• २ असार २०८२, सोमबार

सातामा दुई दिनको बिदा सुरु

blog

काठमाडौँ, जेठ १ गते  । जेठ १ गतेदेखि सातामा दुई दिन (शनिबार र आइतबार) बिदा हुुने भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आइतबारदेखि नै लागू हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो । यसबाहेक साताको दुई दिनको बिदा भएमा आन्तरिक पर्यटन प्रवद्र्धन हुने भन्दै पर्यटन मन्त्रालयले पनि सुझाव दिँदै आएको थियो । 

सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९:३० बजेदेखि अपराह्न ५:३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म रहने जनाएको छ ।  सातामा दुई दिन बिदा भएपछि सबै कार्यालयमा कार्यरत कर्मचारी र सेवाग्राहीको समेत दैनिकीमा केही परिवर्तन हुने भएको छ । 

साढे नौ बजे नै कर्मचारी कार्यालयमा पुग्ने र साढे पाँच बजेसम्म काम गर्ने भएपछि त्यसलाई सहज बनाउन प्रशासनका अन्य अवयवलाई पनि चुस्त दुरुस्त बनाउँदै जानुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारले जुन उद्देश्य राखेर साताको दुई दिन बिदा दिन सुरु गरेको छ । त्यस उद्देश्य हासिल गर्नका लागि सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ ।”

यसलाई स्थापित गर्न कर्मचारीको बानी व्यहोरा, कार्यालयको कार्य सञ्चालनका विधि प्रक्रिया, कार्यालयमा क्यान्टिनलगायतका सुविधामा विशेष ध्यान दिनुपर्ने प्रवक्ता अधिकारीको भनाइ छ । साताको दुई दिनको बिदाले सेवाग्राहीले पाउनुपर्ने सेवा प्रवाहित हुन नहुने, अत्यावश्यक सेवालाई चुस्त दुरुस्त बनाउनुपर्ने, यसबाहेक सार्वजनिक सवारीसाधन र सरकारी सवारीसाधनको पास जथाभावी वितरणमा कडाइ गर्नुपर्ने उहाँको भनाइ छ । यसअघि पनि सरकारले २०४७ र २०५६ सालमा केही समयका लागि  साताको दुई दिनको बिदा दिने अभ्यास सुरु भएको थियो । त्यसबाट सेवा प्रवाहमा कठिनाइ भएको जनगुनासो बढेपछि सरकारले फिर्ता लिएको थियो । 

कसरी परिणामुखी बनाउने दुई दिन बिदा 

प्रशासनविद् काशीराज दाहाल भन्नुहुन्छ, “सरकारले साताको दुई दिन बिदा दिनुका कारण आर्थिक मितव्ययी, आन्तरिक पर्यटनको प्रवद्र्धन र कर्मचारीको व्यावसायिक र पारिवारिक जीवनबीच सन्तुलन कायम रहोस् भन्ने पनि हो । त्यसो त विश्वका अन्य मेट्रोपोलिटियन सिटीमा पनि सातामा दुई दिन बिदा दिने प्रचलन रहेको छ ।’’ साताको दुई दिन बिदालाई अधिकतम सदुपयोग गर्न सकेमा मात्र सरकारले बिदा दिनुको औचित्य पुष्टि हुन्छ ।

 यसलाई मात्र मनोरञ्जन गरेर कटाउने र अन्य कामको दिनमा पनि विगतको जस्तै तरिकाले काम गरेर समय व्यतित गर्ने प्रवृत्तिमा भने परिवर्तन ल्याउनु नै पर्छ । उहाँले भन्नुभयो, “बिदालाई सिर्जनशील काम तथा घर–व्यवहार मिलाउनमा प्रयोग गर्नुपर्छ । कार्यालयको समयमा शतप्रतिशत परिणाम मुखी बनाउन सक्नुपर्छ । त्यसका लागि कार्य सम्पदानलाई क्यालेन्डर प्रणालीमा विकास गर्ने, कर्मचारीलाई जिम्मेवारी तोक्ने, कार्य सम्पादनको आधारमा जिम्मेवारी तोक्ने  पद्धति र प्रणालीलाई पनि सँगसँगै लैजानु पर्छ । चुस्त सेवा प्रवाह गर्न र परिमाणमुखी बनाउनु नै पर्छ । जनता केन्द्रित प्रशासन हुनुपर्छ ।’’

सातामा दुई दिन बिदा दिँदा कहिलेकाहीँ अन्य सार्वजनिक बिदा पनि आइपर्न सक्ने अवस्थालाई ध्यानमा राखेर गृह मन्त्रालयले जारी गरेको सूचनामा त्यस्तो दिनमा कार्यालय सुचारु गर्न भनेको छ । गृह मन्त्रालयले दशैँ र तिहारको सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयले तेस्रो दिन सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देश गरेको छ । त्यस्तो बिदामा सेवा प्रवाह गर्ने कर्मचारीलाई सट्टा बिदाको व्यवस्था गर्न पनि भनेको छ  । 

यसैबीच राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)ले मातहतका सबै विद्यालय आइतबार सञ्चालन गर्ने निर्णय गरेको छ ।राष्ट्रिय प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले आइतबार बिदा गर्दा निर्धारित पाठ्यक्रम पूरा हुन नसक्ने र सिकाइ पनि नपुग्ने भएकाले विद्यालय बन्द नगर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।


Author

राधा चालिसे