• ६ कात्तिक २०८१, मङ्गलबार

दलित समुदायलाई नौमती बाजा

blog

गाउँपालिकाबाट बाजा हस्तान्तरण गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक ५ गते । नौमती बाजा संरक्षण गर्नका लागि जलजला गाउँपालिकाले ४ का दलित समुदायलाई बाजा हस्तान्तरण गरेको छ । गाउँसमाजबाट मौलिक नौमती बाजा लोप हुन लागेको भन्दै संरक्षणका लागि नौमती बाजाका सामाग्री हस्तान्तरण गरिएको हो । 

सोमबार गाउँपालिका केन्द्र लामाखेतमा पालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, वडा नम्बर ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्री लगायतका जनप्रतिनिधिहरूले लामाखेत नौमती बाजा समूह र काजिन्ने नौमती बाजा समूहलाई संयुक्त रूपमा एकसेट बाजा हस्तान्तरण गर्नुभयो । 

गाउँसमाजबाट लोप हुन लागेको नौमती बाजाको संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले दलित समुदायलाई बाजा हस्तान्तरण गरेको पालिका अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हाम्रो गाउँसमाजमा परम्परागत संस्कृतिका रूपमा रहेको मौलिक नौमती बाजा लोप भएर जानथालेको छ । नौमती बाजाको संरक्षण र नयाँ पुस्तामा सिप हस्तान्तरण गर्न सहयोग पुगोस् भनेर वडाले दलित समुदायलाई बाजा सहयोग गरेको हो ।’’ 

चालु आर्थिक वर्षमा वडाबाट संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत दुई लाख रुपियाँ बजेटबाट नौमती बाजा खरिद गरी हस्तान्तरण गरिएको वडा नम्बर ४ का वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । दलित समुदायको परम्परागत संस्कृति संरक्षणसँगै आयआर्जनमा पनि सहयोग पुग्ने अपेक्षा सहित लोप हुँदै गएको मौलिक बाजा संरक्षण गर्न वडाले दलित समुदायलाई बाजा उपलब्ध गराएको उहाँले बताउनुभयो । 

बाजाका सामग्रीहरू पुराना भएकाले समस्या भएको थियो लामाखेत नौमती बाजा समूहका अध्यक्ष राजबहादुर परियारले भन्नुभयो, ‘‘नयाँ बाजा पाएपछि अब गाउँसमाजमा हुने विवाह,व्रतबन्ध लगायत अन्य शुभकार्यमा बाजा बजाउन सहज हुन्छ । नयाँ युवाहरूलाई सिकाउन पनि सजिलो विश्वास गरेका छौँ ।’’ 

वडामा रहेका दुई वटा नौमती बाजा समूहलाई संयुक्त रूपमा एकसेट बाजा उपलब्ध भएकाले सहकार्य गरेर गाउँपालिका भित्रका अन्य वडाहरूबाट नौमती बाजाको माग भएमा  बजाउन पुग्ने उहाँले बताउनुभयो ।