• ५ कात्तिक २०८१, सोमबार

खाद्य कम्पनीले त्रिहत्तर हजार मेट्रिक टन धान खरिद गर्ने

blog

काठमाडौँ, कात्तिक ५ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने भएको छ । कम्पनीले यस वर्ष विभिन्न जिल्लाबाट सो परिमाणमा धान खरिद गर्न लागेको हो ।  

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा किसानबाट धान खरिद गर्न लागेको हो । कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गर्दै आएको छ । यस वर्ष धान खरिद गर्नका लागि स्थानीय पालिकासँग समन्वय गर्न विभिन्न २४ जिल्लामा टोली परिचालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले स्थानीय पालिकासँग समन्वय गरेर धान खरिद गर्न लागिएको बताउनुभयो । 

“यस वर्ष ७३ हजार मेट्रिक टन धान खरिद गर्नका लागि कम्पनीबाट धान उत्पादन हुने पकेट क्षेत्रमा टोली परिचालन गरिएको छ,” कार्यकारी अधिकृत आचार्यले भन्नुभयो, “विगतका वर्ष लक्ष्य अनुसार धान खरिद नभएकाले अहिलेदेखि नै तयारी गरिकाले यो वर्ष लक्ष्य अनुसार धान खरिद गर्न सकिने अनुमान गरिएको छ ।” सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न कृषक तथा कृषक समूहसँग प्रत्यक्ष सरोकार राख्ने तराईका जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिक परियोजना अन्तर्गत कार्यालयमा पत्राचार गरी धान खरिदमा समन्वय गरिदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो । 

कृषकबाट धान खरिद गर्नका लागि यस वर्ष दुुई अर्ब ६५ करोड रुपियाँ बजेट विनियोजन गरेको कम्पनीले जनाएको छ । सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि मोटा धानको प्रतिक्विन्टल तीन हजार ४१० रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ५८० रुपियाँ मूल्य निर्धारण गरेको छ । गत वर्ष मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ र मोटा धानको तीन हजार १९८ रुपियाँ निर्धारण गरेको थियो । यस वर्ष गत वर्षको तुलनामा धानको समर्थन मूल्य बढेको छ । 

व्यापारीले सस्तो मूल्यमा किसानबाट धान खरिद गर्दा मारमा पर्ने भएकाले किसानलाई राहत दिनका लागि सरकारले समर्थन मूल्य निर्धारण गर्ने गर्छ । गत वर्ष कम्पनीले ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेकोमा चार हजार पाँच सय मेट्रिक टन मात्र धान खरिद गरेको थियो । गत वर्ष समयमा खरिद प्रक्रिया अगाडि नबढ्दा धान नपाउँदा लक्ष्य अनुसार धान खरिद गर्न सकेको थिएन । जस कारणले गर्दा पनि अहिलेदेखि नै टोली परिचालन गरेर खरिद प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ । 

धान उत्पादन हुने पकेट क्षेत्रमा गएर स्थानीय पालिकासँग समन्वय गर्दा धान प्राप्त गर्न सहज हुने भएकाले विभिन्न जिल्लामा टोली परिचालन गरेको कम्पनीले जनाएको छ । पहाडमा धान थन्काउन सुरु भइसकेकाले ती जिल्लामा खरिद प्रक्रिया जति सक्दो छिटो अगाडि बढाइने कम्पनीले जनाएको छ । 

गत वर्ष कम्पनीले समयमा खरिद प्रक्रिया अगाडि बढाउन नसक्दा लक्ष्य अनुसार धान खरिद गर्न सकेको थिएन । सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बढी मूूल्य दिएर व्यापारीले कृषकको धान खरिद गरेकाले पनि धान नपाएर खरिद गर्न नसकिएको कम्पनीले जनाएको छ । कम्पनीले कृषकबाट समर्थन मूल्यमा धान खरिद गरी कुटाएर दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको छ । सुगम जिल्लामा पनि सुपथ मूल्यमा खाद्यान्न वितरण गर्दै आएको छ । कम्पनीले चामल, दाल, तेल, गेडागुडी बिक्री गर्ने गरेको छ ।