विवादका कारण सप्तरीमा स्थगित दुई मतदना स्थलमध्ये आइतबार डाक्नेश्वरी नगरपालिका–२ हरिराहामा मतदान हुँदैछ भने  सोमबार रूपनी गाउँपालिका–५ बसबिट्टीमा मतदान हुने कार्यालय प्रमुख जोशीले भनुभयो ।