• ५ कात्तिक २०८१, सोमबार

झापा ११ बेलबारी गोल्डकपको सेमिफाइनलमा

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक ४ गते। झापा ११ फुटबल क्लब, भोजपुर फुटबल क्लबलाई ३-० ले हराउँदै बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  

झापाको जितका लागि नीरज कार्कीले एक गोल र प्रदीप बुढाथोकीले दुई गोल गर्नुभयो।  खेल सुरु भएको पहिलो मिनेटमै झापाका नीरज कार्कीले भोजपुर विरुद्ध गोल गर्नुभयो। नीरजले पोष्टमा प्रहार गरेको बल भोजपुरका खेलाडी सञ्जय लिम्बूले  गोललाइनबाट ब्याक पास गरेर उत्कृष्ट बचाउ गर्नुभएको थियो। तर, उक्त बललाई नीरजले नियन्त्रणमा लिई सिँधै गोलपोष्टको जाली चुमाउनुभयो। 

मध्यान्तर अघि १–० ले अग्रता कायम गरेको झापाले ७५ औँ मिनेटमा एक गोल थप्यो। झापाका प्रदीप बुढाथोकीले मैदानको मध्य भागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। अतिरिक्त समयमा झापाका बुढाथोकीले थप गोल गर्दै टिमको सेमिफाइनल यात्रा तय गराउनुभयो। 

आइतबारको खेलमा झापाका नीरज कार्की ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो। उहाँलाई  शिवसतासी नगरपालिका झापाका नगर प्रमुख रोशन थोप्राले  नगद पाँच हजार र ट्रफी प्रदान गर्नुभयो।  सोमबार चित्लाङ फुटबल क्लब काठमाडौँ र राजारानी फुटबल क्लब धनकुटा  बिच खेल हुनेछ।  

प्रतियोगिताका विजेताले आठ लाख नगद र गोल्ड कप र उप विजेताले पाँच लाख नगद र ट्रफीसहित प्रमाण पत्र र मेडल पाउने छन्।