• १० मंसिर २०८१, सोमबार

गौरीगन्जमा भन्सार स्थापना आश्वासनमै सीमित

blog

विष्णुप्रसाद पोखरेल

दमक, कार्तिक २ गते । झापाको दक्षिणी सीमावर्ती गौरीगन्ज गाँउपालिका र भारतको भत्तेपुर सीमा नाकालाई लक्षित गरेर बारम्बार रुपमा भन्सार कार्यालय स्थापना गर्ने आश्वासन पाए पनि काम नभएपछि यहाँका व्यापारी तथा स्थानीयहरु आक्रोशित बन्न थालेका छन् । छोटी भन्सार कार्यालय बन्द भएको पनि बर्वाौं बित्दा पनि यसमा चासो नगएपछि स्थानीय व्यवसायीहरु आक्रोशित बन्न थालेका हुन् । 

कोरोनाका कारण भन्दै ५ वर्षअघि बन्द भएको आठमौजा छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेको छैन । स्थानीय राजनीतिक दलले निर्वाचनमा यसको स्तरउन्नती गरेर भन्सार कार्यालयको रुपमा विकास गर्ने प्रतिबद्धता पनि जनाएका थिए । अहिले सीमामा सशस्त्र प्रहरीको गण पनि बसेको छ ।

भन्सार विभाग लगायतका सरोकारवाला निकायका उच्च अधिकारीहरु बारम्बार रुपमा यहाँ आएर भन्सार कार्यालय स्थापना गर्ने आश्वसन दिए पनि काम नै शुरु नभएको झापा उद्योग वाणिज्य सङ्घ गौरीगन्जका अध्यक्ष मखना महतोले बताउनुभयो । नेपाल र भारतका प्रतिनिधिहरुले समेत संयुक्त रुपमा भन्सार स्तराेन्नतिको लागि लिखित सहमति गरेको उहाँको दाबी छ ।

"भन्सार कार्यालय चाँडो स्थापना होस् भनेर हामीले बारम्बार भनेका छौं तर माग नै सुनुवाइ हुँदैन", उहाँले भन्नुभयो । हामी व्यापारीले कर तिर्छौ र अवैध चोरी निकासीलाई निरुत्साहित गर्न लाग्छौं भनेका छौं तर आश्वासन बाहेक केही नभएको उहाँको भनाइ छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको समयमा गौरीगन्जमा नै भएको आमसभामा पनि भन्सार स्तरउन्नती गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँले बताउनुभयो ।

भन्सार स्तराेन्नति गर्न र तत्कालका लागि ५ वर्षदेखि बन्द रहेको छोटी भन्सार कार्यालय सञ्चालन गर्न गाउँपालिकाको तर्फबाट पनि बारम्बार प्रयास भएको गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले बताउनुभयो । "लिखित रुपमा नै हामीले सम्बन्धित निकायमा बारम्बार पत्राचार गरेका छौं", राजवंशीले भन्नुभयो ।

भारततर्फ भन्सार कार्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार बन्न थालिसके पनि नेपालतर्फ काम नभएको बताइएको छ । झापाको सदरमुकाम भद्रपुरदेखि विराटनगरसम्म जोड्ने हुलाकीमार्ग निर्माणको अन्तिम चरणमा पुगिसकेको र गौरीगन्ज खण्ड पूर्णरुपमा निर्माण भइसकेकाले यस क्षेत्रमा भन्सार कार्यालय स्थापना हुँदा व्यापार व्यवसाय बढोत्तरी हुने स्थानीय व्यवसायीहरु बताउँछन् ।