• ८ मंसिर २०८१, शनिबार

मनोशक्तिका योग

blog

योग अनेक प्रकारको भए पनि मुख्यतया यसका आठ शाखा छन् । जसमा कर्मयोग, हठयोग, भक्ति या लययोग, ज्ञानयोग, राजयोग, तन्त्रयोग, ध्यानयोग र मन्त्रयोग पर्छन् । यसलाई आठ हात, अष्ठावतार, अष्टमातृका तथा अष्टाङ्गयोग पनि भन्न सक्छौँ । 

योगका यी आठ शाखालाई जप मालाका रूपमा लिने हो भने साक्षीत्वका रूपमा धागोलाई लिन सकिन्छ । मालाका दाना अनेक हुन सक्छन् तर धागो एकै छ । दाना संसार हो भने धागो ईश्वर हो । यसैले साक्षीत्वको धागोसँगै जब मन निष्कामपूर्वक कार्य गर्छ तब कर्मयोग हुन जान्छ । साक्षीत्व भावमा रहेर जब मन शरीरको साथमा श्वाससँगै एकत्वयोग हुन जान्छ तब हठयोग हुन्छ । 

गुरु, भगवान् वा इष्टदेवप्रति अत्यन्तै श्रद्धाको भाव जब मनमा पैदा भई समर्पण सुरु हुन्छ तब भक्तियोग बन्दछ । मन जब बुद्धिका साथ एक भई कार्य गर्छ तब ज्ञानयोगको आविर्भाव हुन्छ । यही अवस्थामा सत्यज्ञान प्रकट हुन्छ । मन सत्ज्ञानको धारण गर्नाले ध्यानयोग हुन्छ । अर्थात् मनको निरन्तर धारण गर्नाले ध्यानयोग बन्दछ । साक्षीभावमा रही मनदेखि पार हुनु नै साङ्ख्य योगमा पुग्नु हो । जसलाई सन्न्यास जीवन भनिन्छ । यस अवस्थामा मन सम्पूर्ण रूपमा परमात्मामा आश्रित हुन्छ । 

जब शरीर र मन स्वस्थ, सबल तथा दिव्य भई स्थिर र अनुशासित ढङ्गले चल्छ तब तन्त्रयोग हुन्छ । तन्त्रको अर्थ तह लगाइएको शरीर भन्ने बुझिन्छ । यो जीवनरूपी शरीर भोग, तृष्णा, अल्छ्याइँ र सुखको लालसाले अव्यवस्थित भएको हुन्छ । तन्त्रको प्रयोगबाट शरीर र मनलाई तह लगाउनु नै तन्त्र साधना हो । जसले मन तह लगाउँछ त्यो मन्त्र हो । 

अब कुरा के छ भने वर्तमान अवस्थामा मानिसले कुन साधना वा योगलाई अपनाउने हो त्यो महìवपूर्ण छ । कुन त्यस्तो योग छ जुन साधकका लागि सर्वाधिक उपयोगी छ । चिकित्सकको भनाइमा रोगको द्वारबाट नै आरोग्यता आउँछ भन्ने छ । जुन रोग लागेको छ त्यही अनरूप औषधी दिनुपर्छ । त्यसै अनरूप मानिसलाई स्वस्थ बनाउनु छ भने उसको मुख्य रोग के हो ? त्यसको पहिचान सर्वप्रथम हुन जरुरी हुन्छ । 

शरीरमा रोग लागेको छ भने औषधी दिने हो तर मनमा रोग लागेको छ भने त्यसको निदान कसरी होला भन्ने चिन्तन नै साधना हो । साधनाबाट जुन फल मिल्छ त्यो अध्यात्म हो । यहाँ समस्या कहाँनिर छ भने मन सदा संसारतिर भाग्छ । यही नै जीवनको प्रमुख समस्या हो । संसार मनोरोगले ग्रस्त छ । संसारमा मनोरोग कम हुँदै गयो भने शान्ति बढ्छ । मनोरोग बढ्दै गयो भने अशान्ति र युद्ध पनि बढ्छ । 

हुन त यो मनोरोग अनादिदेखि चल्दै आएको छ । भोलि पनि हुन्छ । समस्या कहाँ छ भने जो मनोरोगबाट पार पाउन चाहन्छ त्यसका लागि के गर्ने भन्ने नै मुख्य विषय हो । रोगले महामारीको रूप नलिँदै उपचारमा जान सके अति राम्रो हुन्छ । मनोरोगले ग्रसित भएपछि मानिस अवसादमा फस्छ । मनोरोगले ग्रसित मानिसका लागि कवीरदास यसो भन्छन् :

“माला फेरत जुग गया, मिटा न मनका फेर । 

मन मनका फेरले, काहेकि देर ।।” 

कवीरदासको यो वाणी अत्यन्तै मननीय छ । यो वाणीमा ज्ञानयोगको सुगन्ध छाएको छ । ज्ञानमा जाने सूत्र उनले दिएका छन् । अनेक किसिमका माला जपे पनि मन्त्र मनमनै जपे पनि यदि जीवन बेहोसीमा नै चल्दै रहन्छ भने कुनै काम छैन । माला जप्दाजप्दै जुग बित्ला तर मन वशमा आएन भने कुनै अर्थ हुन्न । मनले मनको कुरा बुझ्न होस हुनुपर्छ, ध्यानमा मग्न हुनुपर्छ, बोध हुनुपर्छ, द्रष्टाभाव र साक्षीत्वमा रहनुपर्छ तब माला फेरेको महìव दर्शिन्छ भन्ने नै कवीरको भनाइ हो । 

मन कि त अतिवादमा जान्छ कि त मिथ्यावादमा रहन्छ र कि त हिनतामा भट्किन्छ । मन सदा घडीको पेन्डुलम जस्तै वारपार भइरहन्छ । मन कुनै एक स्थानमा रहन्न । पेन्डुलम मन सदा अस्थिर रहन्छ । कहिले भूतकालको शोकमा अल्झिन्छ त कहिले भविष्यको चिन्तामा डुब्छ । वर्तमानमा मन टिक्नै सक्दैन । मन कस्तो छ भने कसले गाली दिन्छ, कसले प्रशंसा गर्छ, कसले माया वा स्नेह गर्छ, कसले रिसराग गर्छ आदि अनावश्यक कुराको सोचाइमा नै भट्किँदै रहन्छ । 

वास्तवमा मनले स्थिरता खोजेको हुन्छ, शान्ति र आनन्द खोजेको हुन्छ तर मनुष्य मन अनावश्यक असत्य कुराको भट्काउमा परेर दुःख, चिन्ता र पीडामा फस्न पुग्छ । अनि त्यस सङ्कटबाट मुक्त हुन कहिले रक्सी वा नसाको सहारा लिन्छ त कहिले अनावश्यक मनोरञ्जनमा समय बिताउँछ त कहिले गफसपमा भुलेर वा घुमफिर गरेर समय बिताउँछ । कोही भविष्यको आशामा जिउँछन् । कोही भूतकालको चिन्तामा फस्छन् । 

भविष्यको सपनामा जिउने मनुष्य तनावमा फस्छ तथा उच्च रक्तचाप, मानसिक रोग र हृदय रोगको सिकार बन्न पुग्छ । त्यसैले रोगबाट बच्न वर्तमानमा जिउने प्रयास गर्नुपर्छ । वर्तमानमा जिउनु नै साक्षीभावमा रहनु हो । के भूत र भविष्यको निद्राबाट ब्युँझने कुनै उपाय छ त ? अवश्य पनि छ । बुद्धले त्यो निद्राबाट ब्युँझने कुरा बताएका छन् । वशिष्ठ, बुद्ध, महावीर, व्यास, कपिलमुनि, कवीरदास, शङ्कराचार्य जस्ता जति पनि सन्त या ऋषिहरू भए तिनले मन वशमा राख्ने साधनाका उपाय बताएर गएका छन् । त्यसलाई हामीले जीवनमा उतार्ने नै हो । त्यो उपाय योगको अभ्यासले मनद्वारा आफ्नै मन जित्नु अथवा मनबाट पार पाउनु हो । 

मनबाट कसरी पार पाउने त भन्ने कुरामा धेरै गुरुले धेरै किसिमका उपाय बताएका छन् । उपायहरूमा अल्मलिनु हुँदैन । एउटा आफूलाई सुलभ हुने अर्थात् आफूलाई श्रद्धा लाग्ने उपायलाई अपनाउनु पर्छ । तब जीवनमा सफलता प्राप्त हुन्छ । 

ती उपायमा कवीरले मौनध्यान अर्थात् साक्षीत्वमा रहने अभ्यास गर्न भनेका छन् । यसमा सुरुमा एउटा विधि वा प्रक्रियाबाट जान सकिन्छ । विस्तारै साधना अघि बढ्दै जाँदा सहज साधना फलीभूत हुँदै जान्छ । एकान्त स्थानमा सुखपूर्वक एउटा आसनमा बसेर आँखा बन्द गरी साक्षीत्वको अभ्यास गर्न उनले भनेका छन् । शरीर र मनको हलचललाई केवल साक्षीभावमा हेर्ने, देख्ने र निरीक्षण गर्ने अभ्यास गर्नुपर्छ । निरन्तरको अभ्यासले मन इन्द्रियतर्फ नगई परमात्मातिर लाग्न थाल्छ । तब मनको वशबाट पार पाउन थालिन्छ । साक्षी आत्मा भयो तथा शरीर र मन संसार भएकाले यी दुवैलाई छुट्याएर हेर्न सके तत्व ज्ञान मिल्छ । वास्तवमा यो कुरा भनेर नभई अभ्यासबाट मिल्ने हो । 

यही ध्यानको कुरालाई भगवान् श्रीकृष्णले मनलाई ममा अर्पण गर अर्थात् अव्यक्त परमात्मामा निष्कामभावले समर्पण गर्न भनेका छन् । त्यस्तै कृष्णले मनलाई वश गर्ने अनेक ज्ञान, ध्यान र निष्काम कर्मयोगको साधना रहस्य बताएका छन् । कपिलमुनि, बुद्ध, महावीर, शङ्कराचार्य, ओशो, स्वामी विशुद्धदेवले मनलाई वशमा राख्न ध्यानयोग, साख्ययोग, चरित्र योग र ज्ञानयोगको कुरा बताएको शास्त्रमा उल्लेख छ । त्यस्तै ऋषि पतञ्जलीले अष्टाङ्गयोगको क्रम साधना बताए भने भारद्वाज, गौतम, जैमिनी, व्यासले ज्ञान, भक्ति, यज्ञ र कर्मको कुरा बताए । 

मानिसको मनमा नै कामना छ, क्रोध छ, लोभ छ, माया र मोह छ । यही मनमा नै राग, द्वेष, मत्सर, मद, मोहरूपी काँडेदार बिरुवा उम्रन्छन् । हामीलाई स्त्री, पुरुष, सृष्टि, संसार, प्राणीमै माया छ । यसैले हामी दुःखी भएका छौँ तर वास्तवमा सूक्ष्म अध्ययन गर्ने हो भने ती सबै माया मोहरूपी हाम्रै मनबाट आएका हुन् । मन नै सबै समस्याको जड हो । मनबाट पार पाउनु नै एक मात्र शान्ति प्राप्तिको उच्चतम उपाय हुन्छ । मायाबाट मुक्त हुनु छ भने मनको बन्धनबाट मुक्त हुनुपर्छ । यसैलाई मुक्ति भनिन्छ ।

मनबाट नै मनको क्लेस नाश गर्न सके साधना बन्छ । नत्र यो मनकै कारण मानिस संसारमा भट्किरहन्छ । मनको बेहोसीलाई मेटाएर जीवनतिरको यात्रा नै मनको साधना हो । जसलाई योग भनिन्छ । जति हामी होसमा रहन्छौँ त्यत्ति नै जागरुक र चैतन्य जीवन बन्दै जान्छ । 

–युवामञ्च   

Author

उद्धवप्रसाद भट्टराई