• १० कात्तिक २०८१, शनिबार

फोहोर व्यवस्थापनमा सकस

blog

बाम्का बजारनजिक रहेको फोहोर ।तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता 

बाजुरा, कात्तिक ६ गते ।  बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारको फोहोर व्यवस्थापन कार्यमा निकै सकस भएको छ ।

बाम्का बजारका अधिकांश व्यापारीले बाम्कानजिकै रहेको पहिरोमा फोहोर फाल्न नछोडेपछि यहाँको बजार व्यवस्थापन समिति तथा स्थानीय सरकारलाई त्यो फोहोर व्यवस्थापन गर्न निकै सकस भएको हो । बाम्का बजारका व्यापारीलाई फोहोर फाल्न अन्य कुनै ठाउँ नभएपछि व्यापारीले प्रतिक्षालयनजिकको पहिरोमा फोहोर फाल्ने गरेको बाम्का बजारका व्यापारी रामचन्द्र गिरीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यहाँका व्यापारीले फोहोर फाल्नका लागि कुनै एक ठाउँमा व्यवस्था गर्नु पर्छ भनेर स्थानीय सरकारसँग कुरा राखेको भए पनि अहिलेसम्म त्यसको कुनै सुनुवाइ भएको छैन ।”

स्थानीय सरकारले फोहोर फाल्ने ठाउँको व्यवस्थापन नगर्दा र यहाँका व्यापारीको लापर्बाहीका कारण बजार दुर्गन्धित भएको छ । व्यापारीलाई आफैँले फालेको फोहोरले आफैँलाई गन्ध लिनु परेको व्यापारी गिरीले बताउनुभयो । २०६७ सालदेखि बुढीगङ्गा नगरपालिका–६, बाम्कामा स्थापना गरिएको यो बजार बाजुराको तल्लो क्षेत्रका बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहलगायतका स्थानीय तहका हजारौँ गाउँबस्तीका लागि आउजाउमा निकै सहज हुने गरेको छ ।

बाजुराको डाब, मालिका, रिठा, बेतालमाण्डौ, फालासैन, ताँप्रिसेरा, बल्दे र तिपाडाका बजारभन्दा यो बजारमा सुपथ मूल्यमा सामान पाउने भएकाले अधिकांश ग्राहकको यो बजार रोजाइमा पर्ने गरेको छ ।

बजारमुनि पहिरो जाने डर र बजारमाथि केही ठाउँ नभएकाले यो बजार आफैँमा अव्यवस्थित देखिन्छ । यो बजार व्यवस्थापन गर्नका लागि केही वर्ष पहिला प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला टोली बजार अनुगमनमा आएको थियो तर पनि यो बजार अहिलेसम्म कतै सार्न सकिएको छैन । यहाँ अहिले झन्डै एक सयभन्दा बढी व्यापारीले पसल गरिरहेका छन् । त्रिवेणी बुढीगङगा र खप्तड छेडेदह गाउँपालिकाको मुख्य बजारका रूपमा रहेको बाम्का बजारका व्यापारीले अन्त कतै सर्न मन गरेका छैनन् ।

यहाँको स्थानीय सरकारले यो बजार सार्नुभन्दा पनि बरु यहाँको फोहोर व्यवस्थापन गर्ने कामलाई चाँडोभन्दा चाँडो व्यवस्थापन गरिदिनुपर्ने बाम्का बजारका व्यापारीको भनाइ छ । स्थानीय सरकारबाट फोहोर फाल्नका लागि कतै ठाउँको व्यवस्था नहुँदा फोहोर व्यवस्थापनमा समस्या भएको बाम्का बजार व्यवस्थापन समितिका अध्यक्ष दीपक साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारको तलमाथि वरिपरि सबै वन क्षेत्र छ । व्यापारीलाई फोहोर फाल्न कतै ठाउँ छैन । फोहोर व्यवस्थापन गर्नका लागि स्थानीय सरकारले केही विकल्पको खोजी दिनुपर्ने हो, त्यो हुन सकेको छैन ।”

स्थानीय सरकारले बाम्का बजारको फोहोर व्यवस्थापन गर्नका लागि धेरै पटक बजार व्यवस्थापन समितिले परामर्श लिएको भए पनि यहाँका केही व्यापारी नमानेपछि त्यो कुरा सफल नभएको बुढीगङ्गा नगरपालिका–६ का वडाध्यक्ष हेमराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “योभन्दा पहिला बजार व्यवस्थापनका लागि एक ठाउँमा ठुलो खाल्डो बनाइदिएको हो तर त्यहाँ कोही व्यापारी फोहोर फाल्न गएनन् ।”

“यहाँको फोहोर व्यवस्थापन कार्यमा यो वर्ष पालिकाले झन्डै ३५ लाख रुपियाँ विनियोजन गरेको छ । त्यसको प्रक्रिया लामो भएकाले केही समय लाग्छ । अहिले त्योभन्दा चाँडो यहाँका व्यापारीले माने भने झन्डै तीन किलोमिटरको दुरीमा फोहोर फाल्ने खाल्डो निर्माण गर्छौं । फोहोर उठाउन गाडी यतै आउँछ तर त्यो गाडीको तेल खर्चका लागि भने यहाँका व्यापारीले रुपियाँ तिर्नु पर्छ,” जोशीले बताउनुभयो ।