• ५ कात्तिक २०८१, सोमबार

हेटौँडा–कुलेखानी–काठमाडौँ जोड्ने सडक सञ्चालनमा

blog

सिमखोलामा बनाइएको डाइभर्सन । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, कात्तिक ५ गते ।
मर्मतका लागि तीन दिन सवारीसाधन आवागमन एकतर्फी बन्द गरिएको हेटौँडा–कुलेखानी–काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग आइतबार साँझबाट सञ्चालनमा आएको छ ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडक बगाएपछि डाइभर्सन निर्माण गरी वैकल्पिक मार्ग खुलाई यातायात सुचारु गरिएकोमा मर्मतका लागि तीन दिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको सडकखण्ड सञ्चालनमा आएको हो ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा बनाइएको डाइभर्सनमा ह्युम पाइप थप्ने र सडक चौडा बनाउने कार्यका लागि सडकखण्ड कात्तिक २ गतेदेखि ३ दिन बन्द गरिएकोमा सडक मर्मत गरी आइतबार साँझबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

अस्थायी रूपमा सञ्चालन गरिएको उक्त सडकखण्डमा नयाँ ट्र्याक र उकालोका कारण साना सवारीसाधनको आवागमनमा समस्या भएपछि ह्युम पाइप राखेर मर्मत गरिएको हो ।